त्रिविको इतिहास विभाग रित्तिँदै

| 2018 Jul 28 | 09:01 am 1817

काठमाडौं, साउन १२ : २०१६ सालमा त्रिभुवन विश्वविद्यालय स्थापना भएसँगै सुरु भएको इतिहास विभाग ६ दशकपछि रित्तो भयो । दुई वर्षअघिदेखि विभागमा स्नातकोत्तर पढ्न एकजना पनि विद्यार्थी भर्ना भएका छैनन् । विभागमा हाल विद्यार्थीका नाममा विद्यावारिधि गरिरहेका दुईजना मात्रै छन् ।

केही वर्षयता सञ्चारमाध्यम र सार्वजनिक वृत्तमा इतिहासमाथि चासो बढिरहेको छ । इतिहासका विभिन्न आयाममा पत्रिका, टेलिभिजनदेखि सार्वजनिक मञ्चमा समेत चर्चा–परिचर्चा भइरहेको छ । इतिहासबारे सर्वत्र चासो बढिरहेका वेला विभागले एकजना पनि विद्यार्थी पाउन सकेको छैन । विभागका उतारचढाव लामो समय देखेका साक्षी हुन्, प्राध्यापक त्रिरत्न मानन्धर ।

उनको जीवनको लामो समय यही विभागमा बित्यो । उनले त्रिवि स्थापना भएको चार वर्षपछि २०२० सालमा विभागमा भर्ना भएर स्नातकोत्तर पढ्न थाले । त्यसवेला धेरै विद्यार्थी नभए पनि १२–१५ विद्यार्थी सधैँ हुने उनलाई सम्झना छ । स्नातकोत्तर सकेलगत्तै उनी त्यही विभागमा पढाउन थाले र शिक्षकका रूपमा विभागमै रहिरहे । ‘मैले यहाँ पढाउन थालेको ०२३ सालदेखि नै हो,’ उनी सम्झिन्छन्, ‘त्यसवेला पनि असाध्यै धेरै विद्यार्थी त हुँदैनथिए । तर, कम्तीमा बाह्र–पन्ध्रजना सधैँ हुन्थे ।’

उनी विद्यार्थी हुँदा र पढाउन थालेका केही वर्षसम्म इतिहास विभागमा विदेशी शिक्षकको दबदबा थियो । नेपाली शिक्षकहरू पार्ट टाइमर मात्रै थिए । शिक्षक–प्राध्यापक मात्रै होइन, विषय पनि सबै विदेशी थिए । मानन्धरको दाबी छ, उनको पुस्ताले नै इतिहास विभागमा रहेको विदेशी शिक्षकको दबदबा अन्त्य ग-यो । अनि, पाठ्यक्रममा पनि नेपाली इतिहासको बनायो । यसले गर्दा केही विद्यार्थी बढेका थिए ।

हामी अहिले पनि विभिन्न अनुसन्धान गरिरहेका छौँ, तर यसका लागि विश्वविद्यालयले बजेट दिँदैन । हामी कहिले कुनै दाताको भरमा, कहिले आफ्नै खल्तीको बजेट हालेर काम गर्छौँ । यसरी त काम गर्न सकिन्न नि
शंकर थापा, इतिहास विभाग प्रमुख

अहिलेका विभाग प्रमुख शंकर थापा विद्यार्थी हुँदा इतिहास विभागमा विद्यार्थीको आकर्षण बढेको थियो । थापा ०३३ सालमा यो विभागका विद्यार्थी थिए । त्यसवेला पनि त्रिविमा सेमेस्टर प्रणाली थियो । उनको सेमेस्टरमा ३० जनाभन्दा धेरै विद्यार्थी थिए । अझ उनीपछिको सेमेस्टरमा त ७० जना थिए । यो संख्या विभागको इतिहासकै ठूलो संख्या हो ।

