सोलुखुम्बु, असार १३: पछिल्लो एक शताब्दीमा नेपालमा ६० वटा ठूला हिमपहिरो गए। धेरै सगरमाथा क्षेत्रमा नै गएको विभिन्न अध्ययनले देखाएको छ। हिमपहिरो कै कारण सगरमाथा क्षेत्रमा धेरै खाल्डा र खोल्सा देखिन थालेको पर्वतारोही ओङ्छु शेर्पा बताउँछन्। भन्छन्, ‘हिमनदी धेरै बनेका छन्। साना खोल्साको आकार बढेको छ। हिमपहिरो जुनसुकै समयमा पनि गइरहन थाल्यो। आधारशिविरमा खाल्डै, खाल्डा छन्।’
जलवायु परिवर्तन र मानवीय गतिविधिका कारण सर्वोच्च शिखर सगरमाथामा हिमपहिरो जाने क्रम बढेको तर्क गर्छन्, पर्वतारोही र विज्ञहरू। विभिन्न समयमा सगरमाथा क्षेत्र पुगेका पर्वतारोही ओङ्छु शेर्पा हिमपहिरोका कारण सगरमाथा क्षेत्रमा अस्वाभाविक परिवर्तन भएको बताउँछन्। ‘हिउँ पग्लिदै गएर आधार शिविरको बीचमा रहेको एउटा खोल्सो वर्षैपिच्छे ‘अस्वाभाविक’ रूपमा बढ्दै गएको छ,’ शेर्पाले भने, ‘केही वर्ष पहिले निकै सानो थियो। तर, आजभोलि त खोल्सो बढेर विशाल देखिन्छ। अन्य नयाँ खोल्सा पनि धेरै छन्।’
हिमनदीहरू पातलिँदै तीव्र गतिमा बहने र अस्थिर बन्न थालेका छन्। त्यसैकारण, आरोहीहरू बास बस्ने आधारशिविर क्षेत्रमा खाल्डो पर्ने समस्या पनि देखिन थालेको छ। वैज्ञानिकहरूका अनुसार विश्वव्यापी तापमान वृद्धिका कारण सगरमाथा र ल्होत्से हिमालको बीचमा बग्ने खुम्बु हिमनदी पनि तीव्र गतिमा पग्लिएको र खिइरहेको छ।
हिमपहिरोकै कारण एक शताब्दीमा ३ सय ७२ जनाले ज्यान गुमाएको विभिन्न तथ्यले पुष्टि गर्छ। यसमा हिमाल आरोहण गर्न गएका मात्रै परेका छैनन्, आधार क्षेत्रको अवलोकन गर्न पुग्ने र त्यस क्षेत्रका नागरिक पनि यसको चपेटमा परेका छन्। सरकारी एवं गैरसरकारी सरोकारवाला निकायले तयार पारेको तथ्यांकको आधारमा ‘ग्लासिकल हाजार्ड एन्ड एभलेचेज इन हाई माउन्टेन अफ नेपाल हिमालय’ नामक अनुसन्धानमूलक आलेखमा जलवायु परिवर्तनले गर्दा पछिल्ला दशकहरूमा हिमपहिरोको जोखिम बढेको उल्लेख छ। उक्त आलेखमा भनिएको छ, ‘सगरमाथामा समस्या थपिएको छ। हिमपहिरो बढ्यो यसको कारण मानवीय र जलवायु परिवर्तन नै हो।’ उक्त आलेखमा आरोही र विज्ञ पनि सहमत छन्।
‘सगरमाथामा हिउँ फाटेको दृश्य पहिलेभन्दा झन् बढ्दै छ,’ आरोही ओङ्छु शेर्पाले भने, ‘सगरमाथामा हिउँ पग्लदै गएको, हिमालहरू पहाड र चट्टानमा परिणत भएको देखेर विदेशीहरू चिन्ता व्यक्त गर्छन्। हामी नेपाललाई मतलब छैन। सबैले एक पटक गम्भीर भएर सोच्ने बेला आइसकेको छ।’ हिमाली क्षेत्रमा देखिएको यस्तो अस्वाभाविक परिवर्तनले सबैभन्दा धेरै समस्या सगरमाथाको तल्लो क्षेत्रमा बस्ने नागरिकलाई छ। ‘कुन समय कहाँको खोल्सा बढ्छ वा हिमपहिरो खसेर विनाश मच्चाउँछ थाहा छैन,’ शेर्पा भन्छन्, ‘आरोही र पर्यटक त निश्चित सिजनमा आउने हुन्, स्थानीयलाई सधैं समस्या छ। अन्नपूर्ण पाेस्ट दैनिकबाट