उस्तै छन् द्वन्द्वपीडितका घाउ

रिपोर्ट नेपाल | 2018 Jun 15 | 03:37 pm 3339

  • लोकेन्द्र खनाल

रुकुम,असार १ : द्वन्द्वरत पक्षबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको ११ वर्ष पूरा भएको छ । शान्ति सम्झौता भएको एक दशक पुग्दा पनि यहाँका द्वन्द्वपीडितले शान्ति र राहत महसुस गर्न पाएका छैनन् ।

द्वन्द्वका बेला माओवादीबाट बलात्कृत भएकी खाराकी सरिता नाम परिवर्तितले राहतसमेत पाएकी छैनन् । उनको मानसिक अवस्था बिग्रँदो छ । आफ्नो उपचारमा समेत राज्य गम्भीर नभएको उनले बताइन् ।

त्यस्तै, महत–५, का सुबोध सेर्पालीको शरीरमा अझै गोली छ । तत्कालीन माओवादीका पूर्व लडाकू सेर्पालीलाई नेपाली सेनासँगको भिडन्तमा गोली लागेको हो । उनी राम्रोसँग काम गर्न सक्दैनन् ।

गोली शरीरबाट निकाल्न नसक्दा बेलाबेलामा उनलाई द्वन्द्वको सम्झना आउँछ । द्वन्द्व सम्झँदा उनको मन छियाछिया हुन्छ । “मैले देश र दुनियाँ बदल्न लडेँ,” उनले भने, “राज्यले मेरो जीवन बदलेन ।

” उनी जस्तै शरीरमा गोली भएका रन्मामैकोटका सुरुल पुनले पनि शान्तिको महसुस गर्न पाएका छैनन् । “मेरो शरीरमा गोली छ,” उनले भने, “बेलाबेला घाउ बल्झिँदा कसरी भुलुँ म द्वन्द्व ।” पुनको शरीरका ३५ ठाउँमा गोलीका छर्रा छन् ।

नेताहरु देश तथा विदेशमा उपचार गराउँछन् । द्वन्द्वका घाइते खोलागाउँका गोपालप्रसाद शर्माले भने, “हामीलाई उपचारमा बेवास्ता गर्यो ।” द्वन्द्वको उद्गम थलो यहाँबाट माओवादी नेता जनार्दन शर्मा, लोकेन्द्र विष्ट, गणेशमान पुन, दलजित सेर्पाली, कमला रोका, विमला केसी मन्त्री भए । उनीहरुले समेत द्वन्द्वपीडितको समस्याप्रति गम्भीर नभएको उनीहरुको आरोप छ ।

त्यस्तै, द्वन्द्वपीडितहरुले राहतसमेत पाउन सकेका छैनन् । राहत नपाउँदा आफ्नो समस्या अझै जटिल बनेको ओपेन्द्रलाल कामीले बताए ।

यहाँका द्वन्द्वपीडितले निर्दोष मान्छे पीडित भएको प्रति आफ्नो आपत्ति रहेको बताए । छानविनपछि दोषीलाई कारवाही गरिए आफ्नो घाउ सेलाउने उनीहरुको भनाइ छ ।

घाइते तथा अपाङ्गता भएका व्यक्ति राज्यबाट आफ्नो उपचार र रोजगारीको व्यवस्था हुनुपर्ने बताउँछन् । देश परिवर्तनकै लागि आफूहरुले दुवै आँखा गुमाउनुपरेको भन्दै नेपाली काँग्रेसका जिल्लास्तरीय नेता गोपालप्रसाद शर्माले भने, “म दुवै आँखा देख्दिनँ, कसरी जीवन चलाउँ ।

राज्यले मेरो पालनपोषण गर्नुपर्छ कि पर्दैन रु” । दुर्गा रावले केसीले आफ्नो श्रीमान्को लाससमेत देख्न पाइनन् । उनले सरकारी राहतभन्दा न्याय पाउने आशमा रहेको बताइन् ।

शिक्षक नर्जित बस्नेतको माओवादीले एउटा हात काटिदिए द्वन्द्वको बेला । उनी अहिले अशक्त जस्तै छन् । “दोषीलाई कानूनी कारवाही नहुँदासम्म मेरा घाउ निको हुँदैन” उनी भन्छन् – “द्वन्द्वको घाउ उस्तै छ ।

निको पार्न राज्यले सकेन ।” लडाइँ गरेर शान्ति प्रक्रियामा आएको माओवादी सरकारमा हुँदासमेत आफूहरुलाई बेवास्ता गरेको द्वन्द्वपीडितहरुको भनाइ छ ।

राहत र उपचार सेवाबाट वञ्चित उनीहरु देशमा राजनीतिक अस्थिरता कायमै रहँदा झनै पीडित छन् । राजनीतिक स्थिरता भए आफ्ना आफन्तले लिएको सपना पूरा हुने यहाँका द्वन्द्वपीडितको भनाइ छ ।

महँगी, भ्रष्टाचार, बेरोजगार समस्या अझ जटिल बन्दा आफन्तहरुको सपना पूरा नभएको नेपाली काँग्रेसका नेता प्रेमप्रकाश ओलीले बताए । उनका बुबा पनि द्वन्द्वका बेला शहीद भएका थिए ।

आफ्नो स्वार्थका लागि नेताले जनतालाई भुलेको यहाँका सर्वसाधारणको आरोप छ ।

करीब दुई दशकअघि तत्कालीन युद्धरत नेकपा माओवादीले खारा घटनामा ठूलो पराजय व्यहोर्नु पर्यो । सोही पराजयको जगमा उभिएर २०६२ मा चुनवाङ बैठकले युद्ध त्यागेर शान्ति प्रक्रियामा जाने निर्णय गर्यो ।

सोहीबमोजिम युद्धरत माओवादी र नेपाल सरकारबीच सात बुँदे शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो ।यहाँबाट माओवादीले युद्धको शुरुवात गरेको थियो ।

युद्धको अन्त्य पनि यहीँ बसेको बैठकबाट पारित भयो र शान्ति प्रक्रियामा गयो । द्वन्द्वमा मानवीय तथा धनजनको क्षति यो जिल्लाले पनि बेहोर्यो । कतिका सिन्दूर पुछिए, कति घाइते भए, कसैको अंगभंग भयो, कोही अभिभावकविहीन भए ।

कति आमाहरु छोरोको पर्खाइमा अझै जीवन कटाउन बाध्य छन् । युद्धले यहाँका हजारौँ जनताको मनमा घाउ बनाइदिएको छ र यो पुरिन बाँकी छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.