होली पर्व र महत्व

| 2024 Mar 24 | 12:03 pm 1093

सत्य युगमा भगवान विष्णुका परम् भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ, हिरण्य कश्यपुका पुत्र प्रल्हादलाई उनको आफ्नै फूपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफैँ आगोमा भष्म भएकी थिइन्। त्यही दिनदेखि असत्यमाथि सत्यको जीत भएको दिनको रुपमा होलीका पर्व भएको मानिन्छ।

विगत वर्ष झैं यसवर्षको रंगहरुको पर्व होली हामी माझ आईपुगेको छ । होलीले सम्पूर्ण नेपाली जनमा हर्षोउल्लास ल्याउने गर्दछ । रंग दलेर शुभकामना साटासाट गर्दै होली मनाईने गरिन्छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ।

यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ।

फाल्गुन शुक्ल पूर्णिमाका दिन रङ्ग होली खेलेपछि उक्त दिन साझ भक्तपुर तलेजुभित्र कृष्णलाई खटमा राखी १६ प्रकारको रोटी, कपास, गलाबको फूल, अत्तर र अमुख सहित पूजा गरेपछि नगर परिक्रमा गरिन्छ । त्यसबेला बाटोमा रहेको देवी देवतालाई तेलमा मुछेको अविरको डल्लाले छरी साझपछि दत्तात्रय मन्दिर पु‍र्याउने प्रचलन रही आएको छ ।

साँझपख दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट लिङ्ग निकाली एक व्यक्तिले बोकेर ब्रम्हायणी मन्दिर स्थित खोलामा लगेर पखाली पुनः मन्दिरमा राखिन्छ, यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको हानाथाप हुन्छ । लिङ्ग बोक्नेको छोरा जन्मन्छ भन्ने विश्वास अहिलेसम्म पनि रहेकाले लिङ्ग बोक्न छोरा नहुनेको प्रतिष्पर्धा चल्ने गरेको छ । लिङ्ग पखालेर भिमसेन मन्दिरमा ल्याएपछि यस वर्षको होली समाप्त हुन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.