कांग्रेसले प्रचण्डलाई काधमा बोक्नुको कुनै अर्थ देखिएन : कृष्ण प्रसाद सापकोटा

रिपोर्ट नेपाल | 2023 Sep 01 | 01:46 pm 24421

 

 

परिणाम भन्दा कारण महत्वपूर्ण हुन्छ । बन्दुक पड्कनु परिणाम हो । बारुद र आगोको समिश्रण कारण हो । बारुदमा आगोको झिल्को मिसाइदिए पछि विष्फोट हुन्छ । विष्फोट रोक्ने हो भने बारुदमा आगोको झिल्को पर्न दिनु हुन्न । पहिले कारणको उपचार गर्नु पर्छ । कारणको उपचार विना परिणाम टार्न सकिन्न । हो संवृद्ध धरान यतिबेला तनावग्रस्त छ । कुनै पनि बेला जल्न सक्छ ।

नगरपिता भनिएका हर्क साङ्पाङ्ले आफ्नो भूमिका निर्वाह गर्न सकेका छैनन् । उल्टै उनी समस्याका कारकका रुपमा देखिएका छन् । अर्थात अहिले धरानमा उत्पन्न समस्याहरुमध्येका एक जना साम्पाङ्ग पनि हुन् । तर साम्पाङ्ग समस्याका कारण मात्रै होइनन् परिणाम समेत हुन् ।

यस्ता अराजक व्यक्तिले उपमहानगरपालिकाको मेयर जस्तो जिम्मेवार पदमा चुनाव जित्नु आँफैमा दुखद घटना थियो । उनले चुनाव जित्ने गरी परिणाम आउनुको मुख्य कारण थियो, नेपाली कांग्रेस र माओवादीवीच भएको चुनावी गठवन्धनलाई जनताले नरुचाउनु ।’

दुई वर्ष अघि मात्रै भएको उपनिर्वाचनमा एमाले र माओवादी एक ठाउँमा उभिँदा पनि नेपाली कांग्रेसका उम्मेदवारले भारी मत अन्तरमा चुनाव जितेको ठाउँ हो धरान । त्यसभन्दा अगाडि एमालेका उम्मेदवारहरुले दोब्बर भन्दा बढी मतले चुनाव जित्दै आइरहेको ठाउँ पनि धरान हो । तर यस पटक एमालेका उम्मेदवार तथा कांग्रेस–माओवादीका उम्मेदवारलाई भारी मतले पछार्दै हर्क साम्पाङ्ग चुनाव जिते ।

नेपालमा अराजकता मच्चाएर साम्प्रदायिकताको बारुदमा आगो झोस्नका लागि विभिन्न स्वार्थ समुहले धरान नै रोज्नुको मुख्य कारण मेयर साम्पाङ्गको गतिविधि त हुँदै हो, माओवादी केन्द्र पनि यो मामिलामा अछुतो छैन । जातीय विद्धेषको बारुद नेपालमा सर्वप्रथम विछ्याएको माओवादीले नै हो । कथित जनयुद्धका नाममा माओवादीले जातीय संगठन गर्यो । जातीय संगठन गर्ने नाममा एक जातिले अर्को जातिलाई घृणा गर्ने खुराक सोझा जनतालाई पिलायो । सुदु्रपुर्वी पहाडी क्षेत्रका लिम्बुहरु कहाँ गएर भन्यो –‘ नेपाल एकीकरण अघि तपाँइहरुको छुट्टै राज्य थियो । गोरखालीहरुले जवरजस्ती हडपे, हामी तपाँइहरुको लिम्वुवान राज्य फिर्ता ल्याउँछौं , त्यसपछि मुख्यमन्त्री पदमा तपाईहरुको एकाधिकार हुनेछ ।’

मध्यपूर्वी पहाडी क्षेत्रका राईहरुलाई पनि माओवादीले यसै भन्यो । काठमाडौं उपत्याकाका नेवार मात्रै होइन आसपासका तामाङजातिलाई पनि माओवादीले यही चारो फ्याँक्यो । तराईमा थारु, मधेसी र मुस्लिमलाई यस्तै हरियो घाँस देखायो । गण्डकी क्षेत्रका गुरुङलाई तमुवान राज्य र मगरलाई मगरात राज्यको प्रलोभन देखाएर माओवादीले आफ्नो संगठन बिस्तार गर्यो । माओवादीका नेताहरुले गाई गोरु काटेर भोज लगाए । त्यसैको परिणाम अहिले देशमा देखिंदैछ ।

