बर्खा एकचौटी मात्रै आउँदैन मनुवा !

| 2018 Jul 05 | 09:18 am 3538

‘चरी लैजा समाचार
हामी भयौँ बेघरबार’

केही वर्ष पहिले सुर्खेतमा भिषण बाढी पहिरोकोका कारण धेरै जनधनको क्षति भयो। त्यही मानवीय एव्म भौतिक क्षतिको पिडालाइ सिंहदरबारसमक्ष खबर पुर्‍याउने माध्यमको रुपमा आकाशमा उड्ने चरीको सहारा लिएर गित बनाइएको थियो। गित जति मार्मिक र यर्थाथपरक छ गितका हरेक शब्द शब्दमा रचिएका कलात्मकताले झनै गिती भावलाइ जनजनको मनमा सधैभरी गडिरहने अवसर प्रदान गरिएको छ।

हिजो मात्र सामाजिक संजालमा एक मित्रले पोष्ट गरेको देखेँ ‘अब आकाशमा कालो बादल मडारिन थाल्छ, चराहरु यतायति उड्न थाल्छन, सुर्यको चम्किलो गति क्रमश धमिलो हुँदै जान्छ तब यही गित चरी लैजा समाचार, हामी भयौँ भयौँ बेघरबारको निकै याद आउँछ। गितले गिती भाव मात्रै बोकेको छैन बाढी पहिरोको चपेटामा हरेक वर्ष हुने मानवीय एव्म भौतिक क्षतिको विषयलाइ जिवन्त बनाउने सेतुको काम गरेको छ’। ती मित्रले उठाएको कुरा सोह्रै आना सही थियो। हामी समाजमा सचेत प्राणी हौँ, समाजमा आफुलाइ अरु प्राणी भन्दा अगुवा पनि हौँ भन्ने ठान्छौ, हामीलाइ प्रांकृति चक्रको बारेमा धेरैथोरै ज्ञान अवश्य पनि छ।

यमुना अर्याल

समाजमा बसिसकेका समाजमा चेतनशिल प्राणी भइकन पनि हामी कुनै पनि कुराहरुमा पुर्व तयारी गर्न सक्दैनौ यो ठुलो विडम्बना हो। हामी मानवको सबैभन्दा ठुलो कमजोरी भनेको नै विपत्ति आइसकेपछि बल्ल तात्तिने, चेत आउने र चिन्ता, शोक इत्यादि गर्ने हो। प्रकृतिको नियम नै एक वर्षको अवधिमा कहिले जाडो हुन्छ, कहिले गर्मी हुन्छ, कहिले मौसम ठिक्क हुन्छ कहिले पानी पर्छ, बाढी पहिरोको उच्च जोखिम हुन्छ।

यी कुराहरु सबै मानिसहरुलाई थाहा छ। उनिहरुलाइ जाडो कहिले शुरु हुन्छ ? गर्मी कहिले शुरु हुन्छ ? बर्खायाम कहिले सुरु हुन्छ ? यि सिजनमा जोखिमबाट बच्न के के उपायहरु अबलम्बन गर्न सकिएला भन्ने धेरैथोरै हेक्का पनि छ तर हामी नेपालीहरुको विचित्रको बानी छ कोही जानकारी पाइकन पनि जोखिमको भूमरीमा रुमल्लिन बाध्य छ कोही यस्तो विपत्ति के आइपर्ला र भन्ने हेलचक्रयाँइका कारण जानाजान विपत्तिमा परिरहेको देखिन्छ।