त्यसवेला सेमेस्टर प्रणालीले निरन्तरता पाउन सकेन । त्रिवि फर्किएर वार्षिक प्रणालीमै गयो । संयोग कस्तो भयो भने चार दशकपछि त्रिविले फेरि सेमेस्टर प्रणाली सुरु गर्दा थापा इतिहास विभागका प्रमुख बनिसकेका थिए । यसपटक उनले विद्यार्थी हुँदाको जस्तो धेरै विद्यार्थी भन्ने गौरव भने गर्न पाएनन् । बरु, उनी प्रमुख भएकै वेला यो विभाग विद्यार्थीविहीन भयो । सेमेस्टर प्रणाली सुरु भएपछि केही समय थोरै भए पनि विद्यार्थी आएका थिए । यसपटकदेखि भने चारै सेमेस्टर खाली छन् । विभाग प्रमुख प्राध्यापक थापा भन्छन्, ‘दुई वर्षदेखि इतिहास विभागमा भर्ना हुन विद्यार्थी आएका छैनन् । अहिले इतिहास विभाग रित्तो छ ।’

जागिरे मनोविज्ञान बढ्यो, इतिहासमा आकर्षण घट्यो

विभाग प्रमुख थापा र पूर्वप्रमुख मानन्धर विभाग रित्तिनुको पहिलो कारण इतिहास पढेर जागिर नपाइनुलाई मान्छन् । उनीहरूको विचारमा सरकारले रोजगारमुखी विषयलाई प्राथमिकता दिन थालेपछि विद्यार्थीको आकर्षण नयाँ–नयाँ विषयमा हुन थाले । अनि, जागिर नपाउने इतिहासजस्तो विषय पढ्ने विद्यार्थीको संख्या बिस्तारै ओरालो लाग्न थाल्यो ।

मानन्धर भन्छन्, ‘इतिहासमा मात्र होइन, मानविकीका अरू विषयमा पनि विद्यार्थी घटे । पढ्ने नै जागिर खानका लागि हो भन्ने भयो । पढेर कहाँ जागिर खाने भन्ने प्रश्नको जवाफ नभएपछि विद्यार्थी कसरी आउँछन् ?’

मानन्धर विद्यार्थी हुँदाको समय बेग्लै थियो । पढेपछि जागिर पाइन्थ्यो । के पढेको भन्ने कुरै थिएन । त्यसैले जे पढे पनि राम्रो पढ्ने र धेरै अंक ल्याउने भन्ने हुन्थ्यो । तर, पछि पढालेखा मानिसको संख्या धेरै हुन थाल्यो । पहिलेजस्तो जागिर पाउन सजिलो भएन ।

०४६ को परिवर्तनपछि बनेका सरकारले उदारीकरणको नीति अख्तियार गरे । निजी क्षेत्रमै भए पनि रोजगारी पाइने हुनाले व्यवस्थापन र साइन्सजस्ता संकायमा विद्यार्थीको आकर्षण बढ्यो । मानविकीमै पनि जुनजुन नयाँ विषय आउँछन्, रोजगार बजारमा जुनजुन विषयको माग बढी हुन्छ, त्यता विद्यार्थीको ओइरो लाग्न थाल्यो । इतिहासजस्ता पुराना विभाग भने विद्यार्थी कुरेर बस्ने स्थितिमा पुगेको मानन्धरको विश्लेषण छ ।

विभाग प्रमुख थापा पनि मानन्धरसँग सहमत छन् । उनी भन्छन्, ‘जुन विषयमा रोजगारको सम्भावना हुन्छ, विद्यार्थीले त्यही विषय रोज्छ । यो स्वाभाविक छ । इतिहास पढेर कहाँ जागिर खाने भन्ने छैन । यसैले यो विषय विद्यार्थीको रोजाइमा पर्दैन ।’

मार्टिन चौतारीसँग आबद्ध अनुसन्धाता तथा विश्लेषक भाष्कर गौतम भने ‘जागिर नपाउने विषयमा विद्यार्थी आउँदैनन्’ भनेर मात्रै चित्त बुझाउन नहुने बताउँछन् । यसका लागि राज्यको शिक्षा नीति र यसले समाजमा निर्माण गरेको धारणा जिम्मेवार भएको उनको तर्क छ । ‘जागिर पाउने विषय विद्यार्थीले पढ्न चाहने भएकाले इतिहासमा विद्यार्थी भएनन् होला,’ उनी भन्छन्, ‘तर पढ्ने भनेको जागिर खान मात्र हो भन्ने धारणा कसरी निर्माण भयो ? कसले बनायो ?’

