कमल प्रसाद देवकोटा
विगत तीन दशक यता केही अपवाद बाहेक नेपाली कांग्रेस र नेकपा एमालेले नै जनताबाट सत्ता संचालनको म्याण्डेट पाइरहेका छन् । एक पटक २०६४ सालमा अपवाद स्वरुप माओवादी केन्द्रलाई जनताले सबै भन्दा ठूलो पार्टी बनाएका थिए , तर जनआकांक्षा संवोधन गर्न माओवादीले सकेन । त्यस पछि माओवादी पार्टी आफ्नो अस्तित्व रक्षाको चरणमा छ ।
माओवादी यतिबेला पनि तेस्रो पार्टी हो , तर यो पार्टीको मत तथा सिट अन्तर कांग्रेस र एमालेको तुलनामा निकै नै कम छ । जनमत र सिट संख्या कम भए पनि कांग्रेस र एमालेलाई कज्याएरै माओवादी केन्द्रले सत्ताको नेतृत्व गरिरहेको छ । निकै ठूलो अन्तरको तेस्रो दल माओवादीका अध्यक्ष प्रचण्ड २०६५ साल पछि पनि दुई पटक प्रधानमन्त्री भइसकेका छन् ।
२०५१ सालको मध्यावधि निर्वाचन नेपाली कांग्रेसको असक्षमताको उपज थियो । जस बापत जनताले दण्डित गरेर कांग्रेसलाई दोस्रो दलमा झारिदिए । करिव ८५ सिट सहित कांग्रेस दोस्रो पार्टी बनेको थियो । करिव ८७ सिट सहित एमाले पहिलो पार्टी बनेको थियो भने करिव २० सिट सहित राप्रपा तेस्रो पार्टी बनेको थियो ।
तर राप्रपालाई सरकारको नेतृत्व सुम्पन कांग्रेस र एमाले तछाँड माछाड गर्न थाले । पूर्वपन्चहरुको पार्टील राप्रपाले पनि बहुदलीय व्यवस्थालाई सकेसम्म बद्नाम गराउने मौका चुकाएन । बहुदलीय व्यवस्था प्रति आम जनतामा वितृष्णा पैदा भएको त्यतिबेलै देखि हो । बहुदलीय प्रजातन्त्रलाई बद्नाम बनाउनु त पूर्वपन्चहरुको कर्तव्य नै थियो । उनीहरुले आफ्नो कर्तव्य निर्वाह गरे । पूर्वपन्चहरुलाई बोकेर आलोपालो सत्तामा पु¥याउनु कांग्रेस एमालेको गम्भीर कमजोरी थियो ।
मुल रुपमा कांग्रेस र एमालेको असक्षमता त्यस पछि एकातिर दरवार र अर्कोतिर माओवादीको प्रहारका कारण २०४६ सालमा स्थापना भएको बहुदलीय प्रजातन्त्र समाप्त भयो । २०५९ असोज १८ देखि २०६३ बैशाख ११ सम्म राजा ज्ञानेन्द्र शाहले प्रतक्ष शासन चलाए ।
जनताको संघर्षद्धारा फेरी प्रजातन्त्र स्थापना भयो । जसलाई संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने गरिएको छ । यो शासन व्यवस्थाको अभ्यास सुरु भएको पनि १५ वर्ष वितिसकेको छ । १५ वर्ष वित्दै गर्दा जनतामा फेरी निराशा देखिएको छ । जनताले शासन सत्ताको नेतृत्व गर्ने म्याण्डेट कांग्रेस र एमालेलाई दिएका छन् , तर हाली मुहाली माओवादीको छ । विगत ३० वर्ष देखि नेपाली कांग्रेस र एमालेलाई जनताले निर्विकल्प मानेका थिए । अब त्यो अवस्था रहेन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी भित्रको फरक मत तथा आन्तरिक लोकतन्त्रलाई निमिट्यान्न पारी फाँसिबादमा रमाए । ओलीले एमालेमा मात्रै फाँसिवाद लागु गरेनन्, स्वयं एमाले पार्टीलाई समेत फाँसीवादी बनाए । नेपाली कांग्रेस बिहिन नेपालको असंभव परिकल्पनालाई साकार पार्ने दिवा स्वप्नामा ओली लिप्त हुँदा एमाले समाप्तीको बाटो तिर द्रुत गतिमा अघि बढ्यो ।
यता नेपाली कांग्रेसको अवस्था पनि त्यो भन्दा भिन्न रहेन । आन्तरिक लोकतन्त्रलाई नेताहरुको मुठीमा राखियो । कर्मकाण्ड पुर्याउनकै लागि पार्टीको महाधिबशेन गर्ने , महाधिबशेनलाई नेतृत्व चयनमै सिमित राख्ने दुुश्चक्रमा नेपाली कांग्रेस फँस्यो । हुँदा हुँदा केन्द्रिय समितिको बैठक बस्न समेत एक वर्षको समय पर्खनु पर्ने विडम्वनामा नेपाली कांग्रेस पुग्यो ।
