नेपाली खेलकुदमा तेक्वान्दो खेलको गौरवमय इतिहास छ । यो खेलले विधान लामा, सविताराज भण्डारी, संगीना वैद्य र दीपक विष्ट जस्ता उत्कृष्ट खेलाडीहरु जन्माएर अन्तर्राष्ट्रियस्तरमा नेपालको झण्डा फहराउन अहम भूमिका निर्वाह गरेको छ । साथै ओलम्पिक खेलकुदको इतिहासमा छनौट चरण पार गरेर ओलम्पिकमा सहभागिता जनाउने संगीना वैद्य र दीपक विष्ट तेक्वान्दो खेलका देन हुन्। दुर्भाग्य, यिनै खेलाडीले दिलाएको ऐतिहासिक सफलताको ब्याजचाहिँ एकलौटी दीपराज गुरुङ्गले अहिलेसम्म खाइरहेका छन्।तेक्वान्दोलाई बाउको विर्ता सम्झेर।
चार दशकभन्दा बढीको समयदेखि निरन्तर रुपमा ढलिमलि गर्दै आएका दीपराजले अहिले तेक्वान्दोलाई न घरको न घाटको बनाइदिएका छन्। एशियाली खेलकुदको इतिहासमा रजत पदक जितेर ऐतिहासिक कीर्तिमान बनाएको तेक्वान्दो विगत चार एशियाडमा पदक विहिन बन्दा समेत तेक्वान्दोमा दीपराजको ढलिमली कायमै छ । उल्टै उनी पहिलेको भन्दा सवाशेर बन्दै गएका छन्। खेलकुदमा उनको अटेरीपन यतिसम्म बढेको छ कि उनी तेक्वान्दोलाई आफ्नो प्राइभेट कम्पनी जस्तै सम्झिन थालेका छन् । कहिल्यै अध्यक्ष नबन्ने तर अध्यक्षको काँधमा बन्दुक राखेर खेलाडीदेखि राखेपलाई समेत निशाना बनाउन उनले छोडेका छैनन्।
राखेपको कर्मचारी हुँदा नै तेक्वान्दो संघको पदाधिकारी बनेका दीपराजले तेक्वान्दो खेलाडीहरुको सफलतालाई आफ्नो व्यक्तिगत सफलता ठान्दै आएका छन् । तेक्वान्दोमा योगदान दिन सक्ने भन्दा चाकरी र चाप्लुसी गर्नेहरुलाई स्थान दिदै आएका दीपराजले यतिबेला तेक्वान्दोलाई पातालमा मात्र नभई रसातलमा पुर्याई दिएका छन् । र पनि उनको दम्भमा कुनै कमी आएको छैन । उनको यहि दम्भका कारण वर्षौंदेखि उनको सहयोगीको रुपमा काम गरेकाहरुले उनको साथ छोडिसकेका छन् । सहयोगिले साथ मात्र छोडेका छैनन्, खुलेआम दीपराजलाई चुनौंति दिदै उनको कार्यशैलीको खुलेर विरोध गर्न थालेका छन् । साथै दीपराजलाई तेक्वान्दोबाट नहटाएसम्म तेक्वान्दो अझ कमजोर बन्ने दाबी गरिसकेका छन्।
यस्तोमा दीपराजकै तानाशाहीका कारण विगतमा तेक्वान्दोले हासिल गरेको सफलता अहिले एकादेशको कथा जस्तै बनेको छ । बैङ्कक एशियाडमै एउटा रजत सहित दुई काश्य जितेको तेक्वान्दोले त्यसपछिका एशियाडमा त्यो भन्दा माथिको पदक जित्ने आशा होइन विश्वास गरिएको थियो । तर बुशान एशियाड र दोहा एशियाडमा काश्य पदक जितेर साख जोगाए पनि त्यसपछिका चार एशियाडमा पदक विहिन बन्न पुगेको छ । तेक्वान्दो पदक विहिन बन्नुमा दीपराज नै विशेष कारण हुन्। दीपराजले तेक्वान्दोमा चलाएको तानाशाही हावी भएपछि तेक्वान्दो आन्तरिकरुपमा विखण्डन भयो । एउटै प्रवृतिको अर्को तेक्वान्दो संघ राखेपमा दर्ता हुन पुग्यो । यहिबाट अघोगतितर्फ उन्मूख भएको तेक्वान्दो अहिले दयनिय अवस्थामा पुगेको छ । जसको मूल्य अहिले तेक्वान्दो खेलाडी र राज्यले चुकाउनु परेको छ।
१९ औं एशियाडमा तेक्वान्दोबाट राज्यले पदकको ठूलो आशा गरेको थियो । सोहि बमोजिम तेक्वान्दोका खेलाडीलाई थाइल्याण्ड र मलेसियामा बैदेशिक प्रशिक्षणको व्यवस्था समेत मिलाइएको थियो । तर एशियाडमा तेक्वान्दो खेलाडीहरुले जुन किसिमको प्रदर्शन गरे त्यसको वर्णन सायद शेष नागले पनि गर्न सक्तैनन् होला । सम्भावित पदक जित्ने लिस्टमा राखिएका केहि खेलाडीले त स्कोरिङ समेत गर्न सकेनन् । यसैबाट अनुमान लगाउन सकिन्छ, नाम तेक्वान्दो मात्र भएर हुँदैन, प्रदर्शन पनि त्यस्तै गरेर देखाउनु पर्छ । १९औं एशियाडमा तेक्वान्दो उत्कृष्ट प्रदर्शन गर्नबाट मात्र चुकेको छैन, आफ्नो साख अनुसारको प्रदर्शन समेत गर्न सकेको छैन। राखेपबाट सबैभन्दा सहयोग सुविधा लिने तेक्वान्दो खेलको यस्तो कमजोर प्रदर्शनपछि अब कुनैपनि बहानामा दीपराजसङ्ग नेगोशेसन गर्नु त्यो तेक्वान्दोको लागि घातक हुने पक्का छ।
१९औं एशियाडमा तेक्वान्दो पदक विहिन बनेपछि अत्तालिएका दीपराजले अहिले बजारमा नौंलो हौवा पिटाएका छन्। उनले यो भन्दा अघिका एशियाडमा आफुले तेक्वान्दोमा सेटिङ गरेर पदक जिताएको भन्दै पदक विजेता खेलाडीहरुको मानमर्दन समेत गरेका छन्। अब कुरा आउँछ, दीपराजको यस्तो हैसियत भएको भए विगत चार एशियाडमा तेक्वान्दो कसरी पदक विहिन बन्यो त? त्यसको जवाफ दीपराजले दिनुपर्ने छ । अन्यथा अथक मेहनतका बावजुद खेलाडीहरुले जितेको पदकलाई सेटिङ्गको संज्ञा दिएर दीपराजले खेलाडीहरुको ठूलो अपमान गरेका छन्। तसर्थ सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषदले यो बारेमा गम्भिर भई दीपराजलाई कानुनी कठघरामा उभ्याउनु जरुरी देखिएको छ।
(मेरोखेलबाट)
