प्रधानमन्त्री ओलीलाई कम्बोडियामा गार्ड अफ अनर (फोटोफिचर)

रिपोर्ट नेपाल | 2019 May 14 | 10:15 am 1211

काठमाडौं, वैशाख ३१ : कम्बोडिया राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिएको छ। त्यहाँका प्रधानमन्त्रीले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन्। भियतनाममा पनि प्रधानमन्त्री ओलीलाई राजकीय सम्मानसहित गार्ड अफ अनर प्रदान गरिएको थियाे।

द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने र व्यापार विस्तारलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा नेपाल र कम्बोडियाले सहमति गरेका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र कम्बोडियाका उद्योगमन्त्री सुय सेमले व्यापार तथा लगानी ढाँचासम्बन्धी सहमतिमा हस्ताक्षर गरे ।

त्यसैगरी नेपाल चेम्बर अफ कमर्श र कम्बोडिया चेम्बर अफ कमर्शबीच पनि समझदारीपत्रमा हस्ताक्षर भयो । दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा पिस प्यालेसमा भएको समझदारीपत्रमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ र कम्बोडिया चेम्बरका उपाध्यक्ष लिम गङले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री ओली र कम्बोडियाली प्रधानमन्त्रीबीच भेटवार्ता

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोेडियाली समकक्षी समबेदक अक्का मोह सेना पाडेइ टेको हुन सेनबीच राजधानी नोम पेन्हस्थित पिस प्यालेसमा भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई कम्बोडियाली प्रधानमन्त्री हुन सेनले पिस प्यालेसमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री ओलीको सम्मानमा कम्बोडियाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा प्रधानमन्त्रीद्वयले पहिले एक्लाएक्लै र पछि प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक गरेका थिए । दुई देशबीच द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने, सहयोग विस्तार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने लगायत विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओली कम्बोडियाका समकक्षी हुन सेनको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कम्बोडियाको भ्रमणमा छन् । उनका साथ धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, सांसद, उच्चपदस्थ सरकारी अधिकारीलगायत छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.