काठमाडौँ, माघ १२ : रोहितकुमार पौडेलले अर्धशतक बनाएपछि नेपालले युनाइटेड अरब इमरेट्स ९यूएई०विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जितका लागि २ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबई स्थित आईसीसी एकेडेमी ओभलमा नेपाका कप्तान पारस खड्काले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४२ रन बनाएको छ ।
नेपालका ओपनर ज्ञानेन्द्र मल्ल र विनोद भन्डारीले पहिलो विकेटका लागि ६१ रनको साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलतर्फ लम्किएको थियो । ज्ञोन्द्र मल्ल ४४ रन बनाएर आउट भएपछि नेपालको इनिङ पूनः धर्मरायो ।
१९औं ओभरको तेस्रो बलमा ज्ञानेन्द्र आउट हुँदा नेपाल ७०–२ को अवस्थामा थियो । त्यसपछि थप ४३ रन जोड्नेक्रममा नेपालले तीन विकेट गुमायो । पारस २१, दीपेन्द्रसिंह ऐरी १०, पवन सर्राफ ८ रन बनाएर पवेलियन फर्किए । त्यसअघि ओपनर विनोद २१ रन बनाएर आउट भएका थिए ।
तर रोहितकुमार पौडेल र आरिफ शेखले छैटौं विकेटका लागि ८२ रनको साझेदारी गरेपछि नेपाल २ सय रनको योगफल कटाउन सफल भएको थियो । रोहितकुमारले ५५ रन बनाउँदा आरिफले २९ रन बनाए । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका रोहितकुमारको यो पहिलो अर्धशतक हो ।
करण केसीले १८ रन बनाउँदा सोमपाल कामीले २ रन बनाए । शुक्रबार सोमपाल ‘टु डाउन’ मा ब्याटिङका लागि गए पनि आज उनलाई तल्लोक्रममा ब्याटिङ गराइएको हो । सन्दीप लामिछाने १४ र ललितनारायण राजवंशी ३ रनमा अविजित रहे । नेपालका ज्ञानेन्द्र र पारस एकदिवसीय अन्तर्राष्ट्रियमा १ सय रन पूरा गरेका छन् ।
यूएईका अमिर हायत र इमरान हैदरले समान ३ विकेट लिँदा कप्तान मोहम्मद नाभीद, जहूर खान, र अशफाक अहमदको नाममा १र१ विकेट रह्यो ।
शुक्रबार कमजोर ब्याटिङ प्रदर्शनका कारण पहिलो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालले युएईलाई तीन विकेटको नतिजा सुम्पिएको थियो । तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृखला नेपाल १–० ले पछाडी छ ।
नेपालले आज एक बलरको स्थानमा ब्याट्सम्यान थपेको छ । अनुभवी स्पिनर बसन्त रेग्मीको स्थानमा रोहितकुमार पौडेलले स्थान बनाएका छन् । १–० ले पछि परेको अवस्थामा तीन एकदिवसीय शृंखला जोगाउन नेपाललाई आज जित्नैपर्ने हुन्छ । नेपालले यूएई भ्रमणमा ३ एकदिवसीय अन्तर्राष्ट्रिय र ३ ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ ।