- कृष्णप्रसाद सापकोटा
सामान्यत पार्टीको विधानमा हत्पत्ति नेताको नाम उल्लेख गरिँदैन। युगान्तकारी परिर्वतनको नेतृत्वगर्ने नेताको नाम भने उल्लेख गरिन्छ । नेपाली कांग्रेसको विधानमा अहिलेसम्म युगान्तकारी परिर्वतनमा योगदान पुर्याएको भन्दै विपि कोइराला , गणेशमान सिंह , कृष्णप्रसाद भट्टराई , गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाम उल्लेख थियो । विपिको नेतृत्वमा राणा शासन ढलेको थियो , गणेशमान र भट्टराईको नेतृत्वमा पञ्चायती शासन ढलेको थियो , गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा राजतन्त्र ढलेको थियो भने सुशील कोइरालाको नेतृत्वमा नयाँ संविधान जारी भएको थियो । यी ऐतिहासिक योगदान पुर्याउने ५ जना नेताहरुकै लहरमा विधानको प्रस्तावनामा कांग्रेस सभापति शेरबहादुर देउवाले यस पटक आफ्नो नाम लेखाएका छन् ।
केही महिना अघि सम्म चुनावी पराजयको जिम्मेवारी लिँदै सभापति राजीनामा दिनुपर्छ , नभए अर्ली महाधिवेशन गराउनु पर्छ भन्दै कृष्णप्रसाद सिटौला , गगन थापा लगायतका नेताहरुले कांग्रेसभित्र ठूलै लविङ गरेका थिए । तर अहिले प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचन मार्फत पार्टीलाई उपलव्धि दिलाएको भन्दै देउवाको नाम उल्लेख गरिएको विधानको प्रस्तावनामा सबै भन्दा पहिले सिटौला र गगन थापाले नै हस्ताक्षर गरे । यो हस्ताक्षरले गगन थापालाई केही संकट परेको छ । निकटस्थ कार्यकर्ताहरुले नै प्रश्न गरेका छन्–‘ प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको परिणाम ६ महिना अघिसम्म पार्टीका लागि घातक हुने तर अहिले महान हुने कसरी भयो ?’
गत आम निर्वाचनमा पार्टीलाई सफलता दिलाएको जस महासमितिको बैठकले सर्वसम्मत रुपमा दिएपछि सभापति देउवा नेपाली कांग्रेसभित्र थप बलिया भएका छन् । अब आफ्नो कार्यकाल एक वर्ष लम्ब्याउने अभियानमा देउवालाई पार्टीभित्रको कुनै ताकतले रोक्ने संभावना नरहेको कांग्रेसका केन्द्रिय सदस्यहरु बताउँछन् ।
२०७० सालमा सम्पन्न आम निर्वाचनको भन्दा यस पटक सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेसले आफ्न मत उल्लेख्य बढाएको सत्य हो । त्यतिबेला २९ प्रतिशत मत प्राप्त गरेकोमा यस पटक करिव ३५ प्रतिशत मत प्राप्त गर्यो । तर राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेसको हैसियत नराम्रोसँग खस्केको कुरामा विमती छैन । यो यर्थाथतालाई ढाकछोप गर्न मिल्दैन । तर पार्टी असफल हुने नेतृत्व सफल हुने कसरी संभव छ ? जनमत त्यत्रो बढ्दा पनि पार्टीको हैसियत धेरै नै खस्कनु भनेको नेतृत्वको कमजोरी हो । सभापति देउवाले महासमितिको बैठकमा यो कमजोरी प्रति आत्मालोचना गर्नु पथ्र्यो तर यसैलाई महान उपलव्धि भन्दै पार्टीको विधानमा नै उनले आफ्नो नाम लेखाए । नाम लेखाउनकै निम्ति केन्द्रिय समितिको बैठक र महासमितिको बैठकलाई अनिर्णयको बन्दी बनाए । पार्टीलाई बद्नाम बनाएर आफ्नो व्याक्तिगत स्वार्थसिद्ध गरेको आरोप देउवा माथि यस अघिदेखि नै लाग्दै आएको थियो । महासमितिको यो बैठकले त्यो आरोप थप प्रमाणित भयो ।
