स्वास्‍नी, श्रीमती वा जीवनसंगिनी !

रिश्मा थापा | 2018 May 30 | 01:17 am 5525

पञ्चेबाजामा विवाह घर अनि पुरै गाउँ नै रमाइरहेको छ । धेरैको ध्यान मै तिर छ । घुमिफिरी,तान्निएर अनि तन्किएर मलाई नै नियालिरहेका छन् । म लजाउँदै अझ निहुँरिए । कोही कानेखुशी गर्दैछन् । कोही टीका लगाएर आर्शिवाद दिंदै छन् अनि कोही नाचँगानमा व्यस्त । यी सबै मैले रातो घुम्टोबाट नियालिरहेकी छु । भाउजुलाई निद्रा लाग्यो होला म कोठा देखाइदिन्छु भन्दै नन्दले डार्‍याएर लगिन् ।

अरे वाह ! कोठामा पस्नासाथ मनले साउती मा¥यो । नमारोस् पनि कसरी सुहागरातको लागि कोठा सप्तरङ्गी फुलहरुले रंगिएको छ । भित्तामा चारैतिर राज र मेरा तस्वीर टाँगिएका छन् । ल है भाउजु बेष्ट अफ लक भन्दै नन्द कोठबाट बाहिरिन् ।

रिश्मा थापा

फुलबाट आएको बास्नाले मेरो माइतीको आगँनका फुलहरुलाई सम्झाई दियो । कोठाका भित्तामा टाँगिएका तस्बीरहरुले माइतीको याद दिलायो । जहाँ बा, आमा, दाइभाउजु र मेरा अनगिन्ती तस्बीरहरु फुलिरहेका छन् । केही थान तस्बीरहरु अब यी भित्ताहरुमा अझ थपिने छन् ।
आमा अझै भक्कानिदै छिन् होला । बा सुँक्क–सुँक्क पो गर्र्दै छन् की ? दाईभाउजु अनि भदा र भदिनी पनि कतै टोलाएर बसेका होलान्, म जस्तै ।

विदाईको समय पण्डीतले भनेका थिए । तिम्रो बिहे भव्य भयो । बाबुआमाले आफ्नो कर्म गरे । अब तिम्रो कर्म निभाउनु नानी ।

स्कुलदेखि क्याम्पससम्मका साथीहरु आए, रमाए । मलाई रुवाए । आफु रोए । कान्छा दाईकी स्वास्नी तारा र सिमा त कत्ती रोए रोए । रुपाका बुढाबुढी चाँही नाचेर उपद्रो गरे । तारा भाउजु चै अलिक छिटो नै हिंडिन् । नानीको विदाईसम्म बस्छु भनेको तारन्तार फोन गरेर हैरान पारे । ढिला भयो भने बुढाले मार्छन फेरी, गए है नानी, भन्दै हिंडिहालिन्।

एकदिन म महोत्तरी भ्रमण सकेर घर फर्किदै थिए । बसबाट ओर्लिएर उकालो लाँगे । कान्छा दाई बाटैमा भेटिए । डोको बोकेर खरबारी तिर झर्दै थिए क्यार । डोको खाली थियो । तर पनि बिसाए । सन्चै आयौ फुर्सा….? गाउँतिर मलाई मेरा बास्तविक नामले भन्दा फुर्सा भनेर बढी चिन्थे । अँ.. कान्छा दाई ठिकठाकै आई पुगियो लामो सास फेर्दै जवाफ फर्काएँ । थाकेकी हौली बस भन्दै थिए दाईले तर पनि साँझ गाउँतिर झरेर भेटौँला नि भन्दै म उकालो लागेँ ।

ए… फुर्सा… मेरो स्वास्नीलाई छिटो जा रे भन्देउ है… म अलिक माथी पुगे पछि कान्छा दाई तलैबाट चिच्याए …।ए कान्छा दाई .. भो म त अरु कै स्वास्नीलाई भन्दिन्छु. । म जिस्किए । मुसुक्क मुस्कुराएर दाई ओरालो लागे म भने उकालो … ।

