काठमाडौँ, चैत ५ः अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले नागरिक लगानी कोषले लगानी विविधीकरण गर्दै जानुपर्ने बताए । अन्य प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बढ्दो क्रममा रहेकाले लगानी विविधीकरण गर्दै बढी प्रतिफल आउने गरी पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने सचिव घिमिरेले बताए ।
कोषको ३३औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा सचिव घिमिरेले कोषले सञ्चालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोबारमा सहजता आएको चर्चा गर्दै विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्याङ्क लिन थालेपछि त्रुटि कम हुन थालेको बताए । कोषले सूचना प्रणालीको अवलम्बन गर्नु राम्रो भए पनि अनलाइन प्रणाली जोखिम हुँदा सञ्चयकर्ताको लगानी कसरी सुरक्षित गर्ने भन्ने विषय चुनौतीपूर्ण रहेकाले तथ्याङ्क सुरक्षित राख्न ध्यान दिन जोड दिए।
कोष जम्मा गरिएको रकममा लगाउँदै आएको कर घटाउने वा नलिने भन्ने विषय अन्तर्राष्ट्रिय अभ्यासलाई हेरेर सामञ्जस्यता ल्याउने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
सो अवसरमा कोषका सञ्चालक समितिका अध्यक्ष डा. सूर्यबहादुर थापाले मुलुकको आर्थिक वृद्धिदरमा टेवा पु-याउने एवं रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानीलाई विस्तार गर्दै लैजानुपर्नेमा बताए । कर्मचारी विनियमावली अगाडि बढेको, कोषको स्रोतसाधनअनुसार कार्यरत कर्मचारीको सेवासुविधा परिमार्जन हुँदै आएको उनले बताए ।
कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले नेपाल सरकारले कार्यान्वयनमा ल्याएको वित्तीय क्षेत्र विकास रणनीतिको एउटा उद्देश्य पुँजी बजारको विकास, विस्तार र विश्वसनीयता अभिवृद्धि गर्न स्टक डिलरको अवधारणालाई आत्मसात् गर्दै कोषको अगुवाइमा नागरिक स्टक डिलर सञ्चालनमा ल्याएको बताए । उनले लगानी गर्दा सुरक्षित, प्रतिफलमुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजनालाई उच्च प्राथमिकता दिने बताए ।
केही महिनाभित्र कोषको सङ्कलन पूर्ण रूपमा अनलाइन प्रणालीबाट मात्र हुने व्यवस्था गर्न लागिएको उनले जानकारी दिए। कोषको विद्यमान सूचना प्रविधि प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेकाले नयाँ सफ्टवेयर सञ्चालनमा आइसकेको जानकारी गराउँदै कार्यकारी निर्देशक नेपालले भने, “कोषमा जम्मा गर्नुपर्ने राष्ट्रसेवक कर्मचारीको रकम सिग्यास प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिसकिएको छ भने सबै सहभागीलाई सापटी तथा अन्तिम भुक्तानी एनसीएचएलको कनेक्ट आईपीएसमार्फत बैङ्क खातामा पठाउने व्यवस्था गरिएको छ । निजी क्षेत्र तथा अन्य सङ्गठित संस्थाको रकम सङ्कलन अनलाइन प्रणालीबाटै गर्ने व्यवस्था मिलाइसकिएको छ ।”
कोषले आव २०७६/७७ को वित्तीय विवरण स्वीकृत गर्दा सहभागीलाई निजको बचत रकममा नियमित प्रतिफलको अतिरिक्त १ प्रतिशत थप प्रतिफल प्रदान गरेकोमा आव २०७७/७८ मा थप प्रतिफल वृद्धि गरी १ दशमलव ५० प्रतिशत प्रदान गरेको थियो भने आगामी वर्षमा यस प्रतिफललाई निरन्तरता दिने जनाएको छ । वार्षिकोत्सव कार्यक्रममा २० वर्षे सेवा अवधि पूरा गरेका कर्मचारीलाई पदक र उत्कृष्ट कर्मचारीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
दुई करोड रुपियाँ चुक्ता पुँजीबाट स्थापना भएको यस कोषको हाल चार अर्ब २५ करोड १० लाख रुपियाँ पुगेको छ । नागरिक लगानी कोष ऐन, २०४७ अनुसार स्थापित कोषले २०४८ माघ १ देखि कारोबार सुरु गरेको थियो । हाल १२ वटा कार्यक्रममा आठ लाख रुपियाँभन्दा बढी सहभागीलाई आबद्ध गराई देशभर सेवा पु-याउन सफल भएको कोषले जनाएको छ ।
मुलुकको आर्थिक विकासका लागि सर्वसाधारणलाई समेत बचत गर्न प्रोत्साहित गरी लगानीका अवसर बढाउन, अवकाश कोष तथा सामाजिक सुरक्षणका कार्यक्रम सञ्चालन गर्न र पुँजी बजार कारोबार गर्ने प्रमुख उद्देश्यले कोषको स्थापना भएको हो । नेपाल नागरिक लगानी कोषको लगानी दुई खर्ब रुपियाँभन्दा बढी पुगेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म कोषको लगानी बढेर दुई खर्ब पाँच अर्ब ६९ करोड रुपियाँ पुगेको हो । सो अवधिमा कोषको खुद बचत परिचालन दुई खर्ब छ अर्ब १९ करोड रुपियाँ पुगेको जनाएको छ । गाेरखापत्र अनलाइनबाट