जाडोकै कुरा गरौँ न, उच्च हिमाली भेग नेपालको भौगोलिक हिसाबले पनि निकै चिसो क्षेत्र मानिन्छ। सुन्दर पक्ष मान्नुपर्छ हिमाली भेगमा अहिलेसम्म अपवाद बाहेक जाडोको सिजनमा नागरिकको मृत्यु भएको समाचार सुन्न पाइदैन। हिमाली भेगको अचाक्ली चिसो त्यहाँका नागरिकहरुले कसरी सामना गरिरहेका होलान? अन्य क्षेत्रका नागरिकहरुलाइ जिज्ञासा हुनुपर्ने हो तर त्यस्तो भएको पाइदैन । हिमाली भेगमा ६ महिना लेक र ६ महिना वेशीमा बसाँइसरेर त्यहाँका नागरिकले जाडो गर्मीमो सन्तुलन मिलाउँछन। जाडोको सिजन शुरु नहुँदै जाडोको समयभरीलाइ पुग्ने खर्चको जोहो गरी बलिया, हट्टाकट्टा नागरिकहरु बँेशीमा झर्छन, बुढाबुढी, अशक्त, बालबालिका र महिलाहरु मात्रै घरमा बस्छन, आगो ताप्छन, तातो खान्छन जति जाडोले चुनौती दिएपनि उनीहरु घरभित्रै न्यानोमा बसेर सामना गर्छन । पहाडी भेगको तुलनामा हाम्रो तराइ भेग जाडोको बेलामा निकै आक्रान्त हुन्छ।

हरेक दिनजसो तराइ भेगको एउटा एउटा दुखद समाचार नचाहेर पनि सुन्नुपर्ने बाध्यता छ। शितलहरका कारण तराइको जनजीवन प्रभावित हुन्छ, नागरिकहरु घामको मुख देख्न पाएका हुँदैनन । आगो ताप्न पाउँदैनन, न्यानो लुगाकपडाको अभावमा नागरिकको अनाहकमा ज्यान गइरहेको हुन्छ। दशैँ तिहार सकिएलगत्तै आगामी सिजनको जाडोको भरपुर तयारी गर्ने हो भने, पर्याप्त दाउराको, न्यानो कपडाको व्यवस्था गर्न सक्ने हो भने चिसोका कारण वर्षेनी धेरै नागरिकले अनाहकमा ज्यान गुमाउनु पर्ने थिएन।

सामाजिक संघसस्थाहरुले पनि पहिल्यै जागरुकता देखाउँदैनन, जब तराइमा शितलहरका कारण सर्वसाधारण नागरिकको ज्यान गएका समाचारहरु सार्वजनिक हुन्छन तव चाँसो दिएको देखिन्छ । सरकारी तवरबाट पनि यस्तै आचरण देखाइन्छ । मान्छे मर्नुभन्दा पहिल्यै पुर्वतयारी गर्न सक्ने हो भने अनाहकमा मरेका नागरिकहरुको ज्यान जोगिने थियो । जाडोका कारण ज्यान गएको होइन गरिबीका कारण ज्यान गएको सत्यतालाइ हामीले आत्मसाथ गर्न सक्दैनौँ अनि दोष त्यही प्रकृतिको चक्रलाइ दिन्छौँ । जाडोका कारण ज्यान जाने भए तराइका कोहीपनि बासिन्दा जिवित हुँदैनथे तर जो गरिब छन, जसको शरिरमा न्यानो लुगा छैन, जसले तातो खान पाएको छैन, न्यानोमा बस्न पाएको छैन उनिहरु नै मरेका छन, पिडामा रुमलिएका छन । पक्कैपनि तराइको शितलहरले हुनेखाने र हुँदाखाने भनेर विभेद गरेको छैन यो सत्यलाइ हामीले कहिले बुझ्‍ने?

तराइमा गर्मी याममा उस्तै समस्या आउँछ, यो समस्या आजको वा पहिलो पटकको समस्या होइन । औँलोका कारण वर्षेनी धेरै नागरिकहरु बिरामी मर्छन, औषधीको अभावमा मर्छन, शर्पले टोकेकै कारण समयमा उपचार नपाएर नागरिक मर्छन तर यि समस्याबाट सदाको लागि कसरी छुटकारा पाउन सकिन्छ भनेर कहिल्यैपनि पुर्व तयारी हुँदैन , गरिदैन वा चाँसो देखाइदैन । जव नागरिकको मृत्यु हुन्छ अनि औषधीको सोधीखोजी गरिन्छ । औषधी पत्ता लागेर गाऊँमा पुग्दासम्म धेरै नागरिकको ज्यान गइसकेको हुन्छ। जाडो सकिए लगतै झुलको व्यवस्था , शर्पदशंको औषधीको व्यवस्था गर्ने, लामखुट्टेको टोकाइबाट बच्ने उपायहरु अबलम्बन गर्ने हो भने सामान्य रोगका कारण अनाहकमा अमुल्य जीवन खेर फाल्नुपर्ने थिएन।

