अछाम, जेठ ३० : महिनावारी भएर छाउ बार्न छाउपडी गोठमा बसेकी तुर्माखाँद गाउँपालिका–४, जुयगाउँकी १८ वर्षीया पार्वती बुढाको शनिबार राति सर्पले डसेर मृत्यु भयो। तर स्थानीयवासी, जनप्रतिनिधि र स्वयंसेविकालगायतले छाउगोठमा मृत्यु भएको कुरा लुकाउनुपर्ने सल्लाह गरे।
पार्वतीसँगै सुतेकी उनकी बहिनी राधिकालाई सत्य कुरा नखोल्न सबैले दबाब दिए पनि उनले भनिन्, ‘सर्प दिदीको जिउमा खस्यो र औंलामा डस्यो, म अत्तालिएँ। छाउगोठमै दिदीको मृत्यु भएको हो।’
यसरी छाउगोठमासँगै सुतेको दिदीलार्इ सर्पले डसेर मृत्यु भएको दृश्य देखेकि राधिकाको मानसपटलमा के खेलिरहेको छ ? के उनी अझै छाउगोठमै बस्न सक्छिन् ? उनको मनोविज्ञान बुझेर कसले उनलार्इ घरभित्रै बस्न भन्छ ? हरेक रात मृत्युसँग लडेर फिर्ता भएको पिडा कसले बुझिदिन्छ ? त्यो परिवार र समाजका सामु यो अह्म प्रश्न छ ।
दश वर्ष अगाडिदेखि मात्र छाउगोठमा ज्यान गुमाउनेहरुको तथ्यांक राख्न थालिएको हो। हरेक महिना १० जनाले छाउगोठमा ज्यान गुमाउनु परेको छ । त्यसभन्दा अगाडि कतिले ज्यान गुमाए भन्ने अत्तोपत्तो नै छैन। विशेष गरी सुदुर नेपालका अभिभावकलाई यसरी अनाहकमा आफ्ना छोरी, बुहारी, आमा, दिदी, बहिनी, अन्य नातेदारलगायत साथीहरुको छाउगोठको कारणबाट हुन जाने महिला हिंसा र मृत्युसमेतमा घटना घटिसकेपछि मात्र दुःख व्यक्त गर्नुबाहेक यसको विरुद्धमा खासै प्रगतिको अनूभूति प्राप्त गर्ने कार्यमा ध्यान पुगेको देखिँदैन।
एक्लै सुतेका बेला कुनै पनि बालिका तथा किशोरीमाथि घट्ने कुनै पनि घटनाको प्रतिकार गर्ने क्षमता बालिका तथा किशोरी एक्लैले राख्नै सक्दैनन्। उनिहरुलाई अप्ठ्यारो परेको बेलामा कुनै सहयोगीको उपस्थिति हुँदैन।
सुदुरका चेलीहरुलार्इ रजस्वला हुँदा गोठमा बस्नुपर्ने मानिसक रुपमा तयार गरिएको हुन्छ । उनीहरुलार्इ घरमा बस्न आग्रह गर्दा पनि मान्दैनन्।
यसका विरुद्ध सुदुरमा धेरै अभियानहरु चलाइए । यसका विरद्ध, धेरैले विदेशीको पैसा ल्याएर छाउपडी प्रथा उन्मुलनको नाममा पैसा खाए र महल ठड्याए । तर, वास्विकता दिनहुँ पार्वतीहरुले ज्यान गुमाउनु परेको छ । यस्ता परियोजनामुखी अभियानले ज्यान गुमाउनेहरुको संख्यामा र ज्यान गुमाउन बाध्य पार्ने त्यो समाज र सामाजिक कुरीतिमा कुनै परिवर्तन आएको छैन ।
के सुदुरमा जानेबुझेको मान्छे नभएको हो ? शिक्षित व्यक्तिको अभाव भएको हो ? यदी हो भने किन जनचेतना जगाउन सक्दैनन् ? अाफ्नो दिदिबहिनी, छोरीबुहारी, आमा फुपुहरुले मृत्युवरण गरेको किन टुलुटुलु हरेर बस्छन् ? कि रजस्वला भएको नारीलार्इ घरभित्र राख्ने उसकाे देउताले सम्वेदना लुटेको हो ? के अब अझै आफ्ना दिदिबहिनीहरुले ज्यान गुमाएको हेरेर बस्ने हो ? कहिलेसम्म यसरी ज्यान गुमाउनुपर्छ ?
के सुदुरबाट बाहिरी मुलुक गएका चेलीहरु पनि छाउगोठमै बस्छन् ? कि उनीहरुले देउतालार्इ सुदूरमै छोडेर गएका हुन् ? के रजस्वला हुनु नै अपराध हो ? होइन भने किन बित्थै ज्यान गुमाउनुपर्छ ? अरुलार्इ मरेको देखेरपनि नदेखे झैं नबुझै झै बन्ने जिउँदा लासहरुको समाजलार्इ कसले बुझाइदिन्छ ?
यी प्रश्नहरुको जवाफ कसले दिन्छ ?
सुदुर अनपढहरुको समाज हो की केही महिला अधिकारकर्मीहरु, शिक्षित, बुद्धिजीवि, राजनीतिककर्मी महिलाहरु पनि छन् । पुरुषले थिचोमिचो गर्योभन्दै आन्दोलन गर्ने उनीहरु यसका किन बवल्दैनन् । त
ती महिला अधिकारकर्मीहरु घरमा भएकोबेला रजस्वला हुँदा गोठमा गएर बस्छन् । सदरमुकाम अथवा बाहिर कार्यक्रममा जाँदा छाउपडी गोठ भत्काउने विषय चिच्याएर कराउँछन्, चिया चुरोट पिउँछन्, तारे होटलमै बस्छन् अनि गाउँ गएर तारे होटलमा खाएको खशीको फिला र अन्य पकवानको जोशमा दुर्इचार गोठहरु भत्काउछन् । समाचार बन्छ । पत्रपत्रिका तथा रेडियो अनलाइनहरुमा नाम आएकै भरमा उनीहरु अर्को कार्यक्रममा सहभागी हुने अवसर पाउछन् । तर, उनीहरु वा उनीहरुका छोरी, बुहारी वा अन्य महिला सदस्य रजस्वला हुँदा फेरी उनिहरुले गोठ बनाएर त्यही सुताउछन्।
यो तितसत्यबाट कहिले बाहिर नस्किने ? अझै बेला भएन र ?
गोठ भत्काउने कुरा ठुलो होइन। मानसिकता भत्काउन सक्नुपर्छ । हैन भने उनीहरुको देउता नै रिसाउछन भन्दैमा ज्यान दिन तयार हुनुहुदैन । घरभित्र बस्दा रिसाउने देउताले ज्यान जाँदा किन बचाउन सक्दैन ? ज्यान बचाउन नसक्ने भगवानका नाममा ज्यान दिनु न्याोचित हो ?
यदि होइन भने सुरक्षित आवास, आहार र लगाउने लुगामा सम्झौता गरिनुहुदैन । २१ औँ शताब्दिको सञ्चार र प्रविधिको युगको देउता रिसाउने नाममा परिवारका महिला सदस्यको ज्यानसँग सम्झौता गरिनु हुदैन ।
गरिबी र अन्धविश्वासको नाममा अब कुनै पनि चेलीले छाउगोठमा ज्यान गुमाउन नपरोस्। अब गोठ भत्काउने होइन कुमानसकिता भत्काउन जनचेतनाको खाँचो छ ।