शेरबहादुर देउवाले कुशलता पूर्वक पार्टी हाक्न सकेनन् भन्ने कुरा परिणामले नै देखाइसकेको थियो । कार्यकर्ताले महामन्त्री गगन थापा माथि भरोषा गरेका थिए । अब अर्को महाधिबशेनमा गगन थापा आइहाल्छन् नि ? भन्ने भरोषा थियो । महामन्त्रीका रुपमा गगन थापाले करिव डेढ वर्ष गुजारी सके, तर देउवाको भन्दा भिन्न र आशालाग्दो कार्यशैली उनले पनि देखाउन सकेनन् ।
महामन्त्रीका रुपमा पार्टीलाई गति दिन सकिने आधार धेरै थिए । गिरिजाप्रसाद कोइराला महामन्त्री हुँदा देखिएकै थियो, महामन्त्रीले कस्तोसम्म भूमिका निर्वाह गर्न सक्छन् भन्ने कुरा । तर जनता तथा कार्यकर्ता बीच जानुको सट्टा अरोप प्रत्यारोपमै गगन थापा व्यास्त देखिए ।
अहिले नेपाली कांग्रेसमा महामन्त्री पक्ष र सभापति पक्ष बीच सार्बजनिक रुपमा हुदै आएका बिबाद र आरोप प्रत्यारोप देखेर कांग्रेस फुटने भयो भन्नेहरु पनि छन । पार्टी भित्र रहेर जे गर्न, जे बोल्न पाए पछि फुटने जरुरत नै पर्दैन ।
कांग्रेसको चरित्र नै यही हो । कुरा नलुकाई भन्नु पर्दा नेपाली कांग्रेस एउटा स्पष्ट संगठित पार्टी कहिल्यै थिएन , गुट रु उपगुटहरु धेरै थिए, तर प्रजातन्त्रका लागि सबै गुट तथा उपगुटहरु इमान्दार थिए । सत्तामा पुगेको गुटले बेइमानी गरे पनि सत्ता बाहिर रहेको गुटले खवरदारी गथ्र्यो । तर अहिले त सत्ता बाहिर रहेको गुट पनि प्रजातन्त्रका लागि इमान्दार देखिएन । युगले ल्याएको चेतनालाई आत्मासात गर्न नयाँ पुस्ताका युवा नेताहरु झन असक्षम भए ।
चुनावमा अन्तरघात नेपाली कांग्रेसको नयाँ रोग होइन । दुई वटा कार्यगत लाइन पनि नेपाली कांग्रेसमा नयाँ होइनन् । नेपाली कांग्रेस र अन्य पार्टी वीच फरक के हो भने अन्य पार्टीमा कुनै पनि विवाद र मतभेद पहिले पार्टी भित्र हुन्छ र नसुल्झिए पछि मात्रै बाहिर जान्छ । तर कांग्रेसमा झगडा र विवाद बाहिर सुरु भए पछि मात्रै पार्टी भित्र प्रवेश पाउछ । एक कोणबाट हेर्दा यो नराम्रो होइन ।
जनप्रतिनिधि, सिट संख्या तथा भूमिकाका आधारमा विश्लेषण गर्ने हो भने यतिबेलासम्म मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस हो । नेपाली कांग्रेसले पनि यतिबेला क्रियाशील सदस्यता नवीकरणको प्रारम्भिक काम सकेको छ । तर धेरैजसो वडामा ६० प्रतिशतभन्दा बढीले क्रियाशील सदस्यता नवीकरण गराएका छैनन् । क्रियाशील सदस्यता नवीकरण नगराउनेमध्ये सबैजसो ४० वर्षभन्दा कम उमेरका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेमा ४० वर्षभन्दा कम उमेरका युवाहरूको करिब करिब खडेरी परेको छ । २०४८ सालमा केही अपवादबाहेक नेकपा एमालेका सबै सांसदहरू ४० भन्दा कम उमेरका थिए । केन्द्रीय समितिमा पनि ४० नाघेका नेताहरूको संख्या नगन्य थियो । नेपाली कांगे्रसमा भने सबै उमेर समूहको सन्तुलन थियो ।
यतिबेला नेकपा एमाले त करिब करिब बुढाखाडाको पार्टी बनिसकेको छ । एमालेले विधान सच्याएरै ७० वर्षको उमेर हद खारेज गरिसकेको छ । एमालेको तुलनामा नेपाली कांग्रेसभित्र युवाहरूको सहभागिता अझै बाँकी छ, तर एमालेको जस्तै नेपाली कांग्रेसमा पनि नयाँ युवा आउने क्रम करिबकरिब ठप्प छ ।
केही दिनअघि एमालेको कर्णाली प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा इन्चार्ज लेखराज भट्टले ४० वर्षभन्दा मुनिका को को हुनुहुन्छ ? भन्दै हात उठाउन लगाए । तर जम्मा ६ जनाले हात उठाए । भेलामा १ सय ९२ जना सहभागी थिए । नेकपा एमालेले यतिबेला स्थानीय अधिवेशनको तयारीका लागि पूर्णकालीन सदस्य प्रदान तथा नवीकरण गरेको छ । समाचारमा आएअनुसार देशभरिबाट एमालेको नयाँ सदस्यता लिनेहरूको संख्या १९ छ । यसैगरी साविकका करिब ९ लाख सदस्यमध्ये जम्मा तीन लाख जनाले नवीकरण गराएका छन् ।