अहिले बर्खाको सिजन सुरु भएको अवस्था छ । यो पानी पर्ने वा बर्खा लाग्ने कुन समयमा हो भन्ने कुरा हिमाल पहाड तराइका सबै जनतालाइ थाहा छ । बर्खामा के के समस्या आइलाग्छन भन्ने कुरा नागरिकलाइ भन्दा धेरै त सरकारलाइ थाहा छ तर पनि हरेक वर्ष पहिरोमा पुरिएर, बाढीले बगाएर , पुल भत्किएर, सडक भत्किएर धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको छ । सरकारले मृतकको सख्या मात्रै टिपिरहने हो कि आगामी दिनमा यस्तो क्षति नदोहोरियोस भनेर सतर्क हुनुपर्ने हो ?

विपत व्यवस्था कसरी गनेृ ? बाढी पहिरोको जोखिमबाट कसरी जोगिने ? क्षति कसरी न्युनिकरण गर्ने ? यस्ता कुराहरुको बारेमा त बर्खा नलाग्नै नागरिकलाइ जानकारी हुनुपर्ने हो । हामीकहाँ ठिक उल्टो परिपाटी छ । जव पहिरोले घरबारी बगाउँछन, मान्छेहरु पुर्छ , बाढीले तराइ क्षेत्र जलमग्न हुन्छ अनि बल्ल नीति कार्यत्रम, कसरी क्षति कम गर्ने भन्ने विषयहरु एठ्न थाल्छन। यी विषयहरु एठेर, छलफल भएर निष्कर्ष निस्कदासम्म धेरै घरहरु बगिसकेका हुन्छन, धेरै नागरिक मरिसकेका हुन्छन, तराइका घरहरु जलमग्न भएका हुन्छन। पाहेोर साल मात्र तराइ भेगकै कुरा हो एकजना पिताले विरामी भएको छोरो उपचारको अभावमा गुमाए। उनले जलमग्न तराइमा कहीपनि आफ्नो नाबालाक छोरो गाड्ने जमिन समेत नभेटाएर नदीमा बगाउनुपरेको थियो।

त्यो हृदयविदारक तस्बिर देख्दा कस्को मन रोएन होला ? कस्को मुटु छियाछिया भएन होला ? तर मान्छेले जे पनि बिर्सन सक्छ बिर्सन्छ भन्ने कुरा अहिलेको घटनाले देखाइरहेको छ । अहिले पनि मनसुन पुर्ण रुपले सक्रिय भइसकेको छैन तैपनि देशभर बाढी पहिरोमा परि दर्जन भन्दा बढी नागरिकहरुको ज्यान गइसकेको छ , बस्तीहरु जोखिममा छन, तराइ भेग जलमग्न भएको छ नागरिकहरु आकाश हेरेर रात कटाउनुपर्ने अवस्थामा छन उही विगतका फेहरिस्तहरुको पुनरावृति नहोला भन्न सकिदैन।

बर्खा लागेपछि, नागरिकहरु पुरिएपछि, घरबार बगाएपछि , तराइ क्षेत्र डुबानमा परेपछि, राजमार्गमा सवारी साधन पुरिएपछि, गाडीहरु बगेपछि मात्रै चाँसो, चिन्ता र सराकोर देखाउने कदम सही होइन। नागरिक, सम्बिन्धत सरोकारवाला र स्वयम सरकारले पनि यि विषयहरुको बारेमा पुर्व तयारी गर्नु जरुरी छ। विपति परिसकेपछि उपायहरु खोज्‍ने होइन विपत्ति आउनुभन्दा पहिले नै त्यसको रोकथामका उपायहरु अबलम्बन गर्न सक्नुपर्छ। सबै मनुवालाइ जानकारी हुनु पर्ने जाडो, गर्मी, बर्खा भनेको एकसमय मात्रै आउने होइन प्रकृतिको चक्र हो कहिले जाडो, कहिले गर्मी, कहिले झमझम मानी परिरहन्छ। यसबाट जोगिन हामीहरु आफैँ चनाखौ भएनौ भने विपत्ति आइलागेपछि राम राम भन्नुको कुनै अर्थ छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.