काठमाडौं, असार १५: नेपाल र भारतबीच रहेका सबै प्रकारका सन्धि-सम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को नवौं बैठक शुक्रबार सुरु हुँदै छ।
यही बैठकले हालसम्म भएका विभिन्न आठ बैठकको प्रगतिलाई दुईपक्षीय साझा प्रतिवेदनको ढाँचामा ढालेर सरकारलाई बुझाउने निर्णय गर्नेछ । यद्यपि अझै पनि उक्त प्रतिवेदनले अन्तिम रूप पाउन सकेको छैन।
शुक्रबार र शनिबार काठमाडौंमा हुने बैठकमा सहभागी हुन भारतीय पक्षका चारै सदस्य काठमाडौं आइसकेका छन्। यसअघि काठमाडौंमा सम्पन्न पछिल्ला दुई बैठकमा सहभागी हुन नसकेका पूर्वराजदूत जयन्त प्रसाद पनि आएका छन् । उनकै सहभागिताका लागि बैठक एक महिना ढिलो गरी राखिएको हो।
नयाँदिल्लीमा भएको आठौं बैठकमा पनि १९५० को सन्धि प्रतिस्थापनको विषय नटुंगिएपछि काठमाडौंमा नवौं बैठक तय भएको हो। प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलगत्तै ‘अन्तिम’ भन्दै दिल्लीमा ईपीजी बैठक बसेको थियो। यसअघि जेठ १८ देखि २० सम्म काठमाडौंमा बैठक बस्ने तय भएको थियो। तर नेपालले भारतकै आग्रहमा मिति सारेर ईपीजीलाई दिइएको समय सीमाको अन्त्यतिर बैठक राखेको हो।
असार २० मा ईपीजीको समय सीमा सकिँदै छ। त्यसअघि हुने बैठक पहिल्यै नमिलेका विषय आदानप्रदानबाट मिलिसक्नुपर्ने भए पनि भारतीय पक्ष उदास देखिएको अवस्थामा यो बैठक हुन लागेको हो।