रामसँग जुरेको साइनो

रिपोर्ट नेपाल | 2024 Jan 23 | 08:01 am 477

मनिका झा

जनकपुरधाम, माघ ९।

सियाजी बहिनिया हमार हो

राम लगिहे पहुनमा।

मिथिलाके नाता स सियाजी बहिनिया

सियाजीके नाता स रामजी पहुनमा।

मिथिला नगरिया नेहाल हो

राम लगिहे पहुनमा।

मिथिलाञ्चलकी प्रसिद्ध लोकगायिका तथा गीतकार स्नेह लताजीले लेखेको यो प्रसिद्ध मैथिली गीतमा उल्लेख भएझैं माता सीता हाम्रो बहिनी भएकै नाताले राम ज्वाइँ भएका हुन्। यसै नाताले गर्दा भारतको अयोध्यामा राममन्दिरको भव्य उद्घाटन हुँदा जनकपुरमा उत्सवको माहोल बनेको छ।

माता सीताको माइती जनकपुर अहिले अद्भुत उल्लासले भरिएको छ। जानकी मन्दिर लाखौं दीपले झिलिमिली बनेको छ। नगरभरी रामसीताको जयजयकारको ध्वनि गुञ्जिएको छ। यो अवसर हो, पाँच सय किलोमिटर टाढा भारतको उत्तरप्रदेशको अयोध्यामा राममन्दिरको भव्य उद्घाट र रामलीलाको प्राण प्रतिष्ठा। अयोध्यामा रामलीलाको प्राण प्रतिष्ठामा राम नामको नारा गुञ्जायमान भइराख्दा त्यसमा समान सहभागिता जनकपुर र मिथिलाञ्चलवासीको पनि रहेको छ। घर–घरमा रामनामको उद्घोेष भइरहेको छ। त्रेतायुग कै झल्को आउने गरी विभिन्न समारोह आयोजना भइरहेका छन्। अयोध्यामा पाँच सय वर्षपछि राममन्दिरको निर्माण हुँदा हिन्दू धर्मावलम्बीलाई उत्साहित पार्नु स्वाभाविकै हो। रामसँग जनकपुरवासीको युगौं अघि जुरेको साइनोले मिथिलाञ्चलवासीलाई उत्साहित मात्र बनाएको छैन, सक्रिय सहभागी पनि गराएको छ।

अयोध्यामा नवनिर्मित राममन्दिरको गर्भगृहमा प्राण प्रतिष्ठा गरिएको रामलीलाको बाल्यकालको मूर्ति सीताबिनाकै छ। अयोध्या भगवान् रामको घर भएकाले गर्भ गृहमा उनको बाल्यकालको मूर्ति स्थापना गरिएको हो। तर, वर्तमान कालमा ‘सिया बिनु राम अधुरो’ भन्ने अवधारणाले पनि निकै चर्चा पाएको छ।

२०७५ वैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको पहिलो भ्रमणमा पटनाबाट जनकपुर आउँदा आफ्नो भाषणमा भनेका थिए, ‘सीताबिना भारतको कुनै धाम मात्रै होइन, राम नै अधुरो हुन्छन्।’

सीता र रामको अमर सम्बन्धकै प्रतीक रहेको जनकपुर आफ्ना ज्वाइँको घरमा गृह प्रवेश हुँदा उल्लासमय वातावरण हुनु स्वाभाविक रहेको जनकपुरधाम उपमहानरपालिकाका नगर प्रमुख मनोजकुमार साह बताउँछन्।

‘अयोध्यामा राममन्दिर निर्माणको प्रतीक्षा जति भारतवासीलाई थियो, त्यक्ति नै हामीलाई पनि थियो। यो दुई देशभन्दा पनि दुई संस्कृतिको मिलनको अवसर हो। त्यसैले हामी जनकपुरवासी उत्साहित हुनु स्वाभाविक हो’, मेयर साह भन्छन्, ‘अर्को महत्वपूर्ण कुरा के हो भने मिथिलाञ्चलमा छोरीज्वाइँलाई भगवान् सरह नै सम्मान गर्ने चलन छ। रामको गृहप्रवेश हुनु भनेको हाम्रो छोरी सीताले घर पाउनु पनि हो। यस्तो सुखद् अवसरमा उत्सव मनाउनु स्वाभाविक हो।’

महर्षि वाल्मीकिले रामायणमा थुप्रै कथाहरूको वर्णन गरेका छन्। जसमध्ये एउटा कथा सीता र रामको मिलन पनि हो। भनिन्छ, ऋषि विश्वामित्रको आज्ञा मानेर सीता स्वंयमवरमा सहभागी हुन श्रीराम र लक्ष्मण जनकपुर आएका थिए। जनकपुरसम्म आउन उनीहरूले लगभग साढे तीन सय किलोमिटरको यात्रा गरेका थिए।

