यसरी लुकाइयाे सेन राजाकाे इतिहास

रिपोर्ट नेपाल | 2020 Aug 27 | 12:53 pm 7885

  • बसन्त भुजेल

इतिहास र पुराण जित्नेहरुको पक्षमा लेखिएको हुन्छ । पराजित प्रति ज्यादै निर्ममरुपमा प्रस्तुत भएको पाइन्छ इतिहास र पुराण । नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि सेन राज्यको इतिहास मेटाउने प्रयास गरिएको छ । जित्ने पक्षले हार्ने पक्षको जरो समेत उखेलेर नाम निशान मेटाउने प्रयास गरेको पाइन्छ । सेन राज्यको सन्दर्भमा पनि त्यस्तै भयो । नेपाल एकीकरण अघि यस भूखण्डमा सबै भन्दा ठूलो, आर्थिक रुपले सम्पन्न भनेको सेन राज्य नै थियो । बास्तवमा नेपाल एकीकरण समयको माग तथा आवश्यकता थियो । यो माग गोर्खालीहरुले पुरा गरे, तर पूरा गर्ने नाममा सेन राजा तथा तिनका खलकहरुको नामोनिशान मेटाउने प्रयास भयो । इतिहासकार डा. राजाराम सुवेद्धीका अनुसार सेन राजाका खलकलाई खोजीखोजी पक्रेर दास बनाइयो । जो दास बन्न मानेनन् उनीहरुलाई मारियो । कोहीकोही भागेर जंगलमा अलप भई आफ्नो जात तथा थर बदलेर बसे । जसमध्ये एकथरी बाग्लुङको भुजिखोलाको जंगलमा गएर लुके । त्यहीँका स्थानीयसँग मिसिएर भुजेल बने । अहिले पनि त्यहाँ सेन र निस्याल गरी दुई किसिमका भुजेलहरु छन् । स्थिति अली साम्य भएपछि तिमध्ये सेन भूजेलहरु आज भन्दा सात पुस्ता अघि गुल्मीको तम्घासमा आएर बसे । जसलाई भुजेलखर्क भनिन थालियो ।

पाल्पाको दोभान भन्ने ठाउँमा करिव एक हजार वर्ष पुरानो सेनहरुको अभिलेख फेला परेको छ । पाल्पामा विशाल राज्य स्थापना गर्नु भन्दा अघि सेनराजाको राजधानी ढोरपाटन क्षेत्र थियो । तराई तथा पूर्वी सिक्किमसम्मको भूभागमा राज्य विस्तार भएपछि सेनहरुले ढोरपाटन छाडेर पाल्पालाई राजधानी बनाएको पाइन्छ ।

वर्तमान नेपाल भन्दा त्यतिबेलाको सेनराज्य ४ गुणा ठूलोरहेको अभिलेख पाइन्छ । पश्चिम र दक्षिण तर्फ गंगा नदी एवं पूर्वतर्फ वह्मपुत्र नदीसम्म सेनराज्य विस्तारित थियो । उत्तर तर्फ २२ से २४ से तथा नेपाल राज्यहरु थिए तर यी राज्यहरुको खटनपटन पनि सेन राजाहरुकै अधिनमा थियो । कालान्तरमा सेन राजाले आफ्ना भाई छोरामा बाँढेर राज्य टुक्र्याए । पाल्पा ,तनुहँ र मकवानपुर गरी तीन राज्यमा बाँढियो । सेन राजाहरु आपसमा द्धन्दगर्न लागे । मोजमस्तीमा रमाए । यो देखेपछि सेनराज्यका भाई भारदारहरुले नै एककिरणका लागि गोरखाका राजा पृथ्वीनारायण शाहलाई अभिप्रेरित गरेको पाइन्छ ।

लमजुङका राजकुमार द्रब्य शाह कसरी गोरखाका राजा बने, भन्ने कुरामा पनि इतिहास लेखनमा केही झेल भएको पाइन्छ । बास्तवमा गोर्खा पनि सेन राज्यकै अधिनमा थियो । द्रब्य शाहले सेन राजाकी छोरी बिबाह गरेपछि गोरखा राज्य दाइजो बापत प्राप्त गरेका थिए । राज्य मात्रै होइन सेन राज्यले आफ्नी राजकुमारीका साथमा विद्धान गुरु पुरोहित तथा भारदार पनि पठाएका थिए । द्रव्य शाहका राजगुरु सेनराज्य अन्तरगतको इस्माका नारायणदास अज्र्याल थिए ।

