ग्राउन्ड जिरो रिपोर्टिङ : छिनमै तहसनहस भएको थियो नेपाली बसेको बस्ती

| 2023 Oct 20 | 08:01 am 897

निर्वज, इजरायल। चार सय जना इजरायली किसान परिवार बस्ने निर्वज किबुज यतिखेर रित्तो छ । यो सानो गाउँमा फेरि पहिलेजस्तै गरी स्थानीय आएर बस्ने कुनै निश्चित छैन ।

निर्वज किबुजभित्र छिर्नेबित्तिकै पहिलो घर स्थानीय ५७ वर्षीय रिओजको आउँछ । यो घर जलेर खरानी छ । ‘मेरो घर मात्रै जलेको छैन, बूढी भएकी ७५ वर्षीया आमा जल्नुभो । ८ वर्षीया नातिनी जलिन् । ३२ वर्षीय छोराले गोली खायो,’ गहभरि आँसु पार्दै रिओजले कान्तिपुरसँग भने, ‘मैले सर्वस्व गुमाएँ । आमा र नातिनी जिउँदै जल्नुपर्‍यो । उनीहरूले यसरी जल्नुपर्ने के अपराध गरेका थिए ?’

गत असोज २० को बिहान सूर्य उदाउँदै थियो । शनिबार बिदा भएकाले सबै किसान घरमै थिए । पर्व मनाउन अघिल्लो दिन शुक्रबार तेल अभिभ र जेरुसेलममा रहेका परिवारका सदस्यहरू पनि निर्वजमा आइपुगेका थिए । बिदाको दिन इजरायलमा कुनै काम गरिँदैन । तर, घामको किरणसँगै गाजा क्षेत्रबाट रकेटहरू बर्सिन थाले । प्यारासुटमा आएका हमासका लडाकु किबुजभित्र माहुरीझैं प्रवेश गरे । घरभित्र छिरीछिरी मान्छेलाई चराझैं ढालिदिए । यो किबुजमा मात्रै सय जनाले ज्यान गुमाए । ‘हमासले घरघरभित्र छिरेर हाम्रो परिवारलाई मारिदियो । प्रत्येकको घर जलाइदिए । गाडी जलाइदिए । मेरो ८२ वर्षीय बुबालाई बन्धक बनाएर लिएर गए,’ ४० वर्षीय एलियाले भने, ‘यो ठाउँ देखेर नै त्यो दिन कुन हदसम्मको आतंक थियो भन्ने अनुमान गर्न सक्नु हुनेछ ।’

खेती लगाउने ट्र्याक्टरहरू, पार्किङमा राखिएका सबै गाडी जलाइएका छन् । नजलेका घर तोडफोड भएका छन् । लुटपाटबाट नजोगिएको घर छैन । कसैको टेबलमा आधा मात्रै चिया छ । कसैले आधा मात्र पाउरोटी खाएर छाडिएको देखिन्छ । कुनै किचनमा कुकर बसालिएको छ । बच्चाका खेलौनाहरू वरिपरि फालिएका छन् । ठाउँ–ठाउँमा रगतका टाटा देखिन्छन् ।

‘गाउँ सुन्दर थियो, शान्त थियो । गाउँलेबीच एकता थियो, हरेक काम सामूहिक गर्थ्यौं,’ एलियाले भने, ‘गाउँलेको आम्दानीको मुख्य स्रोत कृषि हो । हामी निकै मिहिनेतसाथ काम गरेर बसिरहेका थियौं । अहिले सबै ध्वस्त भएको छ । गाउँलेहरू फर्केर खेतीकिसानीको काम थाल्न अब निकै कठिन छ ।’

हमास लडाकुको नियन्त्रणमा रहेको यो किबुजमा बाँचेका स्थानीयलाई उद्धार गर्न इजरायली सेनालाई २० घण्टा लाग्यो । यहाँबाट हमासले ८५ वर्षीय एफ्फा अदेरलाई नियन्त्रणमा लिएर गएको थियो । ‘मेरो हजुरआमा धेरै रोगबाट ग्रसित हुनुहुन्थ्यो, औषधिबिना कसरी बाँचिराख्नुभयो होला ?,’ नाति अदवाले भने, ‘कतै मारेर पो फालिदियो कि !’

