कालिकाेट, कात्तिक २९ः नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा कालोपत्र राख्ने कार्य सुरु भएको छ। ३७ वर्ष पुरानो विमानस्थलको टावर भवन निर्माण भएपछि अब विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने कार्य सुरु भएको निर्माण कम्पनीले जनाएको छ।
लामो समयदेखि काम नहुँदा अन्यौलमा रहेको विमानस्थलले पछिल्लो समय गति लिन थालेको छ। विमानस्थलसम्म सडक नपुग्नु, विगतको सशस्त्र द्वन्द्व, कोभिड लगायतका कारणले विमानस्थलको काम कछुवा गतिमा भइरहेको थियो। यो आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले समयसीमा दिएको छ । धावनमार्ग ६ सय ९० मिटर लम्बाइ र ६० मिटर चौडाइको बनाइने तयारी गरिएको छ। स्रोतका अनुसार २०४२ साल यता ३९ करोड रूपैयाँ विमानस्थल निर्माणका लागि खर्च गरिसकिएको छ।
कालिकोट सदरमुकाम मान्मबाट हिँडेर चार घण्टामा विमानस्थल पुगिन्छ। अहिले सडक पुगेको छ तर निकै सकसपूर्ण सडकको अवस्था रहेको छ। असार मसान्तसम्ममा विमानस्थलको निर्माण कार्य पूर्ण रूपमा सकिने गरी काम भइरहेको विमानस्थल निर्माणमा खटिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रत्नबहादुर श्रेष्ठले बताए ।
विमानस्थलसम्म निर्माण सामग्री लैजान ठेकेदार कम्पनीहरूलाई सकसपूर्ण भएको जनाइएको छ। ‘कच्ची, अप्ठ्यारो सडक भएकाले निर्माण सामग्री लिन निकै गाह्रो छ।’ गौरी पार्वती÷श्याम एण्ड शंकर जेभीका प्रतिनिधि कलम केसीले भने, हामीले शुक्रबारबाट धावनमार्ग कालोपत्रे गर्ने काम सुरु गरेका छौं। असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ।’
गौरी पार्वती श्याम एण्ड शंकर जेभीले पिच गर्ने, नाला बनाउने, माटो काट्ने गरी भ्याटसहित १३ करोड ८१ लाख रूपैयाँमा ठेक्का लिएको छ। त्यस्तै भवन र टावर निर्माणका लागि पिआर इन्फ्रास्ट्रक्चरले भ्याटसहित ३ करोड ४७ लाख ७४ हजार रूपैयाँमा ठेक्का लिएर काम सुरु गरेएको हो। २०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालिकोटले १ लाख रूपैयाँ विनियोजन गरेर कामसुरु गरेको सुनथराली विमानस्थलको कालोपत्रेको काम ३७ वर्षपछि सुरु भएको छ ।
३५ जना मजदुरको ‘चिहान’
सुनथराली विमानस्थलको कथा फरक छ। सदरमुकाम मान्मदेखि पाँच घण्टा टाढाको यो विमानस्थल बनाउँदा धेरैको रगत बगेको छ। ३५ जना मजदुरको ‘चिहान’ माथि ‘चिलगाडी’ बस्ने ठाउँ बनाउँदैछ। सशस्त्र द्वन्द्वका क्रममा विमानस्थल बनाइरहेका धादिङ जिल्ला जोगीमारा गाउँका १७ जना सहित ३५ जनालाई स्थानीय एक विष्टको घरको आँगनमा २०५८ सालमा सेनाले एउटै चिहान बनायोे। अहिले बन्दै गरेको विमानस्थलभित्रै ३५ जनाको शव गाडिएको छ ।
‘विमानस्थल कालिकोटका जनताको लागि सुविधाका लागि मात्रै होइन्, विमानस्थलको रनवेभित्र गाडिएका ३५ जना मजदूरको आत्माको शान्तिका लागि पनि चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्छ भन्ने हाम्रो माग छ,’ सुनथराली विमानस्थल सरोकार समाजका संयोजक धनराज वास्तविकले भने, ‘एउटा विमानस्थल बनाउन ३७ वर्ष लाग्नु लाजमर्दो विषय पनि हो।’ गणेश विष्टको घर विमानस्थलको छेवैमा छ। यो ३७ वर्षमा उनले विमानस्थलकै कारण धेरै सास्ती भोगे। सँगै काम गर्ने ३५ जना सहकर्मी गुमाए। सेनाको चरम यातना र माओवादीको अत्याचार पनि सहे। विमानस्थल निर्माणमा राज्यको चासो र चिन्ता नरहेको उनको भनाइ छ ।
‘सदरमुकाम नजिकै भइदिएको भए उहिल्यै काम सम्पन्न भएर विमानस्थल सञ्चालनमा आइसकेको हुन्थ्यो,’ विष्टले भने, ‘दुर्गमको विमानस्थलमा कसैको चासो र चिन्ता छैन्।’ अब बिमानस्थलको कामले निरन्तरता पाउँछ भन्ने आशा छ । नागरिक दैनिकबाट