नवलपरासीको सेनकाली ऐतिहासिक वस्तु रहेको सिख्रौली आश्रम ओझेलमा

| 2018 Jul 03 | 02:37 pm 13419

  • सुरेश घिमिरे

नवलपरासीको गैँडाकोट नगरपालिका १३ सिख्रौलीमा रहेको कैलाश सन्यास आश्रम प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।

नारयणी नदिको छेउमा रहेको यो मन्दिरमा आजभन्दा करिब ७ सय वर्ष पहिले  एक विशाल र कलात्मक ढुङ्गाहरूबाट शिवमन्दिर स्थापना गरिएको पुरातत्व विभागको प्रारम्भिक अुषन्धानका क्रममा खुलेको छ ।

पुरातत्व विभाग काठमाण्डौका प्रवक्ता राम बहादुरकुँवरका  अनुसार यहाँ भेटिएका कलात्मक ढुङ्गाहरू सेनकालीन हुन । पुरातत्व विभागले यहाँ २०७० सालबाट उत्खनन सुरु गरेको थियो । आर्थिक वर्ष २०७०/०७१ र ०७१/०७२ मा पुरातत्व विभागले यहाँको ढुङ्गालाई उत्खनन गरेर नम्बरिङ्ग गरी राखेको छ । यहाँ विशाल ढुङ्गाबाट बनेको शिवलिङ्ग ,ढुङ्गा छेडेर राखिएका फलामका छडहरू, देवीदेवताको मूर्ती र विभिन्न आकार प्रकारमा कुदिएका कलात्मक ढुङ्गा उत्खननका क्रममा भेटिएका छन् ।

ढुङ्गा सङ्ख चक्र , विभिन्न देवी देवताको आकार प्रकारमा कुदिएका छन् । दुई सय मिटर आसपासमा यस्ता ढुङ्गा फेला पारिएको छ । प्रवक्ता कुँवरका अनुसार यहाँ रहेको ढुङ्गा चुरे क्षेत्रको हो , तर कुन टाउको हो भन्ने पत्ता लाग्न सकेको छैन । यस क्षेत्र आसपास यस प्रकारको ढुङ्गा खानी समेत नरहेकाले तत्कालीन समयमा काहाँबाट कसरी कसरी ल्याइएको होला भन्ने  ढुङ्गा देखेर जो कोहीको मनमा लाग्छ ।

विभागले १५ सय १८ वटा ढुङ्गा उत्खनन गरेर राखेको छ । शिवलिङ्ग र केही देवीदेवताका मूर्ती कुदिएका ढुङ्गाहरूलाई टिनको टहरामा सुरक्षित गरी राखिएको छ । तर अन्य ढुङ्गाहरू भने बाहिरै जमिनमा फैलाएर राख्दा लेउ लागेको छ । यी ढुङ्गाहरूको सुरक्षा नगरे यसको मौलिक कलात्मकता नाश हुने हो कि भन्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन् ।

एतिहासिक पुरात्वक वस्तु फेला परेको स्थान भए पनि सम्बन्धित निकायले ध्यान नदिएको यहाँका स्थानीयको आरोप छ ।  उत्खनन गरे पनि उत्खनन गरेका ढुङ्गाको उचित सुरक्षा गर्न नसकेको कैलाश आश्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज घिमिरेले बताए। पुरातत्व विभागले यहाँको विकास र संरक्षणको जिम्मा पाएपछि स्थानीय स्तरबाट कुनै पनि क्रियाकलाप गर्न नपाइने भएकाले आफूहरूले पनि कुनै काम गर्न नसकेको उनको भनाई छ । नगरपालिकालाई यस क्षेत्रको विकासका लागि पहल गर्न अनुरोध गरिएको र यसको गुरुयोजना बनाएर विकास र संरक्षणका लागि पहल गर्न आग्रह गरिएको घिमिरेले बताए ।

गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले पुरातत्व विभागको जिम्मेवारीमा परेकाले नगरपालिकाबाट कुनै पनि भौतिक निर्माणको काम गर्न नमिल्ने भएकाले काम हुन नसकेको बताए । यस क्षेत्रको प्रचार प्रसार र संरक्षण गर्न नगरपालिका कदापि पछि नहट्ने उनको भनाई छ । सरसफाइ लगायतका काममा नगरपालिकाले सहयोग गर्ने प्रमुख पौडेलले बताएका छन् ।

ऐतिहासिक पुरातात्विक वस्तु रहेका अन्य स्थानहरू देश विदेशमा समेत परिचित बन्न सफल भए पनि यस क्षेत्र प्रचार प्रसारकै अभावमा ओझेलमा परेको यहाँका एक जना समाजसेवी करुणा सागर सुवेदीले बताए । ‘लुम्बिनी कपिलवस्तु , बुटवलको पुलवारि प्रचारप्रसारले नै विकास भएका छन् । अनुसन्धानका लागि देश विदेशबाट मानिस आउछन । तर यस क्षेत्र भने अझै ओझेलमा छ । ’ सुवेदीले भने ‘यस क्षेत्रको पनि प्रचार प्रसार गर्न सके अनुसन्धान गर्ने थलो बन्न सक्छ , मानिसहरू टिकट काटेर हेर्न आउने बनाउन सकिन्छ , जसले यस क्षेत्रमा पर्यटकको ओइरो लाग्न सक्छ । ’

पुरातत्व विभागका प्रवक्ता कुँवरका अनुसार यसै आर्थिक वर्षबाट शिव मन्दिर निर्माणका लागि ठेक्का प्रक्रिया अगाडी बढाइएको छ । प्रयोग गर्न मिल्ने ढुङ्गाहरू मन्दिर निर्माणका लागि प्रयोग गरिनेछ । ठेक्का प्रक्रिया अगि बढेपनी अहिलेसम्म ठेक्का लाग्न सकेको छैन । मन्दिर निर्माणका लागि पुरातत्व विभागले ७ करण ६८ लाख ५४ हजार एक सय ११ रुपैयाँ बिनियोजन गरेको छ ।

यहाँ बसोबास गर्ने पाकापुस्ताहरु र किंवदन्तीका अनुसार यहाँ पाल्पाका राजा मुकुन्दसेनले मन्दिर निर्माण गरेका हुन । राज मुकुन्दसेनले मुकुन्दपुर डाँडामा दरबार निर्माण गरी सुरक्षाको लागि गैँडाकोटदेखि माथि डाँडामा सैनिक टुकुडी र मौलाकालिका देवीको स्थापना र शिख्रौलीमा शिव मन्दिर स्थापना गरेका हुन । तत्कालीन राजा महेन्द्रको पालादेखि नै पुनरवास योजना लागु हुनुपूर्व यस क्षेत्रका आदिवासी थारु समुदायले सिख्रौली कुमारवर्ति (परिकर्मा पुजा) सालका वृक्ष मुनि केही प्राचीन माटाका देवताका मूर्तीहरू राखी चैत शुल्क पक्षमा पुजाआज गर्दै आइरहेका थिए । २०१६ सालमा पुर्नवास योजना अन्तर्गत पीडा भु–भूभागमा बसोबास गर्ने व्यक्तिहरू बसाई सराईआएपछि भारतको कानपुरबाट खयर संकलन गर्न आउने ठेकेदारलाई अनुरोध गरी सी मन्दिर स्थापना गरेर सोही समयदेखि नै यहाँ पुजाअर्चना हुँदै आइरहेको छ ।
यस अहिले मठ मन्दिर साधुसन्त बस्ने घर निर्माण गरिएको छ । ९५ वर्षका स्वामी कैवलानन्द गिरीले यहाँ करिब ३० लाख रुपैयाँ विभिन्न भौतिक निर्माणमा खर्च गरेका छन् । स्वामी कैवलानन्द यस आश्रममा बसोबास गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.