धगगढी, जेठ २३: सुदूर पश्चिमाञ्चलका पहाडी जिल्लाहरुमा छाउपडी गोठ हटाउने अभियान चलिरहेको भएता पनि सुगम जिल्लाका विभिन्न ठाउँमा छाउगोठहरु रहेका छन् । भौगोलिक, शैक्षिक, सामाजिक रुपले विकसित मानिएको कैलाली जिल्लाका केही स्थानमा महिला रजस्वला भएका वेला घरवाट टाढा गोठ बनाएर राख्ने कु–संस्कार अहिले सम्म व्याप्त छ ।
कैलालीको धेरैजसो क्षेत्रमा छाउपडी प्रथालाई कायमै राख्ने गरेको पाइएको छ । जिल्लाको अन्य क्षेत्र भन्दा थापापुर, लालवोझी, हसुलिया, बौनिया, रामशिखर झाला, चौमाला लगायतका क्षेत्रहरुमा छाउपडी गोठहरु बढी मात्रामा देख्न सकिन्छ।
२०६३ वैशाख २६ गतेको सरकारी निर्णयले छाउपडी प्रथालाई कुरिती घोषणा गरिसकेको छ । नेपालमा छाउपडी प्रथा उन्मुलन निर्देशिका २०६४ समेत लागु भएको छ । परम्परादेखि मान्दै आएको अन्धविश्वास, कुरिती र महिलाहरुमाथि हुने भेदभाव पुर्ण व्यवहारको परिणमा स्वरुपको उक्त प्रथाको अन्त्यका लागि निर्माण भएको निर्देशिकाको प्रभावकारी कार्यन्वयन हुन सकेको छैन ।
रजस्वला भएको वेला महिलालाई दूध, दही, मोही, मह, घ्यू जस्ता पोसिला खाने कुराबाट वञ्चित गरिन्छ । रजस्वला भएको बेला पानीका मुहान, धारा पनि छुन दिँइदैन । यसरी पोसिलो खानेकुरा खान नपाउँदा महिलाहरुको स्वास्थ्य कमजोर हुने र विभिन्न रोगहरुको संक्रमण हुने सञ्जीवनी मेडिकल जोशीपुरका अहेव नविन जोशी बताउछन् । उनले भने, ‘महिला महिनावारी भएको समयमा महिला सङ्गैको दुधे बालक पनि छाउ गोठमै बस्ने गर्छ जसका कारण बालकको स्वास्थ्यमा पनि नकारात्मक असर पर्ने गरेको छ ।
छाउपडीलाई घरमै राख्दा परापूर्वकाल देखि देउता रिसाउछन् भन्ने मान्यता रहेको बौनिया–६ की शारदा देवी जोशीले बताइन् । उनले समाजको डरले पनि छाउ हुँदा गोठमा बस्नु पर्ने बाध्यता रहेको बताइन । कैलालीमा छाउपडी अन्त्यका लागि कुनैपनि कार्यक्रम नहुने गरेको उनको गुनासो छ । शिक्षित र हुनेखानेका घरमा झन वढी छाउ मान्ने गरेका कारण यो प्रथाको अन्त्य हुन समय लाग्ने उनको भनाई छ ।
छाउपडी प्रथाले समाजमा नराम्रोसँग जरा गाडेकोले तुरुन्तै अन्त्य हुन नसक्ने बौनिया नमुना गाउँपालिकाका सचिव डम्बर बहादुर थापाले बताए । उनले गाविसले विभिन्न संघसंस्थासँग मिलेर महिलाको क्षेत्रमा काम गरिरहेको तर छाउपडी अन्त्यका लागि भने अलग्गै कार्यक्रम नभएको बताए ।
उनले दुईवर्ष पहिलेको घटना सुनाउदै भने एक ठाउँमा महिलालाई रजस्वला भएको वेला दुध खान सल्लाह दिँदा परिवारका सदस्य राजी भएका तर स्वयम् महिला राजी नभएको बताए । यसरी महिलाले नै इन्कार गरेपछि पोसिलो खानेकुरा दुध, दही नखाने प्रथाको अन्त्य गर्न समस्या हुने गरेको छ ।
समाज परिवर्तन हुन अझै धेरै समय लाग्ने छ, किन कि समाजका हरेक मान्छेको मनस्थिति बाट छाउपडि भन्ने शब्द हट्नुपर्छ । तब मात्र छाउपडिको अन्त्य हुने चौमालाका सचिव खेमराज भट्ट बताउछन् । उनका अनुसार आफु कार्यरत रहेको गाविसमा छाउगोठहरु रहेका तर यसको अन्त्यका लागि कुनै पहल नभएको स्वीकार्छन । उनले भने, ‘आगामि दिनहरुमा संघ संस्थाहरुसंग सहकार्य गरेर कार्यक्रमहरु ल्याउनेछौं ।’ उनले आफ्नै घरमा पनि यो प्रथा रहेको स्वीकार्दै आफूले चाहेर पनि परिवर्तन गर्न नसकेको उनको भनाई छ ।
अझैपनि छाउ मान्ने धेरै छन् । छाउ भएको बेला देउता राखेको घरमा वस्न त के छुन पनि नहुने नागरीक वडा मञ्च चौमाला–८, बनवेहडाका वडा संयोजक दान बहादुर कुवँरले बताए । उनको घरमा पनि महिला रजस्वला हुँदा अझै छाउ गोठमा बस्ने गरेका छन् ।
उनी भन्छन्, छाउ भएको बेला छाउपडीले छोएका हरिया रुखहरु सुक्छन्, दुध दिने बस्तुभाउलाई छोए दुध दिन छोड्छन र वस्तुभाउ मर्छन, मान्छे पनि सुक्दै जान्छ र देवी देउता रिसाउछन् भन्ने पुरानो मान्यता रहेका कारण अलग राख्ने गरेको बताए । चौमाला ८ बनवेहडाकी कमला महराले बजारबाट दुध, दही किनेर खादा कसैका वस्तु भाउ नमरेका तर घरको खादा मर्ने भन्ने यो अन्धविश्वास भएकोले अन्त्य हुनुपर्ने धारणा राखिन् ।
जोशीपुरकी संचारकर्मी पार्वती पाठकले छाउ गोठमा बस्दा महिलाहरुलाई डर हुने र पटक–पटक विरामी हुने गरेको बताइन् । उनले भनिन, ‘धारा छुन नहुने मान्यता रहेका कारण घरमा कोही नहुँदा पानी प्यास लागेको बेला पानी पिउन नपाएरै बस्नु पर्छ, हामीलाई साह्रै गाह्रो छ । धेरै ठाउँमा सर्पले टोक्ने गरेका घटना पनि सुनिन्छन् ।’
पहाडी जिल्लाहरुमा छाउपडी प्रथा अझै विकराल रुपमा लिइरहेको छ । तराइमा पनि यो प्रथा कायम हुँदा समाज परिर्वतन हुनुको सट्टा झन कुरीतीमा फसेको महिला समाज उत्थान समाज कैलालीकी अध्यक्ष ललिता कुश्मीको बताइन ।