बुढेस काल भयो दाँत फक्ल्याक फुक्लुक
सार्हो निलिँदैन गिलो कप्ल्याक कुप्लुक
गिजा छैनन् दहा न त छन् बङ्गारा
नरम र मुलायम मात्र ठूलो सहारा ।
मानिस बूढो भए केटाकेटीजस्तै
बाबुबाजे भन्थे व्यहोरा सब उस्तै
कुरा छिनछिनै बिर्संदै जाने हुन्छ
कान पनि त्यस्तै सुन्न कम नै हुन्छ ।
गाला चाउरिए कान लत्र्याकलुत्रुक
खुट्टा चल्न छोड्छन् शरीर कत्र्याककुक्रुक
ढाड कुप्रो हुन्छ मक्किँदै जाने हड्डी
हिँड्दा सहारा लिन टेक्नै पर्ने लठ्ठी ।
आँखाको नानीमा बसी जाने धमिलो
देखिँदैन कतै यो मन हुन्छ अमिलो
जिब्रो लटपटिने प्रस्ट हुन्न बोली
साहस छैन भन्ने दिल खोली खोली ।