माक्सभित्रको यात्रा

| 2020 Feb 12 | 11:10 am 1893

■ बबिता बस्नेत

सामान्य अवस्थामा भए एयरपोर्ट, बैंक, मनी एक्स्चेन्ज, तारेहोटेल, सुरक्षा जाँच, डिपार्टमेन्टस्टोरजस्ता ठाउँमा माक्स लगाउन पाइँदैन थियो । चीनबाट फैलिएको कोरोना भाइरसले मानिससँगै विश्वयात्रा गर्न थालेपछि माक्सबिना खुला मुहारमा हिँड्ने मान्छे भेटिँदैन, देखिँदैन । अध्यागमनमा माक्स लगाएका कर्मचारीले माक्स लगाएका यात्रुको पासपोर्टमा छाप हान्दै गरेको, माक्स लगाएका जहाज कर्मचारीले माक्स लगाएका यात्रुका बोर्डिङ पास चेक गरेर सिट देखाएको या भनौँ एक–अर्कामा नचिनिने मान्छेका आकृतिहरू हिँडिरहेको यात्रामा पहिलोपल्ट सहभागी हुँदा एउटा फरक अनुभूति भयो । जीवनमा यात्रा त धेरै गरियो, तर यसपटकको थाइल्यान्ड यात्रा समय, परिस्थिति र उद्देश्य सबै प्रकारले भिन्न थियो ।

केही वर्षअघि बैंककस्थित सुकुम्भितको सडकमा उभिएर नरिवलको पानी खाँदै गर्दा बुबाआमाले आफूसँग उभिएर ‘यो ठाउँमा जे पनि कति मीठो’ भन्दै नरिवलको पानी खाएको आकृति आँखाअगाडि आएको थियो । कुनै पनि कुराका लागि अवधारणा सबैभन्दा मुख्य कुरा हो । त्यतिबेलै माइन्डमा बुबाआमासँग बैंकक यात्राको खाका बनाएकी थिएँ । प्रायः हामी सन्तानको बारेमा सोच्छौँ, सोच्न जरुरी पनि छ । तर, सन्तानका पछि लाग्दालाग्दै जिन्दगीले यसरी डाँडो काट्दै जान्छ कि बाबुआमाको बारेमा सोच्ने परिस्थिति आउँदा निकै ढिलो भइसकेको हुन्छ । अहिले आमा भएको भए म यसो गर्थें, उसो गर्थे भनेको मैले धेरैबाट सुनेकी छु, तर हुनेहरूले चाहिँ खासै केही गर्न सकिएको हुँदैन । अन्ततः मैले यसो गर्न पाएको भए… भन्ने पश्चात्तापबीच आफ्नै जीवन सकिन्छ ।

केही वर्षअघि बनेको खाकालाई साकार रूप दिन तयारी गरिसकेपछि कोरोना भाइरसको आतङ्क फैलियो । यात्राका लागि निस्कन लाग्दा यसप्रकारको परिस्थिति आएपछि मनमा दोधार भए पनि बल्लबल्ल गरेको समयको व्यवस्थापनलाई स्थगित नगरुँ जस्तो लाग्यो । काठमाडौं एयरपोर्टमा माक्ससहितका यात्रु, कर्मचारी र चेक जाँच गर्ने सुरक्षाकर्मीलाई देख्दा जोखिमपूर्ण यात्रामा छौँ भन्ने महसुस हुनु स्वाभाविक थियो । प्लेनभित्र एयर होस्टेज, स्टेवार्डस, यात्रु सबै माक्समै थिए । बैंकक एयरपोर्टको दृश्य थप सतर्कतापूर्ण थियो । अध्यागमनमा ‘चाइनिज यात्रीका लागि’ लेखिएका काउन्टर खाली थिए । ‘चाइनिज’ शब्दले मानिसहरू तर्सिने वातावरण थियो । देश जस्तो भए पनि उसले भोगेको समस्या महत्वपूर्ण हुँदोरहेछ भन्ने सन्देश कोरोना भाइरसले दिएको छ । कति देशमा अरूबेला खचाखच हुने चाइनिज रेस्टुरेन्टहरू खाली–खाली भएका समाचारहरू आइरहेकै छन् । वास्तवमा मानिसको जीवनमा पनि आउने परिस्थितिहरू यस्तै नै हुन्, ऊ जल्दोबल्दो हुन्जेल साथ दिनेहरूको सङ्ख्या धेरै हुन्छ । अप्ठ्यारो अवस्थामा मानिसहरू आफैँ टाढा भएर जोगिन खोज्छन् । देश र व्यक्ति दुवैलाई आफ्नो अवस्था मजबुद बनाइरहनुपर्ने सन्देश कोरोनाले दिएको छ ।

