काठमाडौं, असोज २६: मदन पुरस्कार गुठीले उपन्यासकार नीलम कार्की ‘निहारिका’लाई मदन पुरस्कार र शान्तदास मानन्धरलाई जगदम्बाश्री सम्मान प्रदान गरेको छ। मदन पुरस्कार गुठीले बालसाहित्यको विकास, विस्तार तथा प्रवर्धनका लागि पाँच दशकसम्म योगदान पुर्याएकाले’ मानन्धर र ‘योगमाया’ उपन्यासका लागि कार्कीलाई क्रमश: २०७४ को जगदम्बाश्री र मदन पुरस्कार विहीबार भव्य समारोहको आयोजना गरी प्रदान गरेको हो।
जगदम्बा श्री पुरस्कार ग्रहण गरेपछि मानन्धरले बालबालिका नै आफ्नो प्रेरणाको स्रोत भएको बताए। उनले भने, ‘म बालबालिकाहरुसित राम्ररी नजिक हुन पाए र मैले उहाँहरुको विषयमा नजानेका र नदेखेका धेरै राम्रा कुराहरु देख्न र जान्न थाले।’
उनले बालबालिकाहरुको लागि चित्रकला असाध्यै प्रभावकारी माध्यम भएकाले स्कुलमा आफूले पढाउँदा त्यही भावमा बालबालिकाहरुसँग हुर्किएकाले यस क्षेत्रमा सेवा गर्न भित्रि हृदयबाट अठोट लिएको बताए। उनले पहिला अंग्रेजी भाषामा स-सना निबन्धहरु लेखेर तयार पारेको र गोपालप्रसाद रिमालको आग्रहपछि नेपाली भाषामा लेख्न थालेको आफ्नो अनुभव सुनाए।
यस्तै कार्यक्रममा बोल्दै योगमायाकी लेखिका निलम कार्की निहारिकाले पुरस्कारले आफूलाई थप जिम्मेवारी बोध गराएको बताइन्। उनले कार्यक्रममा आफूलाई योगमायाको इतिहासलाई पानामा उतार्न साहित्यकार दाहाल यज्ञनिधिको महत्वपूर्ण भूमिका र आशिर्वाद रहेको उल्लेख गरिन्।
उनले भनिन्, ‘ योगमाया लेख्न मेरो गुरु दाहाल यज्ञनिधिको महत्वपूर्ण भूमिका रह्यो। उहाँले मलाई योगमायाको गृहकार्यको निम्ति अली कठिन पाठ सुझाउनु भएको थियो।मैले सहर्ष स्वीकार गरी इमान्दारीपूर्व खोज अनुसन्धान गरी गृहकार्य गरेर पाठ बुझाएँ। तर दुर्भाग्य आज योगमायाले पुरस्कार पाउँदा उहाँ यस दुनियाँमा रहनु भएन।’
परिवारको सडक दुर्घटना ज्यान गुमाएको परिवार दाजु डा. देवेन्द्र कार्की, बुबा भद्र बहादुर कार्की र भाउजू कौशिल्या देवीलाई सम्झिइदै बोल्दाबोल्दै भावुक भएकी थिइन्। उनले अन्तिममा योगमायाको नाममा सम्बोधन गर्दै भनिन्, ‘ योगमाया तिम्रो जीवनका केही पाटा, तिमी र तिम्रा अनुयायीले दिएको महान् योगदानलाई मैले लिपिबद्ध गर्ने प्रयास गरे। योगमाया शीर्षकमा पुस्तकको स्वरुप दिएँ। सहर्ष जानकारी गराउनु चाहुन्छु। तिम्रो सुनौलो नाम अंकित ‘योगमाया’ले प्रथमत: पाठकको स्नेह प्राप्त गर्यो, अनि नेपाली साहित्य जगतको अति नै गर्विलो पुरस्कार -मदन पुरस्कारबाट पनि आज पुरस्कृत हुन सफल भएको छ।’ उनले आफू कही समय योगमाया भएरै बाँचेको पनि अनुभव समारोहमा सुनाएकी थिइन्।
निहारिकाको ‘योगमाया’ मदन पुरस्कारका लागि छनोटमा परेका आठवटा पुस्तकमध्येमा परेको थियो। छनोटमा परेका पुस्तकमा ध्रुवसत्य परियारको ‘कैरन’, सरस्वती प्रतीक्षाको ‘नथिया’, तीर्थ गुरुङको ‘पाठशाला’, यज्ञशको ‘भुइयाँ’, नयनराज पाण्डेको ‘यार’, नीलम कार्की ‘निहारिका’ को ‘योगमाया’, राज माङ्लाकको ‘लिम्बूनी गाउँ’ र मोहन वैद्य ‘किरण’ को ‘हिमाली दर्शन’ थिए।
यस्तै कार्यक्रममा प्रकृतिविद् तीर्थबहादुर श्रेष्ठले नेपालको भौगोलिक र प्राकृतिक अवस्थालाई नजिकबाट नियालेर नेतृत्वकर्ताहरुले हेर्न नसकेको बताए। उनले भने, ‘ हामीले हिमाल पहाड र तराईलाई अझ नियालेर हेर्न र बुझ्न सकेनौ। किनकी तिनका प्रकृति, तिनका परिवेश र तिनका प्रवृतिसम्म विकास निर्माणमा कहिल्यै ध्यान दिएनौ। फलस्वरु हाम्रो राष्ट्रको भौतिक स्थिरतामा संकट आउन थालिसक्को छ।’
उनले नेपाल विकास नहुनुमा देशका लक्का जवानहरुलाई खोरियाबाट कोरिया श्रमका निम्ति बेचिरहेको पनि औल्याए। उनले भने, ‘ खोरियाबाट लठुवा, लक्का जवानहलाई कोरिया, खाडी पठायौ भने के हाम्रो देशको कृषि, वाणिज्य र सेवामा गुणस्तरीयता खोजेर पाउँछौ ? कदापि पाउँदैनौ। हामी एक त प्रकृतिलाई मासिरहेका छौ। अर्को युवाहरु पनि मासेर रेमिटेन्समा रमाएका छौ। जुन देशका लागि ‘विनाश काले विपरीत बुद्धि’ चरितार्थ भइरहेको छ।’