काठमाडौं: वि सं २०२१ सालमा तत्कालीन राजा महेन्द्रले रानी रत्नको नाममा निर्माण गरेको रत्नपार्कको परिचय राजनीतिक परिवर्तन र सामाजिक विकाससँगै यसको फेरिँदै गएको छ । जुन समयमा रत्नपार्कको निमार्ण भयो त्यस समयमा मुलुकमा पञ्चायती व्यवस्था थियो, खुलेर आफ्नो कुरा राख्न, बहस गर्न प्रतिबन्ध लगाइएको हुन्थ्यो । तर पनि तत्कालिन राजनीतिक दल तथा नागरिक अगुवाहरु यस ठाउँमा भेला भएर पञ्चायती व्यवस्थाविरुद्ध विरोध गर्ने, राजनीतिक बहस गर्ने गर्दथे । तत्कालिन समयमा यस क्षेत्रमा बौद्धिक वर्गहरुको भेलास्थलको रुपमा चिनिन्थ्यो ।
विभिन्न कारणले गर्दा लामो समय यो पार्क अव्यवस्थित रह्यो । २०७१ साल वैशाखमा काठमाडौं महानगरपालिकाले अव्यवस्थित रत्नपार्कलाई व्यवस्थित गर्ने हेतुले पूर्ण रुपमा बन्द गर्यो । २०७१ मंसिरमा सम्पन्न सार्क शिखर सम्मेलनलाई लक्षित गर्दै महानगरपालिकाले यसको पुनर्निर्माण गरेको थियो । झन्डै १५ महिना बन्द भएपछि खोलिएको रत्नपार्कको नामै अहिले बदलिएको छ, शंखधर उद्यान (पार्क) । करिब ४२ रोपनी जग्गाभित्र फैलिएको यो पार्कको भित्री स्वरुप पनि बदलिएको छ ।
सानो पोखरी, रक गार्डेन, पिङ, चिप्लेटी र स–साना विश्राम स्थल फेरिएका छन् भने यस क्षेत्रको चरित्र निकृष्ट रुपमा फेरिएको छ । न माइक्रो र बसका सहयोगीले ‘रत्नपार्क, रत्नपार्क’ भन्न छाडेका छन न त यहाँ चलिआएको यौन व्यवसाय रोकिएको छ । अहिले रत्नपार्कलाई चिन्नेहरुले यौनकर्मीको अखडाको रुपमा बुझ्छन् ।
पहिला पार्कभित्र यौन कृयाकलाप र मोलमोलाइ हुने काम अहिले बाहिर भइरहेको छ तर रोकिएको भने छैन । ‘यो त सदाबहार सेक्स स्टेसन हो,’ शुक्रबार साँझ रत्नपार्कमा यौनकर्मी खोज्दै हिँडिरहेका एक युवक भन्दै थिए, ‘मेरो घर धनुषा हो । म वर्षौपिच्छे काठमाडौं आउँदा यहाँ आएकै हुन्छु । यहाँको धन्दा सधैँ उस्तै हो, कहिल्यै सुध्रिएन । यतिसम्म कि यहाँ पाइने केही केटीहरु त दुइवर्षअघि आउँदा पनि यहीँ थिए, अहिले पनि यहीँ छन् ।’
नयाँ–नौलो केटी यहाँ देख्नै हुँदैन, ‘जाने हो ?’ भनेर सोधिहाल्छन्,’ करिब १० वर्षदेखि काठमाडौंको रत्नपार्क क्षेत्रमा फुटपात व्यापार गरी हिड्ने सनम केसीको अनुभव हो यो । केही महिना अघिदेखि यहाँ चटपटको व्यापार थालेका रमेशको अनुभव पनि सनमकोभन्दा भिन्न छैन ।
प्रहरीका अनुसार पछिल्लो समय रत्नपार्क क्षेत्रमा धेरै युवकहरु साँझ भेष बदलेर हिँड्ने गरेका छन् । त्यसरी हिँड्ने कतिपय साँच्चिकै तेश्रोलिङ्गी यौनकर्मी हुन्छन् भने कतिपय विभिन्न उद्देश्य बोकेर भेष बदल्ने गर्छन् ।
रत्नपार्क क्षेत्रमा यौन प्यास मेट्न आएका ग्राहक लुटिने पनि गरेका छन् । विशेषगरी तेश्रोलिङ्गी यौनकर्मीले ग्राहक लुट्ने गरेको रत्नपार्क क्षेत्रमा खटिएका प्रहरी हवलदार दिपक विष्ट बताउँछन् । ‘प्रहरीले देख्छ कि भनेर उनीहरु ग्राहकलाई सामान्य बार्गे्निङ गरेर रत्नपार्क क्षेत्रबाट बाहिर लान्छन् अनि बीच बाटोमा थप बार्गे्निङ गरेर लुट्ने गर्छन,’ उनले भने, ‘बरु प्राकृतिक रुपमै महिला रहेका यौनकर्मीले ठग्दैनन्, वरिपरिको सामान्य होटलमा लगेर सन्तुष्टि दिन्छन् तर अधिकांश तेस्रोलिङ्गी यौनकर्मीले ठग्ने र लुट्ने गरेको उजुरी पाइएको छ । लुट्न सजिलो हुने भएकाले उनीहरु बढी पाका उमेरका ग्राहक खोज्ने गरेको पनि अनुसन्धानका क्रममा खुलेको महानगरी प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरिक्षक विश्वराज पोख्रेलले बताए ।
