त्रिविमा अनलाइन परीक्षा फाराम भर्न र मार्कसिट आफैँले प्रिन्ट गर्न पाइने

रिपोर्ट नेपाल | 2019 Apr 06 | 06:22 am 963

काठमाडाैं चैत्र २३ : त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थीले अनलाइनमार्फत भर्ने व्यवस्था गर्ने भएको छ । स्नातक तह प्रथम वर्षको परीक्षाको फाराम अनलाइनमार्फत् भर्ने व्यवस्था गर्ने परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

‘अब स्नातक तह प्रथम वर्षका विद्यार्थीको परीक्षा फाराम अनलाइनमार्फत भर्ने व्यवस्था गरेका छौँ”, उनले भने, “अहिले स्नातक तह प्रथम वर्ष पढिरहेका विद्यार्थीले अनलाइनमार्फत् फारम भर्ने छन् ।” अहिले क्याम्पसले नै भरिदिने व्यवस्था गरेको अनलाइन फाराम विद्यार्थीले आफैँले भर्नसक्ने छन् । अनलाइनमार्फत् भरेका परीक्षा फारामको प्रवेश पत्र आफैँ प्रिन्ट गरेर लिन सक्ने उनले बताए ।

“अनलाइनमार्फत् भरेको फाराममा रहेको प्रवेशपत्र प्रिन्ट गरेर परीक्षामा सहभागी हुन पाउने व्यवस्था गर्दैछौँ”, उनले भने, “प्रवेशपत्रसँगै फोटोसहितको रजिष्ट्रेशन स्लिप अनिवार्य लैजानु पर्दछ ।”

मार्कसिट आफैँले प्रिन्ट गर्न पाउने

यसैगरी पनिकाले विद्यार्थीको मार्कसिटको क्याम्पसले प्रिन्ट गरेर दिन सक्ने व्यवस्था गर्न थालेको छ । नयाँ वर्षदेखि लागू हुने गरी स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई क्याम्पसले प्रिन्ट गरेर मार्कसिट दिने व्यवस्था गर्न थालेको परीक्षा नियन्त्रक जोशीले बताए ।

ट्रान्सक्रिप्टमा स्टार चिह्न नहुने

त्रिविले अबदेखि ट्रान्सक्रिप्टमा अनुत्तिर्ण भएको विषयमा तारा (स्टार) चिह्न नराख्ने भएको छ । त्रिवि प्राज्ञिक परिषद्ले अनुत्तिर्ण भएको विषयसहितको ट्रान्सक्रिप्टमा स्टार चिह्न नराख्ने निर्णय गरेसँगै स्नातक तह प्रथम वर्षका विद्यार्थीले यो सुविधा पाउने भएका छन् । ट्रान्सक्रिप्टमा तारा चिह्न राख्दा नराम्रो देखिने भएकाले त्यसलाई हटाउन थालेको जोशीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.