वास्तवमा मानिसको जीवनमा पनि आउने परिस्थितिहरू यस्तै नै हुन्, ऊ जल्दोबल्दो हुन्जेल साथ दिनेहरूको सङ्ख्या धेरै हुन्छ । अप्ठ्यारो अवस्थामा मानिसहरू आफैँ टाढा भएर जोगिन खोज्छन् । देश र व्यक्ति दुवैलाई आफ्नो अवस्था मजबुद बनाइरहनुपर्ने सन्देश कोरोनाले दिएको छ ।

माक्स लगाएर मानिसहरूले समुद्रका छाल हेरिरहेको दृश्य जीवनमा पहिलोपल्ट देखियो । त्यसो त माक्सवाला धेरै दृश्यहरू जीवनमा पहिलोपल्ट देखेका, अनुभव गरेका थिए । सडकलगायतको वातावरण सफा भएका कारण बैंककमा माक्स खासै प्रचलनमा नभएकाले माक्सको मूल्य पनि महँगो रहेछ । हाम्रो यहाँ दश रुपैया पर्ने माक्स त्यहाँ नेपाली दुई सय पचासजति पर्ने । सडक, समुद्र, होटेल, रेस्टुरेन्ट (खाँदा मात्रै मुख खोल्ने) डिपार्टमेन्टस्टोर, ट्याक्सी, ट्रेन, मन्दिर, गुम्बामा माक्सबिनाका मानिसहरू देखिएनन् । थाईहरू बुद्धसँगै गणेश र इन्द्र भगवान्लाई धेरै मान्छन् । त्यसो त, सबै भगवान् उनीहरू मान्छन् तर इन्द्र र गणेशका मूर्ति भने धेरै ठाउँ देख्न सकिन्छ । थाईहरू गणेशलाई सयपत्री र इन्द्रलाई गुलाफको फूल चढाउँछन् । भ्रमणको क्रममा मानिसले हात मिलाएको र अँगालो मारेको देखिएन । यसो हेर्दा हाम्रा चालचलनहरू नै राम्रा रहेछन् । अभिवादनका रूपमा नमस्कार गर्ने हाम्रो चलन नै सबैभन्दा राम्रो रहेछ । थाईहरू पनि नमस्कार गर्छन्, हात पनि मिलाउँछन्, तर कोरोनाले हात मिलाउने कुरालाई विस्थापित गरेर नमस्कारलाई स्थापित गरेको देखियो ।

अरू बेला भए बाटोमा हिँड्दै गर्दा कसैले हाछ्यौँ गऱ्यो भने चिन्दै नचिनेका मानिसले पनि ‘गड ब्लेस यू’ भन्ने गर्थे, आफूले पनि भनिन्थ्यो । बसिरहेको ठाउँमा या हिँड्दाहिँड्दै एक्कासि हाछ्यौँ या खोकी जसलाई पनि आउन सक्छ । मानिसले हाछ्यौँ गर्दा मान्छेहरू तर्सेर भागेका दृश्य पनि देखियो । पहिला ‘गड ब्लेस यू’ भन्नेहरूका भनाइ पनि माक्सजस्तै मुखुण्डोवाला रहेछन् । नत्र पहिला भन्नेले अहिले पनि माक्सभित्रैबाट भने के बिग्रन्थ्यो र ? मानिसलाई आफ्नो सरोकार कति छ भन्ने कुराको महसुस पनि यो यात्राले गरायो । फोटो खिच्दाबाहेक आफूले पनि माक्स निकालिएन । कतिपय अवस्थामा यात्रालाई माक्सले सहज बनाएको महसुस पनि भयो । कसैले नचिन्ने भएर हिँड्दा मानिसले सुरक्षित महसुस गर्छ कि जस्तो पनि लाग्यो । मृत्यु मानिसको जीवनमा सबैभन्दा ठूलो त्रास हो । यदि मृत्युको त्रास नहुँदो त जे–जस्ता भाइरस फैलिए पनि मतलब हुने थिएन ।

