पत्रिकाको कार्यालयमा गोली प्रहार, ५ को मृत्यु

रिपोर्ट नेपाल | 2018 Jun 29 | 09:28 am 2900

अमेरिका, असार १५: अमेरिकाको म्यारिल्याण्ड राज्यका प्रहरीहरूले भनेका छन् एउटा दैनिक पत्रिकाको कार्यालयमा भएको बन्दुक आक्रमणमा कम्तीमा ५ जना मानिसहरू मारिएका छन्। अन्य केही घाइते भएका छन्। संदिग्ध हमलाकारीलाई एक जना श्वेत पुरुष भनेर चिनाइएको छ र उनलाई प्रहरीले नियन्त्रणमा लिएका छन्।

क्यापिटल गजेट अखबारका एक जना सम्वाददाताले बन्धुकधारीले अखबारको कार्यालयको सिसाको ढोकाबाट गोली चलाएको भन्दै ट्वीट गरेका छन्। राष्ट्रपति ट्रम्पकी सञ्चार अधिकारी सेराह सेन्डर्सले हत्याको निन्दा गर्दै निर्दोष पत्रकारहरूविरुद्धको आक्रमण अमेरिकामाथिको आक्रमण भएको प्रतिक्रिया दिएकी छन्।

एनापोलिस स्थित क्यापिटल गजेट भवनभित्र रहेका कर्मचारीहरूले बन्धुकधारीले सिसाको ढोका बाहिरबाट समाचार कक्षमा गोली चलाएको जानकारी दिएका छन्। हालै समाजिक सञ्जालमार्फत उक्त अखबारलाई हिंसात्मक आक्रमण गर्ने धम्की दिइएको थियो।

प्रहरीले योजनाबद्ध रूपमा आक्रमण गरिएको उल्लेख गरेको छ। म्यारिल्याण्डमा बस्ने ३० वर्षका एक जना गोरा पुरूषलाई पक्राउ गरी उक्त हमलाका बारेमा सोधपुछ गरिदैँछ। उनले प्रहरी अधिकारीहरूलाई असहयोग गरिरहेको विवरण आएका छन्।

उनले आफ्नो पहिचान नखुलोस भनेर आफ्नो औलाँको टुप्पोमा क्षति पुर्‍याएको स्थानीय समाचारहरूले उल्लेख गरेका छन्। उनले बोकेको झोलाबाट नक्कली ग्रिनेड फेला परेको बताइएको छ। प्रहरीले उनले ठूलो आकारको बन्दुकको प्रयोग गरेको जनाएका छन् तर विस्तृत विवरण दिएका छैनन्। बीबीसी

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.