विर्सन नहुने राजा मणिमुकुन्द सेन

रिपोर्ट नेपाल | 2021 Mar 22 | 01:16 pm 4977

  • वसन्त भुजेल

युनेस्कोले पाल्पाको तानसेनलाई मध्यकालीन बस्ती भनेको छ । तानसेनको संस्कृति, इतिहास र हावापानी तथा भौगोलिक अवस्थिति मन लोभ्याउने खालको छ । तानसेनबाट हिमाल, सूर्योदय अवलोकन गर्न सकिन्छ । दक्षिणतर्फ पानीढलो भएको तानसेनमा न जाडो हुन्छ न गर्मी हुन्छ । यती अनुकुल हावापानी भएका ठाउँ विश्वमा सायदै अन्यत्र नहोलान् ।
जसरी राजधानी काठमाडौं उपत्यकालाई मन्दिरै मन्दिरको शहर भनिन्छ त्यसरी नै पाल्पा पनि कुनै बेला मन्दिरै मन्दिरको शहर थियो । नेपाल एकीकरणपछि राजधानी काठमाडौंका मठ मन्दिरहरुको जगेर्ना भए पनि सेन राजाका पालामा बनेका पाल्पा क्षेत्रका मठ मन्दिरहरुको जगेर्ना भने हुन सकेन । सेना राजाका पालामा बनेका अधिकांश सम्पदाहरु ध्वस्त भए पनि राजधानी काठमाडौं उपत्यकापछिको ऐतिहासिक तथा पुरातात्विक महत्वको क्षेत्र पाल्पा नै हो । सेनवंशी राजाहरुले पाल्पा क्षेत्रलाई धार्मीक, राजनीति र कुटनीतिको अब्बल राज्यका रुपमा दक्षिण एशियामा चिनाएका थिए । तिनै सम्पदाहरु आज इतिहास पुरातात्विक सम्पदा पर्यटकहरुका लागि अध्यन अनुसन्धान र अवलोकनस्थल भएका छन् ।

विक्रम सम्वत् १५७५ देखि १६१० सम्म पाल्पामा मणिमुकुन्द सेनले शासन गरेका थिए । त्यस बेला पाल्पा राज्यको राजधानी तानसेनको भैरवस्थानमा थियो । राजा मणिमुकुन्द सेनले कालीगण्डकी नदीमा स्नान गर्दा ऋषिकेशको शिलाले निधारमा ठोकिन पुग्यो । त्यसै दिन राती सपनामा ‘स्नान गर्दा ठोकिएको शिला मेरो हो । म विष्णु भगवान हो । मलाई कालीगण्डकी आसपासमै मन्दिर बनाएर राख र सेवा गर’ भनेपछि मणिमुकुन्द सेनले भेटिएको शिलालाई कालिगण्डकी र रिडी खोलाको संगम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका हुन । संसारमै एउटै कालो शालिग्रामले बनेको मूर्ति ऋषिकेश मन्दिरको मूर्तिमात्र हो । रिडी हिन्दुहरुको चार धाममध्ये एक हो । रिडी क्षेत्रको १३ सय वर्ष पुरानो धार्मिक इतिहास भेटिएको छ । पुराणमा रिडी क्षेत्रको वर्णन छ ।

नेपाललाई ब्रिटिसले निल्न खोज्दा नेपालीले जितेपछि भगवतीको मन्दिरलाई भने सम्वर्धन र संरक्षण गरिएको पाइन्छ । एकीकरणपछि पाल्पा क्षेत्रलाई पुरै छाँयामा पारिएको भन्न पनि मिल्दैन । रानीमहल र अर्गली दरबार राणाकालिन धरोहर हुन् । संरक्षणको अभावमा अर्गली दरवार समाप्त भए पनि रानीमहलले भने नेपालको ताजमहलका रुपमा शोभा दिइरहेको छ । काली गण्डकी शालिग्राम पाइने विश्वको एक मात्र नदी हो ।

