अायाे मूल्य सूची राख्न निर्देशन

रिपोर्ट नेपाल | 2018 Jun 14 | 05:14 pm 3692

काठमाडौँ,जेठ ३१ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य वस्तुको मूल्य अनिवार्यरुपमा सूचीबद्ध गरी बिक्रीस्थलमा राख्न खुद्रा व्यवसायीलाई निर्देशन दिएको छ ।

बजारमा वस्तुको मूल्यमा एकरुपता कायम राख्न अाज आयोजित अन्तर्कृया कार्यक्रममा विभागका महानिर्देशक योगेन्द्र गौचनले बजेट जारी भएपछि व्यवसायीले विभिन्न वस्तुमा आफूखुसी मूल्य वृद्धि तथा वस्तुको कृत्रिम अभाव गरेको उजुरी आएको जानकारी गराका थिए।

“व्यापारीले मूल्य सूचीका साथै बिल बीजक जारी गर्नुपर्छ, अनुगमनका क्रममा त्यसो नगरेको पाइए कारवाही गछौँ,” उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नं ३ का अध्यक्ष दिनेश श्रेष्ठले बजारमा अनधिकृतरुपमा मूल्य बढाउने कालो बजारी तथा कर, अन्तःशुल्क छल्ने व्यापारीलाई आफ्नो संस्थाले कुनै पनि हालतमा संरक्षण नगर्ने प्रष्ट पार्दै विभागको निर्देशनलाई कार्यान्वयन गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधि देवेन्द्र श्रेष्ठले बजेटमा करका दरका नीतिगत परिवर्तन भएको भए पनि त्यसले अति आवश्यक दैनिक उपभोग्य वस्तुमा खासै असर नपर्ने बताए ।

नेपाल खुद्रा व्यापार संघका अध्यक्ष पवित्र बज्राचार्यले केही आयातित वस्तुमा केही अन्तःशुल्क वृद्धि भएका कारण कुनै वस्तुको सामान्य मूल्य वृद्धि भएको बताउँदै अस्वाभाविक मूल्य वृद्धि गर्ने व्यापारीलाई कारवाही गर्नुपर्ने विचार व्यक्त गरे ।

अखिल नेपाल महिला संघकी प्रतिनिधि ज्योति गिरीले गलत कार्य गर्ने व्यापारीलाई कारवाही गर्न नसकिएका कारण एउटै वस्तुलाई पसलैपिच्छे फरक फरक मूल्य लिने गरिएकामा चिन्ता व्यक्त
गरे । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.