उनका अनुसार पञ्चायतकालीन शिक्षा नीतिकै कारण समाजमा यस्तो धारणा निर्माण भएको हो । ‘पढेलेखेको मान्छेले हलो जोत्दैन’ भन्ने उखान त्यसै वेला प्रचलनमा आएको हो । यसले पढेलेखेको मान्छेले अरूले जस्तो श्रम गर्दैन, टेबलमा बसेर कलम चलाउने जागिर मात्रै खान्छ भन्ने धारणा विकास भएको उनको भनाइ छ । ‘पढ्ने भनेको क्षमता विकास गर्न, ज्ञानको दायरा फराकिलो पार्न हो भन्ने चेतना विकास गरेको भए अहिले यो स्थिति आउने थिएन,’ गौतम भन्छन् ।

मैले यहाँ पढाउन थालेको ०२३ सालदेखि नै हो, त्यसवेला पनि असाध्यै धेरै विद्यार्थी त हुँदैन थिए । तर, कम्तीमा बाह्र–पन्ध्रजना सधैँ हुन्थे

नयाँ विभागको प्रभाव

त्रिविले कुनै विषयमा विद्यार्थीको आकर्षण बढ्नेबित्तिकै त्यसलाई अलग्गै विभाग बनाउने गरेकाले पनि राजनीतिशास्त्र, समाजशास्त्रलगायत मानविकीका अन्य विभागमा पनि विद्यार्थी घटेको प्राध्यापक मानन्धर बताउँछन् । इतिहास विभाग रित्तिनुमा त्रिविको यो नीति पनि जिम्मेवार रहेको उनको भनाइ छ ।

उनका अनुसार केही वर्ष पहिले समाजशास्त्र विभागमा विद्यार्थीको ठूलो भिडभाड रहन्थ्यो । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा गैरसरकारी संस्थाहरूमा पाइने जागिरका कारण यस्तो आकर्षण बढेको थियो । तर, यस्ता संस्थामा समाजशास्त्र पढेकाको माग घटेपछि त्यहाँ विद्यार्थी संख्या ओरालो लाग्न थाल्यो । अनि, नयाँ खुलेको ग्रामीण विकास विभागमा विद्यार्थीको चाप बढ्न थाल्यो । अहिले ग्रामीण विकासमा पनि विद्यार्थीको संख्यामा कमी आएको छ । तर, केही वर्षअघि सुरु भएको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा विद्यार्थीको आकर्षण बढेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध पहिले राजनीतिशास्त्र विभागमा पढाइ हुने एक विषय थियो । यसमा विद्यार्थीको आकर्षण बढेपछि यसलाई अलग्गै विभाग बनाइयो । अहिले अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा विद्यार्थीको चाप धेरै छ, तर राजनीतिशास्त्र विभागमा भने विद्यार्थीको संख्या घटेको छ ।

‘कुनै विषयमा विद्यार्थीको आकर्षण देख्नेबित्तिकै त्यसलाई नयाँ विभाग बनाउँदै जाने हो भने सबै पुराना विभाग राजनीतिशास्त्र विभागजस्तै हुन सक्छन्,’ मानन्धर भन्छन् । नयाँ विभाग खोल्ने विषय विद्यार्थीको आकर्षणका भरमा मात्र निर्णय गर्न नहुने उनको तर्क छ । सकेसम्म यस्ता विषयहरूलाई पेपरको संख्या बढाएर भए पनि पुराना विभागमै पढाउनुपर्ने उनी बताउँछन् । उनका अनुसार पहिले इतिहास विभागअन्तर्गत पर्यटन पनि पढाइ हुन्थ्यो । पछि यसलाई अलग्गै विभाग बनाइयो । त्यसैले इतिहासमा विद्यार्थी कम हुँदै गए । र, विभाग रित्तै भयो ।

पाठ्यक्रममै समस्या

इतिहास विभागले विद्यार्थीको संकट झेल्नु परेको विविध कारणमध्ये पाठ्यक्रम पनि एक हो । विश्वमा इतिहास लेखन वा अध्ययनले धेरै फड्को मारिसक्दा पनि त्यसको प्रभाव इतिहास विभागको पाठ्यक्रममा देखिन्न । किन त ?