नेपाली कांग्रेस र नेकपा एमालेमा नयाँ पुस्ताका युवाहरुको खडेरी देखिन थालिसकेको छ । २०४८ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा गठन हुँदा प्रौढ संगठनको नयाँ रूप भन्ने गरिन्थ्यो । राप्रपालाई तिनै प्रौढ नेताहरूले ८–१० वर्ष थेगेका थिए । त्यसपछि राप्रपा सकिएको हो । रुखहरूमा पुराना पात झर्दै जाने र त्यसको ठाउँमा नयाँ पात पलाउने प्राकृतिक नियम हो । जब नयाँ पात पलाउन छाड्छन् तब रुख मर्दै जान्छ ।
राजनीतिक दल भनेको पनि त्यस्तै हो । अजम्बरी कोही नेता हुँदैनन् । पुराना मर्दै र निष्क्रिय हुँदै जान्छन्, नयाँ युवाहरू थपिँदै जान्छन् । तर नेपालका पुराना राजनीतिक दलहरूमा नयाँ युवाहरूको सहभागिता हुन छाडेको छ । यही अवस्था अरू चार वर्ष रहने हो भने नेपाली कांग्रेस र एमालेको हालत राप्रपाको जस्तै बन्ने निश्चित छ । किनकी यी दुई पार्टीहरूले ६० वर्ष आसपासकालाई समेत युवा नेता भन्ने गर्छन् । ५० वर्ष नाघेकाहरू समेत ‘हामी युवाले पार्टी हाँक्न पाउनुपर्छ’ भनिरहेका छन् ।
२०४८ साल ताका कांग्रेस र एमालेमा युवा पंक्तिको जस्तो आकर्षण थियो , २०६४ साल ताका माओवादीमा युवाहरुको जुन आकर्षण थियो , यततीबेला रवि लामिछाने र बालेन शाहको पक्षमा युवा सहभागिताको उभार आएको छ ।
लामिछाने र शाहले सामाजिक सञ्जालमा कुनै स्टाटस राखे भने आधा घण्टाभित्र ५० हजार सेयर, एक लाख कमेन्ट र पाँच लाख लायक देखिने गरेको छ । राजनीतिमा संलग्न भएर देशको सेवा गर्ने इच्छा राखेका युवाहरूलाई कांग्रेस र एमालेले अघोषित सिन्डिकेट लगाएका कारण पनि युवाहरू बालेन शाह र रवि लामिछानेतर्फ एकोहोरिएका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमाले चुकिसकेका छन् । युग अनुसारको प्रविधि अवलम्वन गर्न नयाँ पुस्ताले मात्रै सक्छन् । उदाहरणका लागि नयाँ मोबाइल टेलिफोन सेट ल्याएर ६ वर्षको बच्चाको हातमा राखिदियो भने उसले तुरुन्तै मोबाइल सेटको प्रयोग थालिहाल्छ, तर स्नातक उत्तीर्ण गरेको ५० वर्षमा मान्छेका हातमा राखिदिने हो भने ओल्टाइपल्टाइ गर्दै दुई÷चार दिन हेरेर बस्छ । चलाउन सिक्नकै लागि एक महिना लाग्छ ।
समय र प्रविधिअनुसार पुराना पार्टीहरू अघि बढ्न सकेनन् । नेकपा एमालेले त पछिल्ला दिनमा साइबर सेना बनाएको हल्ला खल्ला पनि गरेको छ । विष्णु रिमाल नाम गरेका एक जना बुढा नेतालाई यो पाटोको इन्चार्ज बनाएको समाचार आएको छ । नेपाली कांग्रेसले त त्यो पनि गरेको छैन ।
तर सत्तालाई आफ्नो कब्जामा राख्नका लगि अपराधी, तस्कर र गुन्डालाई पार्टी भित्र भित्र्याउने , पार्टीका पुरानाहरुलाइ पनि भ्रष्ट बनाउने र नबन्नेलाई बिस्थापित गर्न क्रम नेपाली कांग्रेस र एमालेमा सुरु भएको अहिले होइन । विगतमै रोपिएको विषवृक्ष फल्न थालेको मात्रै हो ।
त्यो विष वृक्ष फल्दै जाँदा कांग्रेस र एमालेले भ्रष्टाचारका चारै दिशाका ढोका खोलि दिएका छन् । अहिले नेपालको राजनीतिमा जे जति भ्रष्टाचार,बिदेशीको दलाली लगायतका बिकृति र बेथिति चरम अबस्थामा पुगेको छ त्यसको अगुवाइ वा नायकत्व कांग्रेस र एमालेकै हो भन्ने बुझाई नयाँ पुस्तामा देखिएको छ ।
(लेखक नेपाली कांग्रेस गुल्मी क्षेत्र न. २ बाट महाधिबेशन प्रतिनिधि हुन्)