अब अलिकति विज्ञानको परिषभाषातिर जाउँ । किनकी राजनीति भनेको पनि बिज्ञान नै हो । थोरै साधन , स्रोत तथा बल प्रयोग गरेर धेरै काम सम्पन्न गर्ने यन्त्रलाई साधरण यन्त्र भनिन्छ । विज्ञान विषयको प्रारम्भिक शिक्षा पनि नलिएकाहरुलाई साधारण यन्त्रको परिभाषा थाह नहोला तर यसको प्रयोग मानव सभ्यताको सुरुदेखि नै हुँदै आएको छ । अझ परिस्कृत रुपमा हुँदै आएको छ । उदाहरणका लागि धानको बोक्रा हातले छोडाउने हो भने १ हजार मान्छेले दिनभरी काम गरेपनि १ किलो चामल निकाल्न धौ धौ पर्छ । तर त्यही धानलाई ढिकीमा कुट्ने हो भने ३ जनाले एकदिन भरीमा १ हजार केजी चामल निकाल्न सक्छन् । त्यही काम मेसिनमा गर्ने हो भने दिनभरीमा लाखौं केजी चामल निकाल्छ ।
थोरै सामाथ्र्य तथा थोरै साधनस्रोत प्रयोग गरेर बढी फाइदा लिन जसले जान्दछ त्यही अगाडि हुन्छ जहिले पनि । साधारण यन्त्रको यो सन्दर्भ मुलुकका राजनीतिकदल र ति दलका नेताको कार्यसम्पादनसँग जोड्ने जमर्को यस लेखमा गरिएको हो । उदाहरणका लागि २०१५ सालमा सम्पन्न पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसले ३७ प्रतिशत मत हासिल गर्यो । तर त्यो ३७ प्रतिशतमतबाट प्रतिनिधिसभामा ७० प्रतिशत सिट हासिल गर्यो । २०७४ सालको आम निर्वाचनमा पनि नेपाली कांग्रेसको जनमत त्यसकै हाराहारीमा छ । अर्थात ३५ प्रतिशत भन्दा केही बढी छ । तर त्यो ३५ प्रतिशत मतबाट नेपाली कांग्रेसले प्रतिनिधिसभामा जम्मा १३ प्रतिशत मात्रै सिट जित्यो ।
साधन उत्ति नै छ । तर त्यही साधन प्रयोग गरेर विपि कोइरालाले पार्टीलाई ७० प्रतिशत सिट दिलाई नेपाली कांग्रेसको दुई तिहाई बहुमतको सरकार गठन गरे । त्यति नै साधन प्रयोग गर्ने अवसर पाएका वर्तमान सभापति शेरबहादुर देउवाले १३ प्रतिशत मात्रै सिट दिलाई । संघीय संसद होस् या प्रादेसिक संसद होस् , कुनै पनि संसदमा नेपाली कांग्रेसको हैसियत अधिबेशन बोलाउनका लागि निवेदन दिनसक्ने सम्मको छैन । २०६४ सालमा सम्पन्न संविधान सभा निर्वाचनमा त नेपाली कांग्रेसको जनमत २३ प्रतिशत मात्रै थियो । यो २३ प्रतिशत जनमतबाट पनि तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले नेपाली कांग्रेसलाई राष्ट्रपति पद दिलाए ।