शाह वंशावलीअनुसार गोरखाली राजाहरूको सेन राजाका छोरीहरूसित बिहावारी चलेको देखिन्छ । द्रव्य शाहका नाति राम शाहको विवाह मुकुन्द सेनका साहिँला छोरा भृङ्गीसेनकी नातिनी विष्णावती (नयनावती) सित भएको थियो । पृथ्वीनारायण शाहका बाबु नरभूपाल शाहकी आमा तनहुँका राजा दामोदर सेनकी छोरी (मल्लिकावती) देखिन आउँछिन् । नरभूपाल शाहको जन्म तनहुँमा नै भएको थियो । नरभूपाल शाहका विवाहित चार जना रानीहरू र दुई जना भित्रिनी रानीहरू थिए । नरभूपाल शाहको दोस्रो विवाह पाल्पा राज्यका राजा गन्धर्व सेनकी छोरी कौशल्यावती (जेठी रानी खाँचीकी राजकुमारी चन्द्रप्रभावतीकी फुपूकी छोरी) सित भयो भने चौथो विवाह तनहुँकी राजकुमारी शुभद्रावतीसित भयो । आफ्ना कान्छा मामा पाल्पाका युवराज उद्योत सेन तीर्थाटनको क्रममा गोरखा पुगेपछि भएको बातचित–छलफलको क्रममा ‘यसको सवार भन्या को ताजि तुर्कि घोडा हो यसको सवार गर्या चाँडो होला भन्या जस्तो लाग्छ’ भन्ने अर्ती पृथ्वीनारायणले पाएका थिए ।

पृथ्वीनारायण शाहको पहिलो विवाह करिब १५ वर्षको उमेरमा वि.सं. १७९४ मा मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भयो । पृथ्वीनारायण विसं १७९९ मा गोरखाको राजा भएपछि ससुरा हेमकर्ण सेनले ज्वाइँको जिजिविषालाई हौसला दिने उद्देश्यले भारततिरका दक्ष कारिगर झिकाई एक वर्षसम्म परिश्रमपूर्वक तयार पारेको जेठी तरवार एउटा आफूसँग राखी अर्को ज्वाइँं पृथ्वीनारायणलाई पठाइदिएका थिए । त्यस्तै दोस्रो विवाह वि.सं. १७९६ मा गोरखपुर र बनारसको बीचमा विहार प्रान्तको पश्चिम आरा जिल्लाका अहिमान सिंह राजपुत (न्वारानको नाम (दयाराम सिंह) की छोरी नरेन्द्रलक्ष्मीसित भयो । पृथ्वीनारायण शाहका ज्येष्ठ सुपुत्र प्रतापसिंह शाहको विवाह पाल्पाका राजा मुकुन्द सेन (द्वितीय) की छोरी राजकुमारी राजेन्द्रलक्ष्मीसँग भएको थियो भने द्वितीय सुपुत्र बहादुर शाहको विवाह पाल्पाका राजा महादत्त सेनकी छोरी विद्यालक्ष्मीसित भएको थियो ।

राजेन्द्रलक्ष्मीको नायवीकालमा गोरखाले पूर्वतर्फ एककिरण अभियान बढाइरहेका बेला लमजुङले गोर्खालाई आफ्नो कब्जामा लियो । आफ्नी विधवा छोरीलाई हेपेको महशुस गर्दै पाल्पाका राजा मुकुन्दसेन द्धितियले ठूलो फौज मद्धतका लागि पठाए । त्यो फौजले लमजुङका राजालाई लख्टैदै कास्की पुर्यायो । पर्वत पुरयायो । लमजुङ, कास्की र पर्वतलाई मद्धत गर्न आएका २२ से २४ से राज्यहरु सँग गोर्खालीको घमसान युद्ध भयो । यदी पाल्पाको साथ नपाएको भए गोर्खालीले युद्ध हार्नेअवस्था थियो । तर पाल्पाको साथ पाएका कारण गोर्खाली फौजले २२ से २४ से फौजलाई पराजित गर्दै डोटी र जुम्ला सम्म पुग्यो ।
राज्य एकीकरणका क्रममा पृथ्वीनारायण शाहले सेन राज्यको उत्तरी क्षेत्रमा मात्रै अधिकार जमाउँदै गए । नेपाल एकीकरणपछि सेन राज्यहरूको दक्षिणी क्षेत्र स्वतः अंग्रेजको अधीनमा गयो । पूर्वी पहाड, पश्चिम पहाडको तल्लो क्षेत्र तथा तराईमा तीनवटा सेन राज्य थिए । पाल्पा राजधानी रहेको सेनराज्य लगभग गोरखपुरसम्म थियो । तनहुँ नाम गरेको सेनराज्यको हिउँदे राजधानी हाल भारतमा पर्ने बेतिया रामनगरमा थियो । मकवानपुर र विजयपुर नाम गरेका सेनराज्यहरू दक्षिणतर्फ गंगानदीसम्म फैलिएका थिए ।

चुरेभन्दा दक्षिणको जंगल र जंगलदेखि दक्षिणको सानो आवादी क्षेत्र मात्रै नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह तथा उनका छोराबुहारीहरूले आफ्नो सरहदभित्र पारेको देखिन्छ । उनका नाति रणबहादुर शाहको पालामा नेपालले अंग्रेजसँग युद्ध हार्यो । युद्ध हारेपछि सुगौली सन्धि भयो । सुगौली सन्धिका क्रममा नेपालको चुरेभन्दा दक्षिणकको सम्पूर्ण क्षेत्र, महकालीदेखि पश्चिम सतजलसम्मको र मेचीदेखि पूर्व टिष्टासम्मको सम्पूर्ण क्षेत्र अंग्रेजको हातमा पुग्यो । केही वर्षपछि दाङदेखि बुटवलसम्म र पर्सादेखि झापासम्मको तराई क्षेत्र अंग्रेजहरूले फिर्ता गरे । जंगबहादुर राणाको पालाका बाँकेदेखि महाकालीसम्मको तराई क्षेत्र पनि अंग्रेजहरूले नेपाललाई फिर्ता गरे ।