संस्कृत विद्यालयका प्राचर्य मार्ने र विद्यार्थीहरुको टुप्पी काट्ने अभियान नै चलायो माओवादीले । भागवत पुराण वाचन गर्दै गरेका पण्डितलाई वासस्थानमै गोली हानेर मार्ने कुरा माओवादीका लागि सामान्य रह्यो । अहिले धरानमा देखिएको समस्याको कारण यही हो । माओवादीले जातिय राज्यको एजेण्डा छाडेपछि विस्तारै नेपालमा जातीय सद्भाव लयमा फर्किन थालेको थियो । छिटफुट घटना त अपवाद मात्रै थिए । माओवादीले जातीय राज्यको घाँस देखाएर हामीलाई धोका दियो भन्ने महशुस गर्ने तप्का जनजाति समुदायमा नभएको होइन, तर माओवादीलाई जस्तै यो तप्कालाई पनि जनताले साथ छाडिसकेका थिए ।

यसैवीच डा. बाबुराम भट्टराई माओवादीबाट उछिटिएर फेरी जातीवादी राजनीतिमा सक्रिय भए । आङकाजी शेर्पाको उदय गराए । धरानको चर्च तथा गोरु काण्डमा त डा. भट्टराई तथा आङकाजीहरु स्थलगत भ्रमणमै पुगे । बाबुराम र आङकाजीको यो गतिविधिले माओवादी पार्टी थप खिइने स्पष्ट संकेत देखियो । सायद त्यही संकेत बुझेर हुन पर्छ, प्रधानमन्त्री प्रचण्डले केही साता अघि आदिवासी जनजाति दिवसको कार्यक्रममा आपत्ति जनक अभिव्यक्ति दिए । आफ्नो पार्टीको एकल बहुमत आएको अवस्थामा जातीय पहिचान सहितको संघीयता लागु गर्ने दृढता प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले व्यक्त गरे । प्रचण्डको यही अभिव्यक्तिको परिणाम हो, धरानको गोरु काण्ड ।

प्रचण्ड र डा.बाबुराम भट्टराई बीचको राजनीतिक प्रतिस्पर्धामा खेल्नेहरुले मुलुकलाई कहाँ पुर्याउँछन् ? त्यसको ठेगान छैन । जनयुद्धका नाममा आफैले थुपारेको बारुदमा कसले पहिले आगो झोस्ने ? भन्ने होडवाजीमा प्रचण्ड र बाबुराम छन् । धरान जल्नु भनेको सिंगो देश जल्नु हो भन्ने हेक्का अन्य राजनीतिकदलहरुले नराख्ने हो भने अब देश खतरामा छ । जति सक्दो छिटो प्रचण्डलाई प्रधानमन्त्री पदबाट मुक्त गर्नुपर्ने बेला आइसकेको छ ।

अब के का लागि प्रचण्डलाई प्रधानमन्त्री पदमा राखिरहने ? नेपाली कांग्रेस समक्ष पनि यो मामिला यक्ष प्रश्नका रुपमा खडा भएको छ । यतिबेला प्रधानमन्त्रीका रुपमा प्रचण्डको कार्यकाल तेस्रो हो । यो तेस्रो कार्यकालका लागि उनलाई प्रधानमन्त्री बनाएको एमालेले हो , नेपाली कांग्रेसले होइन । तर यतिबेला भने प्रचण्डको रक्षा कवच एमाले होइन, नेपाली कांग्रेस हो । के का लागि प्रचण्डको रक्षा कवच बनेको हो ? भन्ने प्रश्नको सही उत्तर नेपाली कांग्रेसका नेताहरुले जनतालाई दिन सक्ने अवस्था अब रहेन । केही थान नेताहरुलाई राज्यका पदमा पुर्याउनु बाहेक नेपाली कांग्रेसले प्रचण्डलाई काँधमा बोक्नुको कुनै अर्थ देखिएन । अर्कातिर राज्यको पदमा पुगेका कांग्रेसका नेताहरुले आफ्नो औचित्य सिद्ध गर्न सकेनन् ।
नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री तथा मन्त्री बन्नेहरुको हालत पनि यो भन्दा पृथक छैन । उनीहरुले अर्को चुनावमा नेपाली कांग्रेसको भोट घट्ने गरी गतिविधि अघि बढाइरहेका छन् । अब नेपाली कांग्रेसलाई जोगाउने हो भने सरकारबाट फिर्ता हुनु बाहेक अर्को विकल्प छँदै छैन ।