मृत्यु मानिसको जीवनमा सबैभन्दा ठूलो त्रास हो । यदि मृत्युको त्रास नहुँदो त जे–जस्ता भाइरस फैलिए पनि मतलब हुने थिएन ।

मेरी एक अफ्गानी साथीले सन् २०१० मा न्युयोर्कमा घुम्दै गर्दा भनेकी थिइन्, ‘बुर्काले आफूलाई कति सुरक्षित बनाउँछ भन्ने कुरा तिमीहरूलाई थाहा छैन, त्यही भएर बुर्काको बारेमा तिमीहरूको धारणा फरक छ । बुर्कामा म आफूलाई आफू भएको महसुस गर्छु । बाहिरको देखावटी दुनियाँमा मन नलागी–नलागी मुस्कुराउँदै हिँड्नुभन्दा आफूभित्रको वास्तविकतामा केन्द्रित भएर चुपचाप हिँड्नु वास्तविक जीवन हो । बुर्काले मुस्लिम महिलालाई त्यो मौका दिएको छ ।’ जवाफमा मैले तिमी धेरै नै सकारात्मक भयौ भनेकी थिएँ । उनी बुर्का लगाएर हिँड्ने महिला होइनन्, तर धेरैजसो अवस्थामा आफूलाई बुर्का लगाउन मन लाग्ने बताएकी थिइन् ।

माक्स लगाएरै भए पनि आफ्ना अभिभावकसँगको यात्राले यसपटक धेरै कुराको महसुुस गराएको छ । हामीलाई छोराछोरीको रुचि र चाहना थाहा हुन्छ, बाबुआमाको थाहा हुँदैन । हामी खासै वास्ता गर्दैनौँ पनि । उहाँहरूलाई कस्तो खाना मन पर्छ, कस्तो भएर हिँड्न मन लाग्छ, कस्तो लुगा, कस्तो रङ मन पर्छ, राति कतिबेला निद्रा लाग्छ, निद्रा लाग्छ कि लाग्दैन, बिहान कतिबेला उठ्नुहुन्छ, उहाँहरूले सुत्दा–उठ्दा गर्ने कुराकानी…धेरै कुरा हामीले ‘मिस’ गरिरहेका छौँ ।

दौडधुपपूर्ण जीवनले हामीलाई अभिभावकका रुचि र चाहना बुझ्ने समय दिइरहेको हुँदैन । बुबाआमासँग एउटै कोठामा नसुतेको ३० वर्षभन्दा बढी भएको रहेछ । छोराछोरीको उमेर बढ्दै गएपछि कोठा अलग हुन्छ । अझ घर ठूलो भएपछि बस्ने तला नै फरक पर्छ, बिहाबारी र छुट्टिने क्रम बढेर घरको सङ्ख्या बढ्दै जाँदा घर नै फरक पर्छ । उहाँहरूको बारेमा नजिकबाट बुझ्ने अवसर हुँदैन । फेब्रुअरी ५ देखि १०, २०२० को बैंकक यात्राले धेरै कुरा महसुस गर्ने मौका दियो । जहाँ लान सकिन्छ, जति समय दिन सकिन्छ बुबाआमासँग समय बिताउनुजस्तो ममतामयी माहौल अरू हुन्छ जस्तो लागेन । यात्रामा अविष्मरणीय पलहरू धेरै नै हुन्छन्, छन् । सबैभन्दा ठूलो कुरा त माक्सभित्र यात्रा गरे पनि उहाँहरूको मन र व्यवहारमा कहिल्यै माक्स हुँदैन ।घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.