मुलुकलाई कम्युनिष्ट तथा साम्प्रदायिक पार्टीहरुको धेरै ठूलो खतराबाट जोगाउन यही २३ प्रतिशत जनमत काफी भयो । २०७० सालको आम निर्वाचनमा नेपाली कांग्रेसले २९ प्रतिशत मात्रै जनमत पाएको हो तर यो २९ प्रतिशत जनमतको प्रयोग गरी तत्कालिन सभापति सुशील कोइरालाले संविधान निर्माणको श्रेय नेपाली कांग्रेसलाई दिलाए । चार वर्षको त्यो अवधिमा ९ महिना बाहेक नेपाली कांग्रेस सत्ताबाट विमुख हुन सकेन । २९ प्रतिशत जनशक्तिबाट तत्कालिन सभापति शुसील कोइरालाले जति काम सम्पन्न गर्ने सामाथ्र्य देखाएका थिए , ३५ प्रतिशत जनशक्तिबाट त्यसको ५ प्रशित पनि काम सम्पन्न गर्ने सामाथ्र्य वर्तमान सभापति देउवाले देखाउन सकेनन्। अर्थात सुशील कोइरालाले गुलेलीले फत्ते गरेको जति काम देउवाले बन्दकुले पनि फत्ते गर्न किन सकेनन् ? भन्ने प्रश्न नेपाली कांग्रेसभित्र उठ्नुलाई पूर्वाग्रहका रुपमा लिन मिल्दैन ।
गत आम निर्वाचनको आँकडा हेर्ने हो भने नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ १ लाख ६९ हजार मत बराबर एक सिट हासिल गरेको छ भने माओवादी केन्द्रले ४४ हजार मत बराबर एक सिट हासिल गरेको छ । एमालेले पनि ४६ हजार मत बराबर एक सिट हासिल गरेको छ । यसरी कम्युनिष्टहरुले सरदर ४५ हजार मत बराबर एक सिट हासिल गर्नसक्ने तर नेपाली कांग्रेसले त्यही एक सिट हासिल गर्न १ लाख ६९ हजार मत चाहिने ? साधारण यन्त्रको परिभाषा अनुसार जाने हो भने पनि चामल निकाल्नका लागि नेपाली कांग्रेसले हातको नङ प्रयोग गर्यो । कम्युनिष्टहरुले ढिकी प्रयोग गरे ।
संविधान जारी गरेको पुरस्कार स्वरुप जनताले नेपाली कांग्रेसलाई अघिल्लो चुनावको तुलनामा गत आम निर्वाचनमा ६ प्रतिशत बढी मत दिए । ४ वर्षको अन्तरालमा ६ प्रतिशत जनमत बढ्नु भनेको सानो उपलव्धि होइन । तर मत प्रतिशत यतिधेरै वढ्दा पनि प्रतिफल कहालीलाग्दो ढंगले घट्नु भनेको कांग्रेसका लागि सानो चुनौति होइन । तर जनमत बढ्नुलाई उपलव्धि होइन भन्न पनि मिल्दैन । २०६४ सालमा २३ प्रतिशत रहेको जनमत २०७० मा २९ प्रतिशत पुग्यो , २०७४ मा ३५ पुग्यो । यही अनुपातमा आगामी निर्वाचनमा पनि बढ्ने हो भने ४२ प्रतिशत पुग्छ । तर ४२ प्रतिशत पुग्दैमा नेपाली कांग्रेसले उपलव्धि हासिल गर्न सक्छ भन्ने देखिन्न ।
थोरै साधनले धेरै काम सम्पन्न गर्नका लागि रणनीति आवश्यक पर्छ । उदाहरणका लागि २०५४ सालको स्थानीय निर्वाचनमा एमालेले एकलौटी रुपमा चुनाव जित्यो । त्यो नतिजाले २०५६ सालको आम निर्वाचन एमालेको पोल्टामा जान्छ भन्ने कुरा निर्विवाद गराएको थियो । तर २०५६ सालको आम निर्वाचनको पूर्व सन्ध्यामा एमाले विभाजन भयो । एमालेको विभाजनका लागि तत्कालिन नेतृत्वको आदेशमा आँफुले के के काम गरेँ ? भन्नु कुरा खुमबहादुर खड्काले सार्वजनिक गरिसकेका छन् । त्यतिबेला पनि नेपाली कांग्रेसको जनमत ३५–३६ प्रतिशतको हाराहारीमा थियो । तर एमालेको जनमत ३७–३८ प्रतिशतको हाराहारीमा पुग्ने संकेत २०५४ सालको स्थानीय निर्वाचिनले गरिसकेको थियो । यस्तो अवस्थामा आफ्नो पार्टीले बहुमत ल्याउन सक्दैन भन्ने हिसाव कितावका साथ एमालेको विभाजनमा कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले हात हालेका थिए । चुनावी परिणामले त्यो कुराको पुष्टि गर्यो ।
तर गत आम निर्वाचनमा एमाले र माओवादी मिले । २०५६ सालको आम निर्वाचनको पूर्वसन्ध्यामा सिंगो एमालेलाई दुई वटा पार्टी बनाउन सफल नेपाली कांग्रेस २०७४ सालको आम निर्वाचनको पूर्वसन्ध्यामा दुई वटा कम्युनिष्ट पार्टी एमाले र माओवादीले चुनावी गठवन्धन बनाएको टुलुटुलु हेरेर बस्न वाध्य भयो । आँफूसँगै सत्ता साझेदार रहेको माओवादीले प्रतिपक्षी एमालेसँग चुनावी गठवन्धन गरेको सूचना नेपाली कांग्रेसको नेतृत्वले पत्रकार सम्मेलन पछि मात्रे थाह पायो । प्रधानमन्त्रीको रुपमा मुलुकको सारा सूचना संयन्त्र आफ्नो हातमा लिएर बसेको कांग्रेस नेतृत्वले आँफ्नो सत्ता साझेदार पार्टी प्रतिपक्षसँग चुनावी गठवन्धनमा सामेल हुनलागेको पूर्वाभास समेत नपाउनु भनेको कमजोरी हो कि होइन ?
संविधान जारी हुनासाथ एमाले र माओवादीले सत्ता सझेदार बनेर कांग्रेसलाई एक्ल्याएका थिए । यो परिस्थितिलाई चिर्दै नेपाली कांग्रेसले माओवादीलाई आफ्नो समिकरणमा ल्याएको पनि हो। तर समिकरण के कारणले टुट्यो ? त्यसको लेखाजोखा हुनुपर्ने कि नपर्ने ? थप ६ महिनाका लागि प्रचण्डलाई नै प्रधानमन्त्रीका रुपमा निरन्तरता दिएको भए माओवादी र एमालेवीच तालमेल हुँदैनथ्यो कि ? भन्ने तर्कलाई नजर अन्दाज गर्न मिल्दैन । आखिर प्रचण्डले पहिलो चरणको स्थानीय निर्वाचन गराइ सकेकै थिए । दोस्रो चरणको स्थानीय निर्वाचन पनि ५ दिन पछि हुँदै थियो।
तेस्रो चरणको निर्वाचनका लागि वातावरण बनिसकेकै थियो। यस्तो अवस्थामा ६ महिनाका लागि प्रधानमन्त्री बन्न कांग्रेस नेतृत्व हतारियो । यो ६ महीना धैर्य गर्न सकेको भए थप ५ वर्ष प्रधानमन्त्री बन्ने मौका कांग्रेस नेतृत्वलाई आउन सक्थ्यो कि ? अथवा ५ वर्ष नभए पनि ३ वर्ष त आउन सक्थ्यो कि ? भन्ने तर्कलाई कसरी नजर अन्दाज गर्ने ? हुन त यो ६ महिना हतारिएका कारण कांग्रेस सभापति शेरबहादुर देउवाले आम निर्वाचन आँफूले सम्पन्न गराएको जस लिए । यही घटनालाई लिएर नेपाली कांग्रेसको हालै संसोधित विधानको प्रस्तावनामा आफ्नो नाम उल्लेख गर्न सभापति देउवा सफल भए। चुनाव सम्पन्न गराएको प्रधानमन्त्रीका रुपमा भन्दा पार्टीको हैसियत माथि पुर्याएको सभापतिका रुपमा विधानको प्रस्तावनामा नाम उल्लेख भएको भए देउवाको उचाई अझै बढ्थ्यो।