नेपालका मुख्य तीर्थस्थलमध्येको रुरु क्षेत्रको पौराणिक इतिहास र महत्व धेरै छ । पाल्पा, गुल्मी र स्याङजा जिल्ला सिमाक्षेत्रको विचमा पर्ने रुरुक्षेत्र तीर्थाटनको लागि मात्र नभएर इतिहास र पुरातात्विक दृष्टिले पनि महत्वपूर्ण छ । धार्मिक रुपमा मात्रै नभएर अध्ययनको लागि पर्यटकहरु रिडी पुग्ने गर्दछन् । पौराणिक ग्रन्थमा उल्लेख भए अनुसार रुरु क्षेत्रमा देवदत्तमुनिले तपस्या गरी शिवत्व अर्थात् अष्ठसिद्धि प्राप्त गरेका थिए । उनकी सुपुत्री रुरु कन्याले पनि यही तपस्या गरी भगवान् विष्णुको प्रत्यक्ष दर्शन गरेकी थिइन् । संस्कृत भाषामा मृगलाई रुरु भनिन्छ । मृगले दुध खुवाएर हुर्काएको कन्या भएको हुनाले उनै कन्याको नामबाट रुरु क्षेत्र नाम रहन गएको हो ।
ऋषिकेश मन्दिरको मूर्तिलाई भगवान् विष्णुले रुरु कन्यालाई प्रत्यक्ष दर्शन दिएको साक्षात स्वरुप मानेर पूजा गर्दै आएका छन् । रुरु क्षेत्रमा देवदत्त, और्ब, वशिष्ठलगायत धेरै ऋषिमुनीले आश्रम स्थापना गरी तपस्या गरेको शास्त्रीय प्रमाण छन् । रुरु क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको धरोहर मानिन्छ । रुरु अर्थात रिडीमा पितृमोक्षका लागि अन्तिम संस्कार, श्राद्धजस्ता कार्य मात्र होइन विवाह, ब्रतवन्ध जस्ता शुभ कार्य पनि हुने गर्दछ । रुरु क्षेत्रमा मृतकहरुको अस्तु सेलाउन पूर्वमा धादिङदेखि पश्चिममा प्युठानसम्मका मानिसहरु पुग्दछन ।

ऋषिकेशको मन्दिरलाई वि.सं.१८१९ सालमा रणदत्त पाण्डेले पुनर्निर्माण गराएका हुन । त्यहा राधाकृष्ण, विष्णु, राम, हनुमान् लगायतका थुपै्र देवीदेवताका मूर्ति र मन्दिरहरु समेत छन् । रिडी क्षेत्रका बारेमा प्रचलित किंवदन्ती अनुसार, विष्णुले वृन्दाको सतित्व नष्ट गरेकाले स्वर्गमा तारकासुरको मृत्यु भएको थियो । त्यसबाट दुःखित भएकी वृन्दाले विष्णुलाई पत्थर भएर बस्नुपर्ने श्राप दिएपछि विष्णु शालिग्रामका रुपमा रुरुमा बसेका हुन् । त्यसै गरी देवदत्त ऋषिको तपस्याबाट डराएर इन्द्रले पठाएकी अप्सराको गर्भबाट जन्मेकी रुरुकन्याको कथा पनि यस क्षेत्रसँग जोडिएको छ । रुरुकन्याको मूर्ति ऋषिकेशको मूर्तिको सामुन्ने स्थापित छ ।

रिडीमा रिडी खोला र कालीगण्डकी मिसिएको छ । कालीगण्डकी र रिडी खोलाको दोभान नै रिडी अर्थात रुरु क्षेत्र भनिन्छ । रुरुक्षेत्रमा अर्घली, कुसेनी, सत्यवती, रुद्रवेणी, अस्लेवा र वेनी गाउँहरु पर्दछन । रिडी अथवा रुरुक्षेत्रको महिमा हिमवतखण्ड र वराह पुराणमा पाइन्छ । विष्णुको स्वरुप शालिग्राम पाइने हुनाले रुरुक्षेत्रको विशेष महत्व रहेको छ । रिडीमा भएका सबै मन्दिर मध्ये ऋषिकेशको मूर्ति सबैभन्दा महत्वपूर्ण मानिन्छ ।

रुरु क्षेत्रमा कालिगण्डकीमा स्नान गर्ने र ऋषिकेश मन्दिर, देवदत्त ऋषि तथा रुरुकन्या मुर्तिमा पूजाआजा गरेमा मोक्ष प्राप्ति हुने विश्वासले तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन । माघे संक्रान्तिमा मेला लाग्ने रुरु क्षेत्रमा देवदत्त ऋषिले तपस्या गरेर रुरु कन्याको जन्म भएको र ती कन्यालाई मृृगहरुले दुध खुवाई हुर्काएको र विष्णुले चतुर्वाहु रुप लिएका थिए । रुरु क्षेत्रमा प्राचीन ऋषिकेश मन्दिर, भृगुतुङ्गेश्वर महादेवको गुफा, अचम्मेश्वर, रुरु कन्या मन्दिर अर्थात गलफूल गुफा, यज्ञमुक्तेश्वर महादेव, रुद्रवेणी, मणिमुकुन्देश्वर महादेव, कञ्चनेश्वर महादेव, लक्ष्मीनारायण मन्दिर, राम जानकी मन्दिर, रुरु कन्याले तपस्या गरेको गुफा, भीमसेन थापाद्वारा आफ्नी आमाको स्मृतिमा बनाएको पौवालगायतका ऐतिहासिक धार्मीकस्थल रिडीमा रहेको छ ।

रिडी नजिकै उत्तर पट्टी भृगुतुंग नामक गुफा रहेको छ । भृगुतुंग गुफामा भगवान शिबले सतीदेविका शब बोकेर भ्रमण गर्दै जादा उपल्लो दांत पतन भएको मान्यता रहेको छ । जुन श्रीस्वस्थानी महात्यम्यमा ब्याख्या गरिएको छ । त्यस ठाउँमा खासