पार्टी एकीकरणपछि ओली–दाहालको अग्‍निपरीक्षा

महेन्द्र पाण्डेय | 2018 May 29 | 10:55 am 5191

काठमाडौं: आरम्भक्रममै कुनै अप्रिय घटना तथा भवितव्य निम्तिएन भने पूर्व नेकपा (एमाले) र पूर्व नेकपामाओवादी केन्द्रका नेता–कार्यकर्ताबीच यतिखेर खुशी साटासाट गर्ने तथा एकताको उत्सव मनाउने जो उपक्रम चलिरहेको छ, यसमा व्यवधान नआउला । जेठ ३ गते उल्लेखित दुई पार्टीबीच एकीकरण भएको छ । हातको औंलामा गन्न सकिने सङ्ख्याका नेता–कार्यकर्ता बाहेक अन्य सबै यो एकीकरणका कारण खुशी नै भएका पाइन्छन् ।

तथापि, दुई दलका कार्यकर्ता जति मात्रामा खुशी र उल्लसित बनेका छन्, त्यत्तिकै झस्किएका पनि छन् । नेपालको वामपन्थी इतिहासमा फुट्ने र जुट्ने काम भइरहेकोले यसपटकको जुटाईको डोरी सुर्के गाँठो मात्रै हो कि बलियोसँगै कसिएको छ भनेर कार्यकर्ता सचेत र चिन्तित हुनु स्वभाविक पनि हो । कतिपयले यो एकीकरणको डोरीलाई महाधिवेशनसम्म हेर्नुपर्ने भनी अथ्र्याउने प्रयत्न पनि गरेका छन् ।

महेन्‍द्र पाण्डेय

गत साल सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा एकीकरण पछि गर्ने सर्तमा नजिकिएर चुनावी गठबन्धन गरेका ती दुई दलले सोचे अनुसारको मत पाए । तत्कालीन एमाले र माओवादी केन्द्रले जनताको मत पाउनुका पछाडि यिनीहरूको नीति, सिद्धान्त र उद्देश्य जनतालाई ठिक लागेर नभई लामो समयदेखि अस्थिर रहेको राजनीति स्थिर होला, पूर्ण कार्यकाल निर्वाह गर्ने स्थायी सरकार बन्न सक्ला र देशले समृद्धिको बाटो समाउला भनी गठबन्धनको पक्षमा मत दिएका हुन् ।

निर्वाचन अगाडिको घोषणापत्र छुट्टा–छुट्टै भए पनि लगभग जनतासँग प्रतिबद्धता गर्ने कुरा दुई पार्टीको मिल्दाजुल्दा नै थिए । निर्वाचनका समयमा बाँडिएकाआर्थिक समृद्धि र सुशासनका गुलिया कुरासुनेर जसरी जनताले मत दिएका थिए अब त्यसको हिसाबकिताब माग्ने बेला भएको छ । भोलिका दिनमा के हुने हो भन्ने प्रश्न अनुत्तरित नै छ । किनकि, संघीय संरचनाले भर्खर बामे सर्न थालेको छ । प्रदेश सरकारहरू आफैमा अन्योलग्रस्त छन् । केन्द्र र प्रदेशबीच कतिपय मामलामा खिचातानी पनि देखिएको छ । यस्तो अवस्था चिर्न केही समय लाग्ने नै देखिन्छ ।

पार्टी एकीकरणका नायकद्वय केपी ओली र प्रचण्ड, जो यतिबेला सत्ताको लगामसमेत खिचिरहेका छन्, यी दुवै शीर्ष नेतालाई अवसर तथा चुनौतीको पहाड बराबर नै छ । संघीयताको गोरेटो तय भइसकेको अवस्थामा यसलाई सरल तथा आरामदायी राजमार्ग तुल्याउन प्रमुख प्रतिपक्षीलगायत अन्य साना दललाई समेत विश्वासमा लिई केपी ओली र प्रचण्डले अग्रणी भूमिका निर्वाह गर्न सक्नुपर्छ । निकै सुझबुझ र सीप–सल्लाहको जरुरत छ यसका लागि ।

हाम्रो जस्तो आग्रह–पूर्वाग्रहयुक्त राजनीतिभएको देशमा सत्ताधारी घमण्डको बायुपंखे घोडामा सवार हुने कोशिस गरियो भने भर्खर बामे सर्दै गरेका सिस्टमहरु सफल हुन सक्दैनन् । त्यसैले सत्ताधारीहरू संयम र धैर्यशील हुनुपर्छ । कतिपयअवस्थामा प्रधानमन्त्री केपी ओलीका अभिव्यक्तिका कारण सरकार र प्रतिपक्षबीच तिक्त दरार पैदा गराउने गरेको छ। नेपाली राजनीतिमा चतुर खेलाडीका रूपमा स्थापित प्रचण्डले यस्तो अवस्थामा विशेष जिम्मेवारपूर्ण भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । पूर्वएमाले र पूर्वमाओवादी केन्द्रले चुनावी तालमेल गर्दै गरेका प्रतिबद्धताहरू अब पार्टी एकीकरणपश्चात दत्तचित्त भएर लाग्ने हो भने पूरा हुन सक्लान्। जसमध्ये विगतमा बाँडिएका सपना पूरा हुन उनीहरूले भन्ने गरेको समाजवादको स्थापना होला ।