देख्ने र भोग्नेहरु भन्छन्, ‘काठमाडौंको मुटु मानिने रत्नपार्क बिहान, दिउँसो र बेलुकी गरी तीन समय छेपारोले झैँ रङ फेर्छ ।’ हुन पनि हो । यो क्षेत्र बिहान शान्त, दिउँसो भद्र, साँझ व्यस्त र राति बढी उत्तेजक देखिन्छ । शुक्रबारको दृश्य पनि त्यस्तै थियो । पार्क वरिपरि पसल फिँजाएकाहरु आफ्नो सामान बेच्न तल्लिन थिए, यौनकर्मीहरु भने ग्राहक खोज्न । दृश्य केही नयाँ थिएन । पहिलेझै तेश्रोलिङ्गी र महिला यौनकर्मी ग्राहकसँग मोलमोलाइमा व्यस्त थिए ।
बेलाबेला केही जोडीलाई रंगेहात पक्रेर चर्चामा आउने प्रहरी प्रशासन अहिले शान्त छ। ’सामाजिक मर्यादा’ कायम राख्ने कुनै त्यस्तो अभियान चालिएका छैनन्। यौन व्यवसायमा रहेका अधिकांश महिलासँग अर्थोपार्जनको अन्य विकल्प नभएकाले प्रहरीले नियन्त्रण गर्न नसकेको बताइन्छ। प्रहरीका अनुसार कतै सिप नलाग्ने तथा होटलमा होटलवालालाई पनि पैसा दिनुपर्ने तथा अन्य जिल्लाबाट काठमाडौं पहिलोपटक आउनेहरुलाई जानकारी नहुने भएकाले उनीहरुको रोजाइँमा रत्नपार्क पर्छ । ती प्रहरी अधिकारीले भने, ‘उनीहरूको नाममात्र खुले पनि सडकमै पुग्ने अवस्था आउँछ। पक्राउ गर्दा पनि सबै कुरा हेर्नुपर्ने हुन्छ।’
‘यो पेशा केहीका लागि बाध्यता नै भएको बताउँछन्। ‘हातमा सीप केही पनि छैन भने कसैलाई केही बेर रमाइलो गराएर आफू पनि रमाउँदै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने हेतुले लागेको देखिन्छ’, वरिष्ठ उपरिक्षक पोख्रेल बताउछन् । उनको तर्क छ, ‘सरकारले यसलाई व्यवस्थित गरिदिनुपर्छ।’ समय–समयमा रेडलाइट एरिया तोक्नुपर्ने आवाज उठाइए पनि त्यो मागलाई मूर्त रूप दिन नसक्नुले यो पेशा अझ विकृत हुँदै गएको उनको ठम्याइ छ। ‘यो पेशा रोकेर रोक्न, छेकेर छेक्न सकिन्न,’ उनले भने, ’बरु कसरी व्यवस्थित गर्ने? त्यतातिर सोच्नुपर्ला।’
यसरी रानीको नाममा निमार्ण गरिएको रत्नपार्कको व्यस्त दैनिकीबाट फुर्सद मिलाएर टहलिन जानेहरुका लागि मुख छोपेर हिड्नुपर्ने अवस्था छ । बस चढ्न र किनमेल गर्न भनेर रत्नपार्क वरिपरि आउने सर्वसाधरण यस क्षेत्रको ‘बदनाम चरित्र’का कारण अति पीडित बनेका छन् । ‘यहाँ छोरीचेलीलाई एक्लै हिँड्न र उभिन निकै गाह्रो छ, उभियो कि यौनकर्मी ठानिहाल्छन, ‘जाने हो ?’ भनेर सोधिहाल्छन’ रत्नपार्क क्षेत्रमा व्यापार गर्दै आएकी रमादेवीले गुनासो पोखिन् । यहाँ त आफ्ना आफन्त, साथीभाइ बस कुरेर बस्ने स्थिति पनि छैन ।
यस क्षेत्रमा खुल्याम यौन व्यवसाय मौलाइरहेको भएपनि सम्बन्धित पक्ष भने मौन छ । यस क्षेत्रमा सम्बन्धित निकाय प्रहरी प्रशासन, महानगरपालिका तथा सरकार गम्भीर हुन सकेन भने सामाजिक विकृतिका साथै अपराधिक कृयाकलाप पनि बढ्ने देखिन्छ ।