सात वर्षदेखि भद्रकाली–सिंहदरबार सडक अलपत्र

रिपोर्ट नेपाल | 2018 Jun 08 | 05:55 pm 4377

काठमाडौँ २५ जेठ : मुलुकको प्रमुख प्रशासन केन्द्र सिंहदरबारअघिको सडकमा वर्षौँदेखि खाल्डाखुल्डी हुँदा सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।

एक दर्जन सरकारी संस्थाको केन्द्रीय कार्यालय रहेको भद्रकाली–सिंहदरबार जोडिने ४६५ मिटर लामो सो सडकको दुरवस्थाले यहाँ कार्यरत कर्मचारी मात्र होइन सेवा लिन आउने सेवाग्राही पनि प्रभावित हुने गरेका छन् ।

यूएनआई शान्ति मार्ग नाम दिइएको सो सडक निर्माण, दायाँबायाँ हरियाली र दुई कुनामा उद्यान बनाइने योजना बनेको पनि सात वर्ष भयो तर कार्यान्वयन हुन सकेको छैन ।

नेपाल टेलिकम, नेपाल खाद्य संस्थान, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन व्यापार शाखा, नेपाल स्टक एक्सचेञ्ज, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय बीमा संस्थान, कृषि विकास बैंकलगायत सरकारी कार्यालयको केन्द्रीय कार्यालय यही सडकको किनारमा छ ।

हजारौँ कर्मचारी र लाखौँ सेवाग्राहीले दैनिक सो सडक प्रयोग गर्छन् । खाल्डाखुल्डीमा पानी जमेर हिँड्न नसक्ने अवस्था हुँदा पनि कसैको ध्यान जान सकेको छैन । सात वर्षअघि सो सडक निर्माणका लागि अभियान शुरु गरेका यूएनआइका अध्यक्ष शंकर लामिछाने काठमाडौँ महानगरपालिका नगरसभाले सडक किनारमा हरियाली र दायाँबायाँ कुनामा उद्यान बनाउन बजेट छुट्याइएको बताउँछन् ।

‘सात वर्षअघि महानगरपालिकाले सडक किनारमा हरियाली तथा वाणिज्य बैंक र टेलिकमअघिको कुनामा उद्यान निर्माण गर्न रु ७२ लाख छुटयाएको थियो, आधा रकम यहाँका कार्यालयले व्यवस्था गर्नुपर्ने शर्त थियो, महानगरले लगातार तीन वर्षसम्म रु ७२ लाख छुट्यायो, कुनै पनि कार्यालयबाट त्यस बेला बजेट छुट्याइएन’, उनले भने ।

दुई वर्षअघि टेलिकमले रु ४० लाख, वाणिज्य बैंकले रु २० लाख, नार्कले रु आठ लाख, नेपाल टेलिभिजन र स्टक एक्सचेञ्जले रु पाँच पाँच लाख बजेट छुट्याएका थिए । सात वर्षअघिको लागत अनुमानअनुसार सडक किनारमा हरियाली र दुई कुनामा उद्यान निर्माण गर्न रु एक करोड ४२ लाख बजेट लाग्छ । हाल सबै सामग्रीको भाउ बढेकाले लागत बढ्न सक्ने उनको अनुमान छ ।

महानगरपालिकाले बजेट छुट्याउँदा यहाँका कार्यालयले नदिएको र यहाँका कार्यालयले दिँदा महानगरपालिकाको बजेट फ्रिज भएका कारण सडकको बेहाल भएको अध्यक्ष लामिछानेले सुनाए । महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएपछि प्रमुख विद्यासुन्दर शाक्यलाई भेट्न नसकिए पनि उपप्रमुख हरिप्रभा खड्गीले सहयोग गर्ने वचन दिएकी छन् ।

महानगरपालिका ११ नं वडाध्यक्ष हीरालाल तण्डुकारले पनि सो सडक निर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की लगातार तीन वर्ष बजेट छुट्याउँदा पनि काम नभई बजेट फ्रिज भएको बताउँछन् ।

‘सडक निर्माण गर्न तयार भई फेरि बजेट माग गरी पत्र पठाएमा महानगरपालिकाले बजेट छुट्याउँछ,’ उनले भने । वाणिज्य बैंकबाट नेपाली सेनाको मुख्यालय र भद्रकाली मन्दिर एवम् शहीदढोकातिर जाने पैदल यात्रुले पनि सो मार्गको प्रयोग गर्छन् । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.