हामीले संसदीय लोकतन्त्र अवलम्वन गरेका छौं । संसदीय लोकतन्त्रमा सबैभन्दा ठूलो पार्टीले कि त सरकारको नेतृत्व गर्छ, की त प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्छ । नेपाली कांग्रेसको सैद्धान्तिक जग नै यही हो । यति भन्दै गर्दा कहिले काँही आवश्यकताको सिद्धान्त आकर्षित नहुने भन्ने होइन । कहिले काँही नेतृत्व नपाए पनि सरकारमा सहभागी हुनु पर्ने अवस्था समय र परिस्थितिले जन्माउँछ । उदाहरणका लागि २०७३ बैशाखको अवस्थालाई लिन सकिन्छ । २०७२ साल चैत २ गते संविधान जारी भए पछि एमाले र माओवादीले घेराबन्दी गरी नेपाली कांग्रेसका सभापति समेत रहेका तत्कालिन प्रधानमन्त्री सुशील कोइरालालाई पदबाट राजीनमा दिन बाध्य बनाए ।

संविधान निर्माण तथा घोषणामा सर्वोपरी भूमिका निर्वाह गरेवापत कुनै शक्ति केन्द्रको इशारामा दिइएको दण्ड थियो यो । यो दण्डलाई स्वीकार गर्दै नेपाली कांग्रेसले केही महिना रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्यो । तर प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले संविधान कार्यन्वयनका लागि भाँजो हाले । न त संविधानसँग बाझिएका कानुनहरु संसोधन गर्ने तर्फ ध्यान दिए , न त आम निर्वाचन तथा स्थानीय निर्वाचनका लागि आवश्यक कानुन बनाउने तर्फ ध्यान दिए ।

चुनाव नै नगराई बाँचुन्जेल प्रधानमन्त्री भइरहने सपना देख्दै ओलीले षड्यन्त्रका तानाबाना बुन्न थाले । यस्तो अवस्थामा लोकतन्त्र तथा संविधानको रक्षाका लागि ओलीलाई विस्थापित गर्नु बाहेक अर्को विकल्प थिएन । ओलीलाई विस्थापित गर्नका लागि तेस्रो दलकै भए पनि माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनु बाहेक अर्को बिकल्प कांग्रेससँग थिएन ।

त्यतिबेला नेपाली कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाएको लोकतन्त्र तथा संविधानको रक्षाका निम्ति अर्को बिकल्प हुँदै नभएका कारण हो । जब प्रचण्डले आम निर्वाचन २०७४ को सम्मुखमा रहस्यमय ढंगबाट प्रतिपक्षी एमालेसँग चुनावी तालमेल गरे, त्यस बेला देखि नै माओवादी सँग नेपाली कांग्रेसको सहकार्यताको औचित्य समाप्त भइसकेको थियो ।

अब प्रचण्ड जति दिन प्रधानमन्त्री पदमा रहन्छन् नेपाली कांग्रेसले त्यति नै बढी लोकप्रियता गुमाउँदै जाने निश्चित जस्तै छ । किनकी प्रधानमन्त्रीका रुपमा प्रचण्डले कुनै राजनीतिकदललाई टार्गेट बनाएका छन् भने नेपाली कांग्रेसलाई नै बनाएका छन् । कांग्रेस कमजोर भयो भने मात्रै आफ्नो गुलामी गरिरहन्छ भन्ने रणनीति प्रचण्डले अवलम्वन गरिरहेका छन् ।

चाहे भुटानी शरणार्थी प्रकरण होस् , चाहे ललिता निवास जग्गा प्रकरण होस् , चाहे सय किलो सुन तस्करी प्रकरण होस् , त्यसको जस प्रचण्डले लिइरहेका छन् । अपजस जति नेपाली कांग्रेसको टाउकोमा खान्याइरहेका छन् । वर्तमान सरकारले गरेका राम्रा कामको सबै जस प्रचण्ड र नारायणकाजीले पाउने नराम्रो कामका सबै अपजस नेपाली कांग्रेसको थाप्लोमा बज्रने गरी घटनाक्रम विकसित भइरहेका छन् ।

हुँदा हुँदा आदिबासी दिवसका अवशरमा प्रचण्डले दिएको उत्तेजक अभिव्यक्तिको मुल्य नेपाली कांग्रेसले चुकाउनु परेको छ । किनकी प्रचण्डको यो अभिव्यक्तिले उत्पन्न गराएको परिणामलाई राप्रपाले क्यास गरेको छ । राप्रपाको जनमतवृद्धि हुनु भनेको नेपाली कांग्रेसको घट्नु हो ।

अर्कोतिर चाहेर पनि नेपाली कांग्रेस गोरुकाण्ड र चर्चकाण्डको विरोधमा उत्रन सक्ने अवस्था छैन । किनकी मुलुकलाई द्धन्दमा जान नदिनका लागि अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने ऐतिहासिक दायित्व पनि नेपाली कांग्रेसकै काँधमा छ ।

(लेखक नेपाली कांग्रेस गुल्मी क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि हुन् । )

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.