निजगढ विमानस्थलका लागि रुख नकाट्न सर्वोच्चको अन्तरिम आदेश

रिपोर्ट नेपाल | 2019 Dec 22 | 06:06 pm 633

काठमाडौं, पुस ६ : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निजगढ विमानस्थलको रुख काट्ने काम तत्काल अगाडि नबढाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश कुमार रेग्मीको संयुक्त इजलाशले विमानस्थल निर्माणका क्रममा रुख काट्ने काम तत्काल अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।

विमानस्थल निर्माणका क्रममा आवश्यकता भन्दा बढी रुख काट्न लागिएको र त्यसले वातावरणीय असर गर्ने भन्दै रञ्जु पाँडे क्षेत्री लगायतले उत्प्रेषणको माध्यमबाट अन्तरिम आदेशको माग गरी रीट दायर गरेका थिए ।

मंसिर १७ गते रीट दर्ता गरिएकामा आइतबारको संयुक्त इजलाशले विमानस्थल निर्माणका लागि रुख काट्ने काम तत्काल अगाडि नबढाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले रातोपाटीलाई बताए ।

यही सम्बन्धमा थप रिट पनि परेको भन्दै सबै रिटहरुलाई एकैसाथ राखेर सुनुवाइ गर्न र रुख काट्ने काम तत्काल अगाडि नबढाउन अन्तरिम आदेश जारी भएको हो ।

यसअघि अदालतले सरकारको तर्फबाट लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । यद्यपि सरकारले अझैसम्म पनि अदालतमा लिखित जवाफ पेश गरेको छैन । सरकारको लिखित जवाफ आएपछि अन्य रिटलाई पनि सँगै राखी सुनुवाइ गर्ने गरी हाललाई अन्तरिम आदेश जारी भएको सञ्चारविज्ञ पौडेलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.