मिस्त्रीखोला जलविद्युत आयोजनाको सुरुङ निर्माण सम्पन्न

रिपोर्ट नेपाल | 2019 May 12 | 03:58 pm 1486

म्याग्दी, वैशाख २९:  जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ स्थित नारच्याङमा सञ्चालित मिस्त्रीखोला जलविद्युत आयोजनाको सुरुङ निर्माण सकिएको छ । रोवस्ट इजर्नी प्रालिले निर्माणाधीन ४२ मेगावाट क्षमताको आयोजनाका लागि दुई हजार २ सय ७० मिटर लामो सुरुङ निर्माण गरेको हो । सन् २०१६ को जुन १३ मा सो सुरुङको काम शुरु गरिएको थियो । नेपाली सेनाको निगरानीमा विस्फोटक पदार्थ प्रयोग गरेर बाँधतर्फबाट ९ सय २६ मिटर र आउटलेटबाट एक हजार ३ सय ४४ दशमलव पाँच मिटर सुरुङ निर्माण गरिएको आयोजनाका इञ्जिनीयर दिवाकर खड्काले जानकारी दिए ।

आयोजनाको बाँध, विद्युतगृह र पेनस्टक पाइप जडान गर्ने काम ८० प्रतिशत सकिएको छ । निलगिरि र घलेम्दी खोलाको दोभानमा २३ मिटर अग्लो बाँध निर्माण गरिएको र सो बाँधक लागि पहाडभित्र १ सय ३५ मिटर सुरुङ खनी पानीलाई ‘डाइभर्ट’ गराएर बाँध निर्माण गरिएको हो । मिस्त्रीखोलाको पानी थिग्राउने पोखरी (क्यानल) भूमिगत हो । पहाडभित्र १ सय १५ मिटर लम्बाइ, ८.५ मिटर चौडाइ र १३ मिटर गहिराइ भएको दुई बालुवा थिग्राउने भूमिगत पोखरी बनाइएको छ । आउटलेटदेखि बाँधसम्म एक हजार ५ सय मिटर लम्बाइ दुई मिटर गोलाइको पेनस्टक पाइप जडानकार्य ८० प्रतिशत सकिएको छ ।

आयोजनाले नारच्याङबेँसीगाउँदेखि बाँधसम्म पुग्ने ६ किलोमिटर सडक र तीन बेलिब्रिज निर्माण गरेको छ । पाँच अर्ब ६४ करोड लागत अनुमान गरिएको सो आयोजना स्वदेशी लगानीमै निर्माण हुन लागेको हो । विद्युत विकास विभागले २०६४ मा सो आयोजना निर्माणका लागि अनुमति दिएको थियो । नेपाल विद्युत प्राधिकरणले २ सय २० केभी कालीगण्डकी करिडोर प्रसारण लाइन र दाना सवस्टेशन बनाउन ढिलाइ गर्दा आयोजना नौ वर्षपछि धकेलिएको बताइएको छ । म्याग्दीमा हालसम्म निर्माण भएका र निर्माणाधीन अवस्थामा रहेकामध्ये यो सबैभन्दा ठूलो आयोजना हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.