गाउँगाउँमा सरकारको अनुभूति

रिपोर्ट नेपाल | 2022 Jul 20 | 07:47 am 1641

स्याङ्जा, साउन ४ः अर्जुनचौपारी गाउँपालिका–६ का ९८ वर्षीय मोतीलाल तिवारी घरमै वृद्ध भत्ता पाएकोमा हर्षित भएका छन् । घरदेखि तीन घण्टा लगाएर बैङ्कमा पुगेर घण्टौँ लाइनमा बसेर वृद्ध भत्ता लिने तिवारीले क्षणभरमै वृद्ध भत्ता पाएका हुन् ।

विगतमा गाडी रिजर्भ गरी अर्जुनचौपारी मुक्तिनाथ बैङ्कको शाखामा पुगेर भत्ता लिँदै आएका तिवारीले मिनेटको भरमा गाउँमै भत्ता दिएकोमा जनप्रतिनिधिप्रति अभार व्यक्त गरे । तिवारीजस्तै ७२ वर्षीय थमकुमारी पौडेलले बैङ्कमा तीन दिन धाएर लाइनमा बसेर भत्ता लिएको सुनाउँदै जनप्रतिनिधिले गाउँमै भत्ता ल्याइदिएर वृद्धवृद्धालाई गुन लगाएको बताए।

पहिले भत्ताबापत पाउने आठ हजार तीन दिन बैङ्क जाँदा र आउँदा सकिएको बताउँदै पौडेलले पहिलो पटक गाउँमा सरकार आएको अनुभूति गरेको बताए । गाउँपालिकाले मुक्तिनाथ विकास बैङ्कसँग सहकार्य गर्दै पहिलो पटक गाउँमै पुगेर वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

निर्वाचनको क्रममा जनतासँग गरेका वाचा पुर्याउने र वृद्धवृद्धाको दुःख देखेर गाउँगाउँमै भत्ता दिने व्यवस्था गरेको बताउँदै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले पहिलो चरणमा ७० वर्षभन्दा माथिकालाई टोलमा भत्ता वितरण गरेको बताए ।

थोरै भत्ता लिनका लागि दुःख, समय र रकमको खर्च भएको बताउँदै तिवारीले गाउँमै भत्ता वितरण गर्दा वृद्धवृद्धालाई सहज भएको बताए । उनले सबै वडामा पुगेर हरेक तीन तीन महिनामा सामाजिक सुरक्षा भत्ता बाँड्ने बताउँदै अबको तीन महिनापछि सबैलाई टोलमै भत्ता वितरण गर्ने बताए ।

पालिकामा पहिलो पटक सामाजिक सुरक्षा भत्ता गाउँमा पुगेर वितरण गरेको बताउँदै तिवारीले जनताको हितमा काम गर्ने पहिलो दायित्व आफ्नो भएको बताए । जिल्लामा निर्वाचनसँगै जनताको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने अर्जुनचौपारी गाउँपालिका पहिलो हो । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.