विश्लेषक गौतम सम्भावित कारण औँल्याउँछन्, पहिलो, विभाग नयाँ विचार र व्यक्तिप्रति उदार हुन सकेन । विदेशका राम्रा विश्वविद्यालयमा इतिहास पढेका वा अरू विषयसँग जोडिएर इतिहास पढेर आएका व्यक्तिका लागि विभागको ढोका बन्द गरियो । विभागमा नयाँ प्रयोग गर्न खोज्ने, परिवर्तन गर्न खोज्ने जनशक्ति नै भएन । र, विभाग एकै किसिमका विचार बोक्ने शिक्षक, प्राध्यापकको थलो भयो । ‘यसले नयाँ विचार भएका जनशक्ति भित्र्याउन सकेन । पहिले जसरी चलिहेको थियो, त्योभन्दा फरक गर्न खोज्ने, बहस गर्ने मान्छे नै विभागमा भएन । नयाँ विषय, विचार, मान्छे नभएपछि कुनै पनि संस्था जीवन्त हुन सक्दैन,’ उनले भने ।

दोस्रो कारण हो, त्रिविको पाठ्यक्रम बनाउने पद्धति । के पढाउन आवश्यक छ भनेर होइन, संसारका राम्रा विश्वविद्यालयमा के पढाइन्छ भन्ने हेरेर पाठ्यक्रम बनाइन्छ । ‘हावर्ड वा अक्सफोर्डका जस्ता विषय त हामी पनि पढाउँछौँ भन्न पाठ्यक्रम बनाइन्छ । त्यो पाठ्यक्रम न यहाँको आवश्यकता र धरातलसँग मेल खान्छ, न त त्यस्तो पाठ्यक्रम पढाउन चाहिने जनशक्ति नै विश्वविद्यालयसँग हुन्छ,’ उनले भने ।

विभाग प्रमुख थापा भने विभागसँग स्तरीय जनशक्ति भए पनि त्रिविको नीति र बजेट नभएका कारण अनुसन्धान गरेर पाठ्यक्रम विकास गर्न नसकेको बताउँछन् । ‘हामी अहिले पनि विभिन्न अनुसन्धान गरिरहेका छौँ,’ थापा भन्छन्, ‘तर यसका लागि विश्वविद्यालयले बजेट दिँदैन । हामी कहिले कुनै दाताको भरमा, कहिले आफ्नै खल्तीको बजेट हालेर काम गर्छौँ । यसरी त काम गर्न सकिन्न नि ।’

अबको बाटो के ?

विभाग प्रमुख थापा निश्चिन्त छन्, विभाग रित्तो हुने अवस्था सधैं रहँदैन । विश्वविद्यालय र सरकारले केही पहल गरे फेरि विद्यार्थी आउँछन् र विभाग पुरानै अवस्थामा फर्किन्छ भन्ने उनको विश्वास छ । पूर्वप्रमुख मानन्धर भने इतिहास पढ्ने विद्यार्थीका लागि रोजगारीको अवसर सिर्जना गरे विभागमा विद्यार्थी बढ्ने बताउँछन् । पहिले लोकसेवा आयोगमा बढी खुला प्रतिस्पर्धा हुने, तर अहिले साधारण कामका लागि पनि विषय तोकेर विद्यार्थी माग्न थालेकाले समस्या बढेको बताए । राज्यले इतिहास अन्वेषण र अनुसन्धानको काम सघन बनाएर थप जनशक्तिलाई रोजगार सिर्जना गर्नुपर्ने उनको सुझाब छ ।