ऐतिहासिकतातर्फ जाने हो भने नेपाल राज्य एकीकरण तथा विभाजनका अनेक चरणमा गुज्रिएको छ । महाभारतकालीन नक्सा हेर्ने हो भने यस भूखण्डमा पूर्वतर्फ नेपाल र पश्चिमतर्फ उत्तराञ्चल गरी दुईवटा शक्तिशाली देश रहेको देखिन्छ । त्यो नक्सा काल्पनिक हो या यथार्थतामा आधारित हो ? यसै भन्न सकिने अवस्था छैन । महाभारत कालभन्दा अघिल्लो युगमा यही भूखण्डमा जनकपुर राज्यको अस्तित्व रहेको पौराणिक ग्रन्थमा उल्लेख छ । सबैभन्दा पुरानो ग्रन्थ वेदमा नेपालको नाम उल्लेख भएको पण्डितहरू बताउँछन् । तर पौराणिक ग्रन्थमा उल्लेख गरिएका कुराहरूले मात्रै पुष्टि गर्दैनन् ।

बास्तवमा भन्ने हो भने सेन राज्यहरुले जति सरहद ओगटेका थिए ती सरहद स्वतः नेपालका हुन् । किनकी सेन राजाहरुले नेपालको अधिपत्य स्वीकारेका थिए । त्यतिहुन नसके पनि सुगौली सन्धी पूर्वको सरहद हामीले दावी गर्नु पर्छ । किनकी सुगौली सन्धी बेलायतसँग भएको हो । बेलायतले दक्षिण एशिया छाडेपछि सुगौली सन्धी स्वतः खारेज भएको छ । सेन राज्यका भूभाग फिर्ता पाउन त गारै होला तर कुशल राजनेता मुलुकले पाउने हो भने सुगौली सन्धी अघिको भूभाग फिर्ता गर्न सकिन्छ । यो मामिलामा बेलायत पनि कन्भिन्स हुन सक्छ । किनकी हाम्रा नक्सा तथा प्रमाणहरु बेलायतको पुस्तकालयमा अहिले पनि सुरक्षित छन् । यही आधारमा हामीले संयुक्त राष्ट्र संघलाई झकझक्याउन सक्नु पर्छ । यतिबेला यस्तो मौका आएको छ । भारतले पनि यो कुरा बुझेको छ । कुनैपनि छिमेकी सँग भारतको राम्रो सम्वन्ध छैन । नेपाल सँगको सम्वन्ध नविग्रियोस् भन्ने भारतीय जनताको चाहना छ । यदी नेपाल माथि अन्याय भएको यथार्थता भारतीय जनता तथा त्यहाँका विद्धानहरुलाई बुझाउने हो भने उनीहरुले नै आफ्नो देशको सरकारलाई दबाव दिन सक्छन् , नेपाल माथि अन्याय नगर भनेर ।

किनकी नेपाल र भारतबीच जनस्तरमा अत्यन्त राम्रो सम्वन्ध छ । सरकारले नाकावन्दी लगाउँदा समेत भारतीय जनताले लुकाई छिपाई नेपाली जनतालाई अत्यावश्यकीय सामान उपलव्ध गराउने गरेका छन् । यो मौका हामीले गुमाउनु हुन्न । हामी एक ढिक्का हुनु जरुरी छ । अरु मामिलामा मत भिन्नता राखे पनि राष्ट्रियताको मामिलामा मत भिन्नता नराखौं । आपसमा मत भिन्नता भयो भने जति सुकै ठूलो र समृद्ध राष्ट्र होस् त्यसको पतन निश्चित छ । त्यति बिसाल सेन राज्य कसरी पतन भयो ? त्यति सानो गोर्खा राज्य कसरी बलियो भयो ? भन्ने प्रश्नको उत्तर खोज्यौं भने मात्रै पुग्छ । किनकी गोर्खाका एउटै राजा थिए , तर सेन राज्यमा तीन वटा राजा थिए , तत्कालिन नेपालमा पनि ( काठमाडौं, ललितपुर, भक्तपुर) तीन राज्य थिए । यतिबेला नेपालमा सिद्धान्ततः गणतन्त्र आए पनि व्यवहारतः धेरै राजाहरु छन् । धेरै राजा हुँदा देश कमजोर हुँदो रहेछ , त्यसैले एउटा मात्रै राजा कायम राखी देशलाई अघि बढाउनु पर्दछ । तब मात्रै देशले छलाङ मार्छ ।

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.