यसरी जुरेको थियो राम र सीताको नाता

सीता र रामको मिलनको कथालाई रामायणमा निकै रोमाञ्चक र मनमोहक रूपमा वर्णन गरिएको छ। अयोध्याबाट करिब २९२ किलोमिटर टाढा रहेको बिहारको बक्सर गाउँ ऋषिमुनिहरूको तपोभूमि मानिन्छ। हजारौं ऋषिहरू त्यहाँ यज्ञ गर्थे। जंगलले घेरिएको क्षेत्र यस तपोभूमिमा राक्षसहरूको पनि वास थियो। असुरहरूले ऋषिहरूलाई निकै दुःख दिन्थे। असुरहरूकै अन्त्य गर्न महर्षि विश्वामित्र अयोध्या नरेश दशरथकहाँ पुगेका थिए।

विश्वामित्रलाई सहयोग गर्न राजा दशरथले आफ्ना पुत्र राम र लक्ष्मणलाई विश्वामित्रसँगै पठाएका थिए। विश्वामित्र राम लक्ष्मणसँगै बक्सर आइपुगे। यहीँबाट सुरु भयो, रामसीता मिलनको कथा।

विश्वामित्रको निर्देशनमा राम र लक्ष्मणले असुरहरूको बध गरेर ऋषिहरूको रक्षा गरे। त्यसपछि ऋषिहरू आश्रममै बसेर शिक्षा आर्जन गर्न थाले। महर्षि विश्वामित्रलाई राजा जनकले जनकपुरमा गरिरहेको भव्य सीता स्वयंमवर हेर्न निमन्त्रणा गरिएको थियो। विश्वामित्र सोही निम्तो मान्न राम र लक्ष्मणलाई लिएर जनकपुर आएका थिए। जनकपुरमा भव्य स्वयंमवरमा शिवको धनुष तोडेपछि रामसीताको विवाह भयो।

सिया बिनु राम अधुरो

अयोध्यामा राममन्दिर बनेपछि यसले विश्वकै हिन्दू धर्मावलम्बीहरूका लागि धार्मिक पर्यटनको बाटो खोलेको छ। भारतीय सञ्चारमाध्यमहरूका अनुसार राममन्दिरमा अब प्रतिमहिना ३ लाख पर्यटकले दर्शन गर्ने आकलन गरिएको छ। राममन्दिर आउने दर्शनार्थीलाई सीताको माइत जनकपुर ल्याउन सकिने जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ बताउँछन्।

‘सीताबिना राम अधुरो छन्। जसले रामको मन्दिर दर्शन गर्छन्, ती भक्तजनलाई माता सीताको जन्मभूमि कहाँ छ भन्ने जिज्ञासा पक्कै हुन्छ र उनीहरू जनकपुर आउँछन्। यसले दुई देशबीचको धार्मिक तथा साँस्कृति पर्यटनमा ठूलै आयाम निर्माण गर्नेछ’, अध्यक्ष महासेठले भने, ‘पर्यटनको यो सम्भावनालाई हामीले सदुपयोग गर्न सक्यौं भने जनकपुर मात्र नभई नेपालले लाभ लिन सक्छ।’

रामायण सर्किटको महत्वपूर्ण स्थल अवध—जनकपुर त्रेतायुगमा भगवान् राम र सीताले यात्रा गरेको क्षेत्रलाई नै रामायण सर्किट भन्ने गरिएको छ। सीतालाई विवाह गरेर लैजान रामले अयोध्याबाट आएको बाटो र जनकपुरमा विवाहपछि सीतालाई लिएर गएको धार्मिक भूमिलाई नै अहिले रामायण सर्किटको नाम दिइएको छ। रामायण सर्किटको मुख्य उद्देश्य जनकपुरलाई अयोध्यासँग जोड्नु हो। भारतद्वारा सञ्चालित रामायण सर्किट आयोजनामा नेपालको दुई र भारतको १५ वटा पर्यटकीय स्थल समावेश छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रूपमा रामायण सर्किटको उद्घाटन गरेका थिए। प्रधानमन्त्री मोदीको दुई दिने नेपाल भ्रमणमा जनकपुरमा दुई देशका प्रधानमन्त्रीले ६ सय ५० किलोमिटर लामो सर्किटको उद्घाटन गरेका थिए।

सर्किट उद्घाटनसँगै जनकपुरधामबाट अयोध्याका लागि सीधा बस सेवा पनि उद्घाटन गरेका थिए। अहिले सो बस सेवा सञ्चालन हुन सकेको छैन। भारतले सन् २०१४/०१५ को बजेटमै रामायण सर्किटको अवधारणा अघि सार्दै बजेट विनियोजन गरेको थियो। रामायण सर्किटले नेपाल र भारतका धार्मिक क्षेत्रहरूलाई जोड्ने लक्ष्य लिएको छ। बृहत् रामायण सर्किटमा भने श्रीलंकासमेत जोडिने छ।

(अन्नपुर्णबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.