ए कान्छा दाईकी स्वास्नी छिटो जानु रे.. हाहा हाहा दुबै गललल हाँस्यौँ । बाटैमा भेटिएकी तारा भाउजुसँग छोटो गफ गरेर म फेरी घरतर्फ उकालो लागेँ । यो जोडीलाई देखेर म अचम्म पर्छु …यी दाईले भाउजुलाई उज्यालो हुञ्जेल मायाले पुकलित पार्छन । जब साँझ पर्छ कोदोको रसले मुख पवित्र पार्छन अनि सानो सानो निहुँमा भाउजुलाई भकुर्छन । दिनभर माया देखाउने दाईको त्यो माया कोदोको रसले कहाँ पु¥याउँछ मैले पत्तै पाउँदिन ।

सीमा आज धेरै रोइ । म भन्दा पनि धेरै । मेकअप विग्रिन्छ नरुन भनेर जिस्काउँदै थिए । मोरी अचम्मे राम्री भएर आकी थिइ । आखिर के कमी छ र उसलाई ? आज उसको चर्चा खुब भएको थियो । विवाह मेरो तर तारिफ उसको थियो । साह्रै उज्याली । उसको सुन्दरताले म त कायल हुन्छु अझ केटाहरुको मन कस्तो हुँदो हो बाबै ।

राज तिम्रो म को ? स्वास्नी, श्रीमती या जीवनसँगीनी ?

उस्ले मलाई चुरा लगाइदिंदै भनिहाली, हेर.. अरु जेसुकै होस् तर म जस्तो श्रीमती भएर नबस्नु है । सबै गललल हाँसे ।
सीमाको मुहारमा हाँसो होइन झन् मलिनता थपियो । विहे फुर्साको तर यति मलिन चैँ सीमा… होइन कुरो के हो ? रीताले सीमालाई चिमोट्दै भनी… ऊ जबरजस्ती मुस्कुराउने प्रयास त गरी तर पिडा भने आँखा मै छचल्किएको थियो । उ एकाएक ओइलाएर झरी, मध्यान्हका घामले ओइलाएको फुलजस्तो ।

बेला बखतमा दःुख सुखका कुरा हुन्थे हाम्रा । उसले भन्थी– ‘मतिमा श्री राखेर मात्र बस्नुपर्ने। श्रीमान्मा गलत कुरालाई सहि तरिकाले मात्र हेर्नु पर्ने । घर, करोडौँ पर्ने कार, चम्किने हिरा र सुनका गहना र मिठो खान र राम्रा लाउन सबै दिए श्रीमान्ले तर त्यो घरमा सँगै बसेर खाँदैनन्, करोडौँको कारमा सँगै घुम्दैनन् उनी । विहान उठेर काममा लागेका श्रीमान्को मुहार मध्यरात भन्दा पहिले देखिदैन । हिरा र सुनले धपक्क बलेकी छु तर मेरो मन जस्तो अध्याँरो कस्को होला । घरमा काम गर्ने जुनेलीको भन्दा बत्तर छ मेरो जिन्दगी ।’ लामो सास फेर्दै थपेकी उसले, हेर फुर्सा …जिन्दगीमा सबै कुरा छ तर जिन्दगी भने छैन । तिमीहरुसँगको यो भेट मेरो जिन्दगी जिउने आधार हो । दुखको कुरा आमा बालाई भनुम भने मेरै चिन्ताले मर्छन की भन्ने डर । नभनुम भने भित्र भित्रै जलेर म दन्किन लागिसके । तिमीहरुसँग धन्न दुखका कुरा सुनाउन पाएकी छु र अलिक मन शान्त हुन्छ ।

आज मण्डपमा पनि ऊ मसँगै बसिरही । मेरो विदाईको बखत खोइ कता गइछ कुन्नी । सायद कतै बसेर रुँदै थिइ होला । रुपाका बुढाबुढी भने आज खुब नाचे पञ्चेबाजामा… उनीहरुको जोडी देख्दा धेरैले डाहा गर्छन । खासमा रुपाको बुढा सन्जय साथी हो मेरो । तर अहिले रुपासँग बढी नजिक छु म । सन्जय र म स्कुल र कलेजसँगै पढ्यौँ तर ४ वर्षदेखिको उनीहरुको प्रेमकथा मलाई पत्तै थिएन । बढो गोप्य तवरले उनीहरुको प्रेम झांगिदै रहेछ ।

