काठमाडौं, जेठ २६ : वर्षको पहिलो दिन २०७५, वैशाख १ गते गरिएको कर्णाली रारा भ्रमण वर्ष उद्घाटनमा रु साढे १७ लाख खानामा मात्र खर्च भएको खुलेको छ ।
कार्यक्रम सम्पन्न भएको दुई महिना बित्न लाग्दा पनि सरकारले खर्च सार्वजनिक नगरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दबाबपछि कर्णाली कर्णाली रारा भ्रमण वर्ष २०७५ को खर्च विवरण संसदमा प्रस्तुत गरेको हो । कार्यक्रम सम्पन्न भएको दुई महिना बित्न लाग्दा पनि सरकारले खर्च सार्वजनिक नगरेको भन्दै कांग्रेसले बिहीबार संसद बैठक अवरुद्ध गरेको थियो ।
शुक्रबार बसेको प्रदेश सभा बैठकमा सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कार्यक्रममा ६३ लाख भन्दा बढी खर्च भएको जानकारी संसदलाई गराए । शुक्रबारबारको संसद बैठकमा प्रतिपक्षी दल लगायत सरोकारवाला निकायबाट उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री ज्वालाले खर्च सार्वजनिक गर्न ढिलाइ भएपनि खर्चमा सरकारले मितव्ययिता कायम गरेको दाबी गरे ।
३९ लाख रुपैयाँ विनियोजन गरेकोमा ६३ लाख ८७ हजार रुपैयाँ खर्च भयो । जुन यस प्रकार छ:
- २ लाख रुपैयाँका झोला
- १० लाख ७६ हजार रुपैयाँ हवाई भाडा
- एक दिनको कार्यक्रममा खाना र नास्ताका लागि १७ लाख ४६ हजार
- चार प्रसारका लागि झण्डै ७ लाख
- ब्यानरका लागि ११ लाख ५० हजार रुपैयाँ खर्च
- कार्यक्रमको तयारीका लागि २ लाख
- पत्रकारहरुका लागि ६५ हजार
- पाहुनाहरुलाई ५ लाख ५४ हजार रुपैयाँको उपहार
‘आर्थिक पारदर्शिता जनताप्रति उत्तरदायी सरकारको पहिलो प्राथमिकता हुनु पर्दछ’, ज्वालाले भने, ‘कर्णाली रारा पर्यटन वर्ष उद्घाटनको खर्च वास्तविक छ, यथार्थपरक छ र यसका सबै बिल भपाईहरु समेत स्पष्टसंग सार्वजनिक गर्न सकिन्छ ।’ उनले ठूलो कार्यक्रम आयोजना गर्नु परेकाले खर्च रकम केही बढी भएको प्रष्टिकरण दिए ।
कर्णाली भ्रमण वर्ष २०७५ को उद्घाटनका लागि कर्णाली सरकारले ३९ लाख रुपैयाँ विनियोजन गरेको थियो । शुक्रबार प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले ६३ लाख ८७ हजार रुपैयाँ खर्च भएको संसदमा जानकारी गराए । मन्त्री ज्वालाले कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधी सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरु, प्रधानमन्त्रीसहित संघीय र प्रदेश सरकारका मन्त्रीहरु साथै स्थानीय सरकारका पदाधिकारीको उपस्थितिले खर्च बढेको जानकारी दिए ।