कोप–२८ मा एक लाख सहभागी,जलवायु संकटमा चौतर्फी चासो

| 2023 Dec 05 | 07:47 am 1221

काठमाण्डौ, मंसिर १९ ।जलवायु संकट गहिरिँदै जाँदा बर्सेनि हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा सहभागी हुनेको संख्यामा पनि ना  टकीय वृद्धि भएको छ। विभिन्न देशका सहभागीका हिसाबले हाल दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२८ ले रेकर्ड राख्ने देखिएको छ।

युएनएफसिसीका अनुसार ९७ हजार सहभागीले यो सम्मेलनमा सहभागी हुन ब्याच लिएका छन्। भर्चुअल माध्यमबाट यो सम्मेलनमा ३ हजारको सहभागिता रजिस्ट्रेसन भएको छ। यसरी भौतिक र भर्चुअल दुवै गरी सम्मेलनमा सहभागी हुनेको संख्या झन्डै १ लाख पुगेको छ। गत वर्ष इजिप्टको सर्म एलसेखमा सहभागीको संख्याभन्दा यो दुई गुणा बढी हो। सर्म एलसेख सम्मेलनले पनि त्यसअघिका ३० वर्षको तुलनामा सर्वाधिक सहभागिता गराएको थियो। त्यसअघि अर्थात् सन् २०२१ मा बेलायतको ग्लास्गोमा भएको सम्मेलनमा ३८ हजार सहभागी थिए। सन् १९९५ मा बर्लिनमा भएको पहिलो कोप सम्मेलनमा ३ हजार ९६९ सहभागी थिए।

कोप–२८ मा सहभागी संख्याको हिसाबले कुल ४ हजार ४०९ जना प्रतिनिधिसहित आयोजक राष्ट्र संयुक्त अरब इमिरेट्स (युएई) पहिलो नम्बरमा छ भने त्यसपछि ३ हजार ८१ सहित ब्राजिल दोस्रो नम्बरमा छ। त्यसपछि चीन र नाइजेरिया दुवैले १ हजार ४११ प्रतिनिधिका लागि ब्याच लिएका छन्। सम्मेलनको अन्तमा युएनएफसिसीले सहभागीको यकिन संख्या सार्वजनिक गर्ने भएकाले यी संख्या प्रारम्भिक हुन्। यसैगरी यसपटक स्प्रेडसिटमा सम्पूर्ण सहभागीको नामसमेत सार्वजनिक गरिएको छ।

कार्बन ब्रिफ नामक वेबसाइट र युएनएफसिसीले गरेको एक समीक्षाअनुसार विश्वका गैरसरकारी संस्थाहरूका १४ हजार ३३८ सहभागी पर्यवेक्षकका रूपमा दुबई सम्मेलनमा सहभागी छन्।

यो समूहको प्रतिनिधित्व गर्ने संख्याका हिसाबले पनि यो हालसम्मकै सर्वाधिक हो। यसैगरी यो सम्मेलनमा सर्वाधिक ३ हजार ९७२ सञ्चारकर्मीले सहभागिता जनाए । यसअघि सन् १९९७ क्योटोमा आयोजना भएको कोप–३ मा कुल ३ हजार ७१२ सञ्चारकर्मी सहभागी थिए।

यो सम्मेलनमा उत्तर कोरियाले सबैभन्दा कम अर्थात् २ प्रतिनिधि पठाएको छ भने निकारागुआले ६ जना र इरिट्रियाले ७ जना प्र्रतिनिधि पठाएका छन्। अफगानिस्तान र मियान्मले पछिल्ला तीन वर्षझैं यसपटक पनि कुनै प्रतिनिधि पठाएका छैनन्। यसैगरी लैंगिक हिसाबले सम्मेलनमा ६२ प्रतिशत पुरुष र ३८ प्रतिशत महिला सहभागिता रहेको देखिएको छ।

हालसम्मको प्रगति

जलवायु हानिनोक्सानी कोषको स्थापना र सञ्चालन प्रक्रियाबारे सम्मेलनको पहिलो दिनमै अनुमोदित भयो। यो निर्णय गराउन कोप–२८ का अध्यक्ष सुल्तान अल जाबेर सफल रहे। उनले यो विषयले सम्मेलनलाई हाइज्याक गर्न सक्ने सम्भावनाबाट पनि बचाए। यो कोषमा विकसित राष्ट्रले स्वैच्छिक योगदान गर्ने भएकाले हालसम्म प्रतिबद्धता गरिएको रकम अत्यन्त कम र अपर्याप्त रहे पनि कोष सञ्चालनको निर्णयलाई ऐतिहासिक मानिएको छ।

हानिनोक्सानी कोषमा भएको सहमतिपछि यो सम्मेलनमा पेरिस सम्झौताको प्रगति समीक्षा (ग्लोबल स्टकटेक) ले केन्द्रीय महत्त्व पाएको छ। विश्वको सरदर तापमान वृद्धिलाई यो शताब्दीको अन्तसम्म सकेसम्म १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्न विश्वका राष्ट्रले सार्वजनिक गरेका लक्ष्य र कार्यक्रमको कार्यान्वयनको समीक्षा हुनेछ। संयुक्त राष्ट्रसंघले तत्काल ठोस प्रयास नगरेको खण्डमा यो शताब्दीको अन्तसम्ममा औद्योगिक क्रान्ति सुरु हुुनुअघिको तुलनामा तापमान ३ डिग्रीले बढ्ने र यसले अर्बाै मानिसको जीपनयापन र स्वास्थ्य संकटमा पार्ने चेतावनी दिएको छ।

यसैगरी पृथ्वीको तापमान बढाउन जिम्मेवार मानिने खनिज इन्धनको विस्थापन गर्ने विषय अर्काे महत्त्वपूर्ण विषय रहेको छ। यसैगरी विकसित राष्ट्रले यसअघि व्यक्त गरेका जलवायु वित्तका प्रतिबद्धता पूरा हुनुपर्र्ने, जलवायु संकटबाट अत्यधिक प्रभावित रहने महिला, बालबालिका, अपांगता भएकालगायत समुदायको सुरक्षा तथा हकहितको विषय पनि सम्मेलनमा महत्त्वपूर्ण बने।

( नागरिकबाट )

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.