काठमाडौँ, पौष २९। निर्माण सुरु भएको एक दशकमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको बाँध र सुरुङमा पानी प्रवेश गराएर शुक्रबार ‘वेट टेस्टिङ’ गरिएको छ । माघभित्र बिजुली उत्पादन गर्ने लक्ष्यसहित टेस्टिङ सुरु गरिएको बताइएको छ ।
चिलिमे जलविद्युत् कम्पनी मुख्य प्रबन्धक रहेको मध्य भोटेकोशी जलविद्युत् आयोजनामा शुक्रबार वेट टेस्टिङका लागि पहिलो पटक बाँधमा पानी पठाइएको छ । अब आयोजनाको बाँध, इन्टेक, गेट, सुरुङलगायत हेडवर्क्सका संरचनाको प्रविधिक परीक्षण गरिने आयोजना प्रमुख सूर्यनाथ भूर्तेलले जनाए । परीक्षण अवधि कम्तीमा माघ १५ सम्म रहनेछ । आयोजनाको बाँधस्थल चाकुदेखि भोटेकोशीको पानी घटबढ भइरहने भएकाले तटीय क्षेत्रका स्थानीयका नाममा सार्वजनिक सूचना पनि जारी गरिएको छ । भूर्तेलका अनुसार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि परीक्षण उत्पादन सुरु हुनुअघि वेट टेस्टिङ गरेर आयोजनाको सबै संरचनाले तोकिएको काम गरे/नगरेको यकिन गर्न खोजिएको हो ।
भोटकोशी गाउँपालिका–५ चाकु बजारमा निर्मित बाँधमा पानी पठाइएको छ । हरेक दिन पानीको मात्र बढाएर सात किमि दूरीको सुरुङबाट बाह्रबिसे नगरपालिकाको जम्बुमा निर्मित विद्युत् गृहमा पठाएर अन्तिम परीक्षण गरिनेछ । सुरुङ र पेनस्टक पाइप ठीक भए परीक्षण उत्पादन गर्न सकिने आयोजनाले जनाएको छ । चीनको तिब्बतबाट हिमनदीका रूपमा बहने भोटेकोशी तातोपानी नाका हुँदै नेपाल प्रवेश गर्छ । भोटकोशीमा निर्माण भएको यो दोस्रो ठूलो विद्युत् आयोजना हो । यसअघि अमेरिकी र नेपाली लगानीमा बनेको भोटेकोशी पावर कम्पनीले बनाएको ४५ मेगावाट क्षमताको आयोजना सन् २००१ देखि सञ्चालनमा छ ।
०६८ कात्तिकमा विद्युत् खरिद सम्झौता भएर सुरु गरिएको मध्य भोटेकोशी भने नेपाली लगानीमा बनेको हो । आयोजनाको कन्सल्ट्यान्टसहित प्राविधिक टोलीले अहिले पानी पठाएपछि बाँधमा जडित संरचनाले काम गरे/नगरेको परीक्षण गर्दै छ । टेस्टिङ पूरा गर्न कम्तीमा तीन साता लाग्ने मध्य भोटेकोशी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल शिवाकोटी बताउँछन् । माघ १५–२० सम्म परीक्षण उत्पादनको अवस्थामा पुगिने उनको भनाइ छ ।
सुरुङको लम्बाइ धेरै भएकाले पानी पठाएपछि परीक्षणको समय बढी लाग्ने आयोजनाले जनाएको छ । उक्त कम्पनीले सन् २०१३ मा आयोजना निर्माण सुरु गरेर २०१७ मा पूरा गर्ने लक्ष्य लिएको थियो । तर आन्तरिक र बाह्य समस्याका कारण एक दशकपछि मात्र आयोजना विद्युत् उत्पादनको अवस्थामा पुगेको हो । आयोजनाको आन्तरिक प्रशासनिक अव्यवस्था, स्थानीय राजनीतिक द्वन्द्व, बाढीपहिरो, भूकम्प, कोरोनालगायत समस्याले निर्माणमा ढिलाइ भएको हो ।
आयोजना निर्माणमा ढिलाइ भएपछि यसको लागतसमेत बढेको छ । ०६८ सालमा कुल लागत १२ अर्ब २८ करोड रुपैयाँ रहेकामा अहिले १९ देखि २० अर्ब पुग्ने अनुमान छ । आयोजनाको लगानीकर्ता चिलिमे विद्युत् कम्पनी, नेपाल विद्युत् प्राधिकरण, कर्मचारी सञ्चय कोष, स्थानीय निजी कम्पनी तथा प्रभावित क्षेत्रका बासिन्दा छन् ।
(कान्तिपुरबाट)