लोकतन्त्रप्राप्तिको आन्दोलनबाट देशमा ठूलो परिवर्तन भयो । तथापि, राज्यको माथिल्लो संरचनामा परिवर्तन आउँदैमा सत्ताको चरित्रमा भने परिवर्तन आउन सक्दोरहेनछ भन्ने अहिले पुष्टि भैरहेको छ । परिवर्तन भन्ने कुरा आधारभूत तहमा हुनुपर्ने हो, तर यसको लक्षण देखिइरहेको छैन ।
जनताले सरकारबाट विगतका कमजोरीहरू दोहोरिने अपेक्षा गरेका थिएनन् । अबको असार महिनाको ३० दिन भित्र राज्यका विभिन्न निकायहरूबाट अर्बौ रुपैयाँ खर्च गरिने भएको छ। बजेट सक्न र कमिसन पाउनका लागि जे पनि गरिएको छ । यसरी जनअपेक्षाविपरीत अघि बढाएको असारे विकासले आमतहमा निरासा र आक्रोश नै जन्माएको छ ।
असारे विकासलाई असारे भेलले नै बिगतमा बगाइदिएको परिवेशमा जनता दुःखी भए पनि जनप्रतिनिधिहरूलाई भने यथेष्ट खुशी दिएको महसुस गरिएको छ । किनकि, अर्को वर्ष पनि उनीहरूले यसैगरी विकास गर्ने अवसर पाउनेछन् र राज्यको स्रोतमाथि कानुनी रूपमै दोहन गर्न पाउने छन् । हिजो पनि यस्तै थियो र आज पनि यही नियति दोहोरिएको छ ।
सत्तामा नपुग्दासम्म बेथितिलाई अन्त्य गर्ने भाषण गर्नेहरू तरिका बदलेर आफै भ्रष्टाचारमा लिप्त भएका छन् । राजनीति सेवा नभएर जागिर बन्न पुगेको छ । बरु विगतको निरङ्कुश र तानाशाही भनिएको राज्यको पालामा समेत राजनीति यसरी ‘जागिर’ बनेको थिएन जो आज अनुभूति गर्नुपरेको छ ।
समाजवादको नारा र समृद्धिको सपना बेचेर सङ्घीय चुनावमा व्यापक जनमत हासिल गरेको नया दलपनि सत्तामा छ । तर, जनताका अपेक्षाहरूलाई उपेक्षा गर्दै मन्त्रीले पुरानै दलका नेताको अनुशरण गर्दै अनौठा र उराठलाग्दा व्यवहार गर्न थालेको आभाष हुन् थालेको छ। मन्त्रि हरुले नै काम गर्न नसकेको बरु राजिनामानै गोजीमा बोकेर हिडेको लाचार अभिव्यक्ति दिदै हिडेका छन्।
नयाँ दलले देशमा रहेको बेथितिलाई रोक्ने, देशमा शुसासन कायम हुने जुन अपेक्षा जनताको रहेको थियो त्यो पनि निराशामा परिणत हुने स्थिति देखिदै छ।
सत्ता बाहिर रहँदा राजनीतिक दलहरूले गरेको भाषण खोक्रो आदर्श मात्र रहेछ भन्ने सामान्य जनताले पनि बुझ्न थालेका छन् । प्रमुख राजनीतिक दलहरूको व्यवहार देख्दा त नेपालमा लोकतन्त्र नफाप्ने नै हो कि भन्ने धारणा पनि व्याप्त बन्न पुगेको छ ।
के यस्तै हुन्छ त गणतन्त्रमा ? यस्तै तन्त्रलाई भनिन्छ लोकतान्त्रिक गणतन्त्र ? यस्तै शासन प्रणाली र बेथितिका लागि थियो निरङ्कुशताविरुद्ध आमनेपाली, राजनीतिक दलहरू, समाजका विभिन्न तहतप्का, वर्ग, क्षेत्र, जाति–जनजातिले वर्षौंदेखि प्रजातन्त्रको लडाइँ लडेको ?
प्रजातन्त्र पुनर्स्थापना भएको पनि आज तीन दशक पूरा भइसकेको छ । गणतन्त्र आएको पनि बिस वर्ष पुग्न लाग्यो । के यो थोरै समय हो ? अहिलेसम्म लोकतन्त्र संस्थागत गर्ने, राजनीतिक स्थिरता कायम गराउने भन्दै जनतालाई ढाँट्ने काम गरिएको छ । यही तालले कहिले हुन्छ लोकतन्त्र संस्थागत ? कहिले हुन्छ राजनीतिक स्थिरता र शान्ति ? दलका नेतामा लोभ–लालच बढेको बढ्यै छ ।
हृदयमा इमान, काँधमा कर्तव्य सम्झेर देश र जनताको सेवा गर्ने इमानदार नेता खोज्नु भनेको यहाँ स्यालको सिङ खोज्नुबराबर जस्तै भएको छ । सचेत नागरिकले मात्र होइन, अब त यस्ता कुरा आम तप्कासम्मले बुझेका छन्,जुन जोगी आए पनि कानै चिरेको महसुस गरेका छन्।
अब फेरि प्रश्न उठ्छ– ‘के यस्तै नेताहरुको भरमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देश नेपालले समयसुहाउँदो ढङ्गमा आफ्नो मुहार फेर्न सक्ला त ?’ यो प्रश्नको सकारात्मक जवाफ सुन्न पाइने दिन कहिले आउला ?
लेखक गुल्मी क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि हुन् ।