पहिलो पटक सन्जयले आफ्नो जन्मदिनमा रुपासँग साथीहरुलाई भेटाएको थियो । मेरी जिवनसंगिनी, रुपा तिर आँखा सन्काउँदै इशारा गर्‍यो उसले । विहे पनि गरिसक्यो यो छुपारुस्तमले ? अरे यार हुनेवाला जिवनसंगिनी के । तिमीहरुलाई जन्त नलगि बे गर्छु की क्या हो । मेरा विहेमा नचाएर तेरो २ किलो बोसो घटाउनु छ बुझिस मोटी…अलि ठट्यौली पारामा उसले जवाफ दिएको आजै झैँ लाग्छ ।

उनीहरुको विहेमा यत्ति नाचियो की त्यसको पैंचो तिरे जसरी आज नाचेँ उनीहरु मेरो विहेमा । कम्मर मर्काइ मर्काइ, जुल्फी लर्काइ लर्काइ । उसकी ४ वर्षकी छोरीले पनि नाचेर दङ्गै पारी ।

नर्सरी पढ्ने छोरीलाई स्कुल पु¥याएर सन्जय अफिस जान्छ । अफिस सकेर छोरी लिन रुपा आइपुग्छे । विहान भान्सामा सन्जय साझँ रुपा । दुवैले अफिस भ्याउँछन् अनि एकअर्का लागि समय निकाल्छन् । त्यो भन्दा बढी परिवारको ख्याल राख्छन् । विदाको दिन त तीनपुस्ता नै घुम्न हिड्छन् । सरप्राइज दिएर एक अर्कालाई दङ बनाउने कोशिसमा हुन्छन । कसरी समय मिलाउन सकेका ? त्यसैले सबैले भन्छन्, यीनीहरुले जिन्दगीको मज्जा लुट्दै छन् । मैले देखेको सबैभन्दा रोमान्टिक र व्यवहारी जोडी सायद यहीँ हो ।

सन्जय र रुपाको जिन्दगीलाई सम्झिदै गर्दा सायद म मुसुक्क मुस्काएछु क्यार । ढोकाबाट आवाज आयो, भाउजु सुहागरात सम्झेर मुस्कुराउनु भाको ? दाई आउँदै हुनुहुन्छ है । बेष्ट अफ लक बाई… मेरी चुलबुले नन्दले जिस्काएर गइन् ।

केही बेरमा ढोका बन्द भएको आवाज आयो । मुटु भुक्क फुलेर आयो । पुलुक्क उनीतिर हेरेँ । मुसुक्क मुस्कुराए । हिस्सी परेको त्यो मुहारको हाँसोले म लठ्ठ परेँ । अगाँलोमा बाधिँयौं । एक अर्कामा लिन भयौं । अकस्मात मनमा एउटा प्रश्नले बास माग्यो । उनलाई सोधुँ की नसोधुँ । धेरै बेर मनमै गन्थन मन्थन गरेँ तर त्यो प्रश्नले मनमा मात्रै बस्न मानेन । अनि धृष्टताका साथ सोधेँ – तिम्रो म कोहो ?

होइन आजको दिनमा पनि तिमीले यो के सोध्दै छ्यौ ? साँच्ची भनन राज तिम्रो म को ? स्वास्नी, श्रीमती या जीवन संगिनी ?

अरे प्यारी केमा अल्झिदैँ छौ तिमी ? जिन्दगीको सुरुवात त आजबाट गर्दैछौँ । तिम्रो प्रश्नको जवाफ तिमीसँगै हुनेछ । बरु सुनाऊ है मलाई । गुड नाइट । लभ यू । ऊबाट यो जवाफको अपेक्षा थिएन । मेरो प्रश्न हलुका लाग्यो या प्रश्नको जवाफ दिने आँट भएन ? त्यो उनलाई थाहा होला ।

राज मस्त निद्रामा परे । तर मलाई पटक्कै निद्रा परेन । उनको त्यो हिस्सी परेको मुहारबाट मेरा प्रश्नको उत्तर छिचोल्ने प्रयास गरेँ । हरेक सासलाई महसुस गरेँ तर पनि उनको सामु आफ्नो परिचय ठम्याउनै सकिन । आमाबाको यादले सताइरह्यो । कान्छा दाईकी स्वास्नी, सीमा र रुपा पनि आँखैमा घुमिरहे । अनि रातभर एउटै प्रश्नले घेरीरह्यो । राज तिम्रो म को ? स्वास्नी, श्रीमती या जीवनसँगीनी ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.