काठमाडौं, असार १७: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको कार्यकक्षमा स्वकीय सचिवहरुको भीड देखिन्छ । मन्त्री पोखरेलको ध्यान अहिले नीतिगत काममा भन्दा स्वकीय सचिवको भीड व्यवस्थापनमा गएको देखिन्छ ।
उहाँको स्वकिय सचिवको रुपमा कर्मचारी पुष्पराज ढकाल र पुरण केसी रहनुभएको छ । ढकाल मन्त्रालयकै कर्मचारी हुनुहुन्छ भने केसी निजी सचिव । उहाँहरूबाहेक अन्य एक दर्जन भन्दा बढी व्यक्तीले स्वकीय सचिवको नाम लिएर काम गर्ने गरेका छन् ।
मन्त्री पोखरेलले दाङका जीवन गौतमलाई सल्लाहकारको रुपमा नियुक्त गर्नुभएको छ । तत्कालीन राज्यमन्त्री धनमाया विक बस्ने कोठमा बस्दै आउनुभएका उहाँ आफू राज्यमन्त्रीसरह भएको व्यवहार गर्नुहुन्छ । मन्त्रालयमा विभिन्न काम लिएर आएका अन्य व्यक्तीले गौतमलाई नै भेट्ने गरेको नेपाल समाचारपत्रमा खबर छ ।
प्रकाश खतिवडा, सुदर्शन पराजुली, विनोद पोखरेल, रोहित दाहाल र सुनिल खड्काले पनि स्वकीय सचिवका रुपमा जागीर खाइरहेका छन् । दाहाल सिभिइभीटीका कर्मचारी हुन । खड्कालाई प्रेस संयोजकको जिम्मा दिइएको छ । मन्त्रीले आफुलाई केही सहयोग आवश्यक पर्ने भएकोले केही साथीहरुलाई मन्त्रालयमा बोलाएको दावी गरेका छन् ।
‘हामी त अचम्म परेका छौ, कसलाई स्वकीय सचिव मान्ने कसलाई नमान्ने, मन्त्रीको कार्यकक्षभरि स्वकीय सचिवको भीड लाग्ने गरेको छ’ –मन्त्रालयका एक कर्मचारीले बताए। मन्त्रीले सहयोगका लागि केहीलाई राखेको दाबी गरेता पनि ती कर्मचारीले अन्य निकायबाट रकम लिने गरेको स्रोतको दाबी छ ।