गाउँलाई सुरक्षा दिन तारबार गरिएको छ । गाउँ र गाजापट्टीबीच दुई किलोमिटर दूरी छ । गाउँबाट दक्षिणतिर खेतीयोग्य जमिन छ । खेतीयोग्य जमिनले गाजापट्टीको सीमालाई छोएको छ । त्यही सीमाबाट इजरायली सीमाबारलाई भत्काएर आएको हमासले सीमा क्षेत्र नजिकैका किबुजहरू ध्वस्त बनाइदिए । इजरायल र गाजापट्टीको सीमा क्षेत्रमा करिब २१ वटा कृषक समुदायको बस्ती छ । एक बस्तीबाट अर्को बस्तीको दूरी करिब तीन किलोमिटर पर्छ । निर्वज किबुजबाट नेपाली विद्यार्थी मारिएको अलुमिमको दूरी भने १९ किमि मात्रै छ । अलुमिममा सेनाले सुरक्षाको कारण देखाउँदै अझै कसैलाई पनि प्रवेश दिएको छैन । यहाँका २१ वटै किबुजमा नेपालीले काम गर्थे । अरू किबुजमा काम गर्ने नेपाली ज्यान जोगाउन सफल भए । अलुमिमका १० विद्यार्थीले भने ज्यान गुमाउनुपर्‍यो । ‘हमासको निसानामा धेरै किसान परिवार परे,’ उनले भने, ‘अहिले अधिकांश किबुज सुनसान छ ।’

अक्टोबर ७ मा हमासले अप्रत्याशित आक्रमण गरेयता दुवैतर्फ ठूलो मानवीय क्षति बेहोर्नुपर्‍यो । इजरायलले शनिबारयता निरन्तर हवाई आक्रमण गरिराख्दा गाजापट्टीमा बिहीबारसम्ममा ३ हजार ७ सय ८५ जनाले ज्यान गुमाइसकेका छन् भने १२ हजार ४ सय ९३ जना घाइते भएका छन् । इजरायलमा १० नेपालीसहित १ हजार ४ सय ३ जनाको ज्यान गएको छ । ४ हजार ६ सय २९ जना घाइते भएका छन् ।

वेस्ट बैंकतर्फ ७५ जनाको मृत्यु र १ हजार ३ सय जना घाइते छन् । कञ्चनपुरका विपिन जोशीसहित २ सय ५० जना हमासको बन्धकमा छन् । गाजा क्षेत्रमा दिनहुँ मानवीय संकट गहिरिँदो छ । इजरायलले नाकाबन्दी लगाइदिएपछि खाद्यान्न, पानी र पेट्रोलको संकट भयावह बनिरहेको छ । इजरायलले नियन्त्रणमा रहेका आफ्ना नागरिकको रिहाइ नभएसम्म मानवीय सहायता रोक्ने अडानमा छ । उसले दक्षिण गाजा क्षेत्रका स्थानीय बासिन्दाको हातमा राहत सामग्री दिन भने लचकता देखाएको छ ।

अहिलेसम्म सीमा क्षेत्रमा आमने–सामने भिडन्त भएको छैन । एकअर्काले हवाई आक्रमण जारी राखेका छन् । इजरायल र हमासबीचको युद्धले अन्तर्राष्ट्रिय समुदायसमेत दुई ध्रुवमा विभाजित छन् । हरेक दिनजसो इजरायलमा अन्तर्राष्ट्रिय नेताहरू साथ र समर्थनका लागि आउने क्रम जारी छ । ‘हाम्रो सानो परिवार थियो, खुसीले बसिरहेका थियौं । अब यो युद्ध कहाँ गएर कसरी टुंगिन्छ, थाहा छैन । म आफैं युद्धमा होमिएको छु,’ रुथले भने ।

(कान्तिपुरबाट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.