कविता- ए दशैं, तँ आउँदै नआइज

दिलिप प्रकाश कार्की | 2018 Oct 15 | 10:05 am 5720

ए दशैं, चुलो नबल्‍ने घरमा
एक छाक खोले खुवाउन सक्दैनस भने
तँ आउँदै नआइज
लाज छोप्‍ने दिन कुरेर बसेको उसलार्इ
एक सरो लुगा दिन सक्दैनस भने
ए दशैं, तँ आउँदै नआइज

भोकभोकै छ पोहोर सालदेखि
नांगै छ उ पोहोर सालदेखि
खोले सिस्‍नुको स्वाद फेर्नुछ उसले
श्रीमति र आमाको चोली फेर्नुछ उसले
एकदिनमात्रै भएपनि
उसको मन रङ फेर्न सक्दैनस भने
उसलार्इ उमङ दिन सक्दैन भने
ए दशैं, तँ आउँदै नआइज ।

उस्लाई पिर छ कतै तँ
पोहार साल जस्तै झुक्याएर
वर्षभरी साहुको भरिया बनाउने त होइनस्
आमाको चोली र श्रीमति फरिया फेर्ने रहर
कति कहर बनेथ्यो
ए दशैं, बरू तँ आउँदै नआइज

एक मुठी अक्षेता र
दुई पात जमरा पनि
अरुलार्इ माग्‍नुपर्ने औकात भएको उसलार्इ
तेरो रिनको महंगो ब्याज तिर्न सक्ने हिम्मत छैन।

ए दशैं ! सक्छस भने
पराइ भूमिको कालकोठरीमा
नारकिय जिवन बिताइरहेकी
चेलीलार्इ लिएर आइज,
उ कसैकी दिदीबहिनी हुन सक्छ,
कसैकी बुहारी हुनसक्छ,
कसैकी श्रीमति र नेपाली आमाकी चेली
उसले धन्‍य भन्‍ने छ तँलार्इ,
नेपाल आमा खुशी हुनेछिन तँसँग
उसको आँशु र चित्कार रोक्‍न सक्दैनस्
ए, तँ आउँदै नआइज

ए दशैं, तँ सक्छस भने
पराइ भूमिको तातो हावा पसिना चुहाएर
तेरै लागि दशैंमा
घर आउने सपना देखेको मजदुरलार्इ
विदा माग्‍दा जेलमा सडिनुपरेको
हो, त्यही मान्छेलार्इ लिएर आइज
उ कसैको सुहाग हुनसक्५
कसैका सन्तान हुनसक्छ
उ एउटा नेपाली हुन सक्छ
जो भाग्‍य फेर्ने सपना बाँडेर
गएथियो, उसलार्इ जिउँदै लिएर आइज
उसलार्इ बाकसमा फर्काउँछस् भने
ए दशैं, तँ आउँदै नआइज।

ए दशैं, सक्छस भने,
शसस्त्र द्‍वन्दको समयमा
दहिमा मुछेका अछेता
दशदिनमा उमारेका जमरा लाउनेबेला
आमाकै अगाडिबाट वेपत्ता पारिएका
छोराहरुलार्इ लिएर आइज
ए दशैं, सक्छस भने
परिवर्तनको नाममा
आँखा झुन्ड्याइएको श्रीमानको
सपना साकार पारेर आइज,
त्यो सक्दैनस् भने,
ए दशैं, तँ आउँदै नआइज ।

हुने खानेहरुका लागि सधैं दशैं छ
हुँदा खानेहरुका लागि दशा बन्छस भने
ए दशैं, बिन्ति छ, तँ आउँदै नआइज।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.