परराष्ट्रमन्त्री साउद र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता

| 2023 May 13 | 07:44 am 453

काठमाडौं, बैशाख ३०ः परराष्ट्रमन्त्री एनपी साउद र उनका भारतीय समकक्षी डा एस जयशङ्करबीच भेटवार्ता भएको छ । छैटौँ हिन्द महासागर सम्मेलनमा भाग लिन बङ्गलादेशको ढाका पुगेका उनीहरूबीच शुक्रबार भेटवार्ता भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ ।

दुवै मन्त्रीले नेपाल–भारत सम्बन्धको उत्कृष्ट अवस्थाप्रति सन्तोष व्यक्त गर्दै व्यापार, पारवहन, कनेक्टिभिटी, जलविद्युतलगायतका क्षेत्रमा सहयोगलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका थिए ।

परराष्ट्रमन्त्री साउद बङ्गलादेशको ढाकामा यही वैशाख २९ र ३० गते हुने छैटौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुन शुक्रबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका थिए । ‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नाराका साथ हुन लागेको उक्त सम्मेलनमा उनले आज वैशाख ३० गते सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री र उन नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी र बङ्गलादेशको परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीले स्वागत गरेका थिए ।
शुक्रबार परराष्ट्रमन्त्री साउद र उनका बङ्गलादेशी समकक्षी डा एके अब्दुल मोमेनबीच पनि भर्चुअल वार्ता भएको थियो ।

सो अवसरमा दुवै मन्त्री नेपाल–बङ्गलादेश सम्बन्धका विभिन्न पक्षको बारेमा जानकारी आदानप्रदान गर्नुका साथै व्यापार, पारवहन, लगानी, ऊर्जा, शिक्षा, जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्न मिलेर काम गर्न सहमत भएका थिए । परराष्ट्रमन्त्री साउदका साथ उनकी धर्मपत्नी ज्योत्स्ना अधिकारी साउद, मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी, परराष्ट्रमन्त्रीका स्वकीय सचिव खुमान थापा क्षेत्री रहेका छन् । उनी वैशााख ३१ गते आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.