विदेशका विश्वविद्यालयमा सरकार तथा विश्वविद्यालयले नै बजेट उपलब्ध गराएर मानविकीका कतिपय विषयमा विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउने चलन छ । त्रिविमा अहिलेसम्म यो अभ्यास छैन । इतिहासजस्ता विषयका लागि यस्तो अभ्यास पनि आवश्यक भएको मानन्धर बताउँछन् । त्रिविको बृहत्तर पुनर्संरचना नगर्ने हो भने इतिहास विभाग बन्द हुने अवस्थामा पुग्ने निष्कर्ष विश्लेषक गौतमको छ ।

उनका अनुसार विश्वविद्यालय पढ्न जाने भनेको तीनवटा कुराका लागि हो । पहिलो, जटिल सैद्धान्तिक ‘टेक्स्ट’ पढ्न सिक्ने हो । दोस्रो, आपूmले पढेको विषयमा चिन्तन र विश्लेषण गर्न सिक्ने र तेस्रो, राम्रोसँग लेख्न सिक्ने हो । त्रिविमा इतिहास पढ्ने विद्यार्थीले यीमध्ये कुनै एक गुण पनि विकास गर्न नसक्ने उनको तर्क छ । ‘अनि यहाँ इतिहास किन पढ्ने ? यसको जवाफ नभएसम्म विद्यार्थी किन आउँछ ?’ उनको प्रश्न छ ।

त्रिविले विद्यार्थी नभएका विभाग बन्द गर्ने वा मिल्दोजुल्दो विभागमा गाभ्ने नीति लिएको छ । तर, विभाग प्रमुख थापा अहिले नै इतिहास विभाग बन्द नहुनेमा ढुक्क छन् । विभागमा भएकामध्ये तीनजना शिक्षक प्राध्यापकले एक–डेढ महिनाभित्र अवकाश पाउँदै छन् । दुईजनालाई विश्वविद्यालयले काजमा पठाएको छ । यसबाहेक पनि सातजना शिक्षक–प्राध्यापक विभागमा नियमित हुने उनले बताए ।

विभाग बन्द भए के हुन्छ ? भन्ने प्रश्नमा थापाले थपे, ‘तपाईंलाई म एउटा महत्वपूर्ण भनाइ सुनाउँछु– जसले इतिहास बिर्सन्छ, उसलाई वर्तमानले पनि चिन्दैन ।’ थापाकै भनाइसँग सहमत छन्, पूर्वप्रमुख मानन्धर । भन्छन्, ‘विभाग बन्द भए विश्वविद्यालयलाई धेरै असर नपरे पनि समाजमा इतिहास चेत भएका मानिसको संख्या घट्दै जाने, इतिहाससम्बन्धी काम गर्ने जनशक्तिको अभाव हुन्छ ।’

१० वर्षमा कहिले कति भर्ना भए ?

त्रिभुवन विश्वविद्यालय, इतिहास केन्द्रीय विभागको तथ्यांकअनुसार पछिल्लो १० वर्षमा इतिहास पढ्ने विद्यार्थीको संख्या क्रमशः घटदै गएको छ । २०६२ सालमा ३० जना विद्यार्थी भर्ना भएको विभागमा २०७२्/०७३ सम्म आइपुग्दा दुईजना विद्यार्थी मात्रै छन् । विभागको तथ्यांकअनुसार ०६३ मा केन्द्रीय विभागमा १२ जना विद्यार्थी भर्ना भएका थिए ।

त्यस्तै, ०६४ मा १९, ०६५ मा ५१ जना हुँदै ०६७ मा पुग्दा झरेर १६ जनामा सीमित भएको थियो । ०६८ मा ११ जना विद्यार्थी भर्ना भएकामा ०६९ मा विद्यार्थी निर्वाचनका कारण ९३ जना विद्यार्थी भर्ना भएका थिए । ०७० मा सातजना मात्र विद्यार्थी भर्ना भएकामा त्रिविमा सेमेस्टर प्रणाली सुरु भएपछि ०७१/०७२ मा ६ जना मात्र विद्यार्थी भर्ना भएका थिए । दुई वर्षअघिदेखि विभागमास्नातकोत्तर पढ्न एकजना पनि विद्यार्थी भर्ना भएका छैनन् । विभागमा हालविद्यार्थीका नाममा विद्यावारिधी गरिरहेका दुईजना मात्रै छन् । नयाँ पत्रिका दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.