– वसुधा बस्नेत पाण्डे
कविता
उमेरको चिसो थपेडाले लगातार हानेर चिसिँदै गएको मेरो काखमा मलाई थाहा छ, अब तिनीहरूलाई चाहिने जति न्याँनो बाँकी छैन ।
समयको निर्मम प्रहारबाट धुजाधुजा भएको मेरो पुरानो मजेत्रोले मलाई थाहा छ, अब तिनीहरूको आङलाई पूरा ढाक्न सक्नेछैन।
मैले दिनभर परिश्रम गरेर कमाएको वा मागेर ल्याएको रुख्खा-सुख्खा खानेकुराले मलाई थाहा छ, अब उनीहरूको पेट भरिने छैन पेट भरिए पनि शायद मन भरिने छैन ।
त्यसैले हुनु पर्दछ, उनीहरू पखेटा राम्ररी पलाएका चराका बचेराहरूले भत्किन लागेको गुँडको छेउमा टुक्रुक्क बसेकी आमा चरीलाई चटक्कै बिर्सेर अथाह आकाशमा कावा खान थालेझैँ मलाई बूढो घरको पिँढीमा नितान्त एक्लै छोडेर हिँडेका थिए ।
त्यो फगत उनीहरूको स्वार्थ थियो कि दुनियाँको रीत नै त्यस्तै थियो मलाई थाहा छैन, मैले गरेको उनीहरूको लालन-पालनमै थियो कि कुनै कमी, त्यो पनि म भन्न सक्दिन, हे मेरी आश्रयदाता छोरी ।
तिमीले उनीहरूलाई भेट्यौ भने सुनाइदिनु उनीहरूले ठानेझैँ म मरेकी छैन अझै पनि चलिरहेको छ मेरो धुक्धुकी र त्यसमा गुञ्जिरहेको सुन्न सकिने छ उनीहरूकै मङ्गलकामनाका शब्दहरूको मन्द सित्कार ।