काठमाडौं, पुस १० : आधुनिक कविको उपाधी पाएका कवि भूपी शेरचनको आज ८३ औं जन्मजयन्ती। विस १९९२ पुस ११ गते मुस्ताङको टुकुचे भन्ने गाउँमा सुब्बा हितमान शेरचन र पदमकुमारी शेरचनका कान्छा छोराको रुपमा भूपी शेरचनको जन्म भएको हो। उनको खास नाम भूपेन्द्रमान शेरचन हो।
परिवर्तन (नाटक, २०१०), नयाँ झ्याउरे (कविता,२०१० साल), निर्झर (कविता, २०१५ साल), घुम्ने मेचमाथि अन्धो मान्छे (कविता, २०२५), उनका प्रकाशित कृतिहरु हुन्। उनले थुप्रै गितहरु पनि लेखेका छन्। छ वर्षको उमेरमा मातृ वात्सल्य गुमाएका भूपीले जिवनमा निकै संघर्ष गरेका थिए। उनको यो हल्लै हल्लाको देश कविता निकै चर्चित बन्यो। जुन आजका दिनसम्म पनि सान्दर्भिक छ।
आज पनि नेपाललाई हल्लै हल्लाको देश भन्नेहरुको कुनै कमी छैन। र, यसो भन्नुको मुख्य कारण भूपी शेरचनको कविता ‘यो हल्लै-हल्लाको देश हो’ ले स्थापित गरेको मिथक नै हो । यो कविता भूपीले ५ दशक अघि लेखेका थिए । ‘यो हल्लै-हल्लाको देश हो’ कविता ०२४ सालको रुप-रेखा पत्रिकामा छापिएको थियो । भूपी शेरचनले यो कविता ०२३/२४ सालतिर लेखेको कवि श्यामलको अनुमान छ। जतिबेला पञ्चायती व्यवस्थामा समाज अलिक कठोर थियो, अहिलेको जस्तो खुलापन थिएन ।
उतिबेलाको बन्द समाजदेखि अहिलेसम्म हल्लामा आधारित समाजको गति र ताल उही देखिन्छ। यसैले अहिले पनि यो कविता उत्तिकै सान्दर्भिक छ । समाजमा कसैको जीवन नै धरापमा पर्ने गरी हल्ला चल्छ । समाजको हल्लाखोर चरित्रको त्यही गुढ रहस्यलाई उदांगो पार्ने कविता हो यो।
भूपिको जुन किसिमको परिमार्जित र प्राञ्जल भाषा छ, त्यसबाट उनी कुनै कुरामा एकैचोटि प्रभावित भएर तत्काल कविता लेख्थे भन्ने देखिँदैन । लामो चरणबाट नेपाली समाजको अध्ययन गरेपछि उनले यो कविता लेखेको श्यामल बताउँछन्।
नेपाली समाजको जगमा पनि हल्ला छ भनिएको हो। अर्थात् समाजको इतिहासदेखि नै हल्ला अर्थात् झुट छ भन्ने अर्थ बोलेको छ । हल्ला भनेको सत्य होइन । झुटले सत्यलाई विस्थापन गरिदिएको छ । जुन असतमाथि उनले प्रहार गरे, त्यो नेपाली समाजको आधारभूत गलत चरित्र हो ।
घरको जग भनिए पनि व्यक्तिको जीवन प्रणालीको जगतर्फ पनि संकेत गरिएको छ । हाम्रो जीवनप्रणालीमा हल्लाको स्थान एकदम बढी भयो । जीवनमा सत्य, योग्यता र सही सूचनाले अझै ठाउँ लिन सकेको छैन ।
हल्लै–हल्लाको देश
यो हल्लै हल्लाको देश हो
कानमा इयरफोन लगाउनुपर्ने बहिराहरु
जहाँ सङ्गीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा विजेता हुन्छन्
र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरुका ढोका अगाडि
डोकोका डोको, र
खर्पनका खर्पन,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छन्
जहाँ जतिसुकै व्यभिचारीको पनि
इज्जतको ‘वाश एन वियर क्रीज’ कहिल्यै बिग्रिन्न,
जहाँ जतिसुकै/पाप गरेको वेश्याको पनि
अनुहारको टेरेलिनको छाला कहिल्यै खुम्चिन्न,
जहाँ कृषि-मेलाहरुमा
दोब्बर उब्जनी हुने बीउहरुको प्रदर्शनी गरिन्छ
र जहाँ खडेरी र अनिकालका सम्चारले भरिन्छ,
जहाँ वाग्मती र विष्णुमतीका साटोमा
अब बियर र ह्विस्की बग्दछन्,
र जहाँ अब पशुपतिनाथ र स्वयम्भूनाथका मन्दिरको उपयोग
तिनका प्रसाद खानमा कम, र
तिनका पछाडिका बनहरुमा
आडम र इभको ‘वर्जित फल’ खानमा बर्ता गरिन्छ,
जहाँ चिनीको कारखानाले
चिनी होइन, रक्सी मात्र बनाउँछ
र जहाँका स्वतन्त्र आमाहरुले
छोरा होइन लाहुरे मात्र जन्माउँछन्
जहाँ रिन तिर्नको लागि महाकविले
असमयमै मर्नुपर्दछ,
जहाँ स्वदेशको पीरले बहुलाएको कविले
विदेशी अस्पतालको शरण पर्नुपर्दछ,
र जहाँ सरस्वतीकी एक्ली छोरीले
बिना उपचार बैंसमै कुँजिएर जीवन बिताउनुपर्दछ,
जहाँ गाइडले टुरिष्टलाई
नेपालको विदेशलाई देन सम्झाउँछ
र बिदाको बेलामा उससित उसको
विदेशी क्यामराको देन माग्दछ,
जहाँ तन्नेरीहरु
किल्ला काँगडा र नालापानीको गीत गाउँदै
अब कवाज खेल्छन्
टाई र कोटको कलरमा खुकुरी भिरेर
यो देशमा मलाई भन्न कर लाग्छ
आफ्नो मुटु चिरेर
कि ए मेरो देशवासीहरु हो
ए मेरो देशका राष्ट्र-कविहरु हो
ए मेरा देशका सम्माननीय नेताहरु हो
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो
अंशबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरुमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो ।
(२०२४-रूपरेखा)