समाजवाद ल्याउनका लागि पनि दुई नेताबीचको एकता मात्रै होइन एमालेभित्रका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायत माओवादी केन्द्रतर्फका नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, पम्फा भुसाल, टोपबहादुर रायामाझी जस्ता नेताहरूलाई पनि सँगसँगै लिएर हिँड्न सक्नुपर्छ । देशलाई कता लैजाने भन्ने सम्बन्धमा जनताले त्यसको साँचो निर्वाचनको माध्यमबाट ओली र प्रचण्डका हातमा दिएका छन् । दुई–दुई चोटी प्रधानमन्त्री बनिसकेका यी दुई नेताले इमान्दारिता देखाए भने अन्य हिसाबले देश अघि बढ्न नसके पनि राजनीतिक स्थिरताको कारणले देशी–विदेशी प्रतिकृयावादीहरूले सायद धमिलो पानीमा माछा मार्न सक्ने छैनन् ।

हुन त ओली र प्रचण्डले देखाएका आर्थिक समृद्धि र सुशासनका सपना पूरा हुनु–नहुनुमा दोस्रो या तेस्रो पुस्ताका नेताहरूले कति साथ देलान् वा असहयोग गर्लान्भन्ने सवालले निकै हदसम्म भूमिका निर्वाह गर्नेछ । यसबारे छर्लङ्ग हुन सम्भवतः धेरै समय कुर्नु नपर्ला । अहिलेसम्मको गतिविधिलाई हेर्दा नेताहरूमा देश र जनताप्रति भन्दा आफ्नो मान, सम्मान, पद, प्रतिष्ठामा बढि ध्यान केन्द्रीत भएको देखिन्छ । एकीकरण भएको दोस्रो हप्ताको छोटो अवधिमा खासै टिका–टिप्पणी भएको पाइएको त छैन तर विगतमा आफू बन्नको लागि आफ्नैलाई सिध्याउन अन्यसँग साँठगाँठ गरेका ज्वलन्त उदाहरण प्रशस्तै छन् । यी उदाहरणलाई ओली–प्रचण्डले राम्रोसँग विश्लेषण गरेर पार्टीभित्र शुद्धिकरण अभियान चलाउन सके भने पार्टी एकताको अर्थ रहला, अन्यथा ‘ए–कता’ सावित नहोला भन्न सकिन्न ।

लामो प्रयासपछि एकतामा परिणत भएको दुई दलका नायक केपी र प्रचण्डले आफ्नालाई काखा र अर्कोलाई पाखागर्ने खेल खेले भने एकीकरणको कुनै तुक रहने छैन । नेताका वरिपरि घुमेर स्वार्थ सिद्ध गर्नेगणेश प्रवृत्तिका पात्रहरूलाई ‘ठाँउ’मा राखेर पार्टीप्रति बफादार वा पार्टीभन्दा माथि उठेर राष्ट्रका लागि सोच्ने विज्ञलाई स्थान दिन सके यि दुई नायक भोली सम्झन लायकका होलान् अन्यथा आउदो निर्वाचनमा खलनायक नहोलान् भन्न सकिन्न ।

०४८ सालको आम निर्वाचनपछि ०५१ सम्मका नायक गिरिजाप्रसाद कोइरालाले‘धुपौरे’हरूको कुरा सुनेर आफ्नै पार्टीका साथीहरूलाई पाखा लगाई अघि बढ्दा ०५१ को मध्यावधिमा ‘खलनायक’ त बनेनै, उनको मनपरी व्यवहारले पार्टीलाई कतिसम्म नोक्सानी पुग्योभन्ने हेरियो भने सबै प्रष्ट हुन्छ । पार्टी एकीकरण गरिसकेपछि अब यी दुई नेताले संघीयता कार्यन्वयनका लागि सबै दलको सहयोग लिएर अघि बढ्नुपर्छ । यो कार्य सहज किमार्थ छैन । त्यसैले विवेक लगाएर सजगतापूर्वक फुकी–फुकी कदम चाल्नु अपरिहार्य छ ।

जसरी संविधान निर्माण र कार्यान्वयनमा सहयात्रा तथा एकताभावरह्यो त्यसरी नै एक हुन जरुरी छ । प्रतिकृयावादीहरूले पर्दापछिल्तिरबाट लोकतन्त्रलाई बदनाम गर्न लागिपरेका छन् । सरकार र पार्टी हाँक्न लागेका ओली–प्रचण्डमाथि प्रहार पनि शुरु भएको छ, यसलाई नेताद्वयले आफ्नो अग्निपरीक्षा शुरु भएको भनी मनन गर्नुपर्छ । जनताले त परीक्षामा भाग लिने अवसर जुटाइदिएका छन्, यो अग्निपरीक्षामा पास हुन सकिएन भने पटक–पटक मौका मिल्ने छैन ।जनताले पटक–पटक मौका दिए पनि चौका हान्न नसक्दानेपाली काङ्ग्रेसको जुन हबिगत भयो, यो ज्वलन्त उदाहरण केपी–प्रचण्डले पनि आत्मसात गर्न सक्नुपर्छ । अन्यथा, नेताहरूका राजनीतिक जीवनको अवसान मात्र होइन लोकतन्त्र र सिङ्गै मुलुकको भविष्य डामाडोल हुनेछ । हेक्का रहोस् ।
जनताले स्थिर राजनितिबाट निकास दिन र आर्थिक विकासका लागि निर्वाचनमा दुई पार्टीको गठबन्धनलाई साथ दिएका हुन् । यो गठबन्धन दर्विलो भए त जनताले ओली र दाहालको अग्निपरीक्षाको रिजल्ट हेर्न पाउथे । यदि यो एकता फूको धागो जस्तो भयो भने जनता निरास हुने बाहेक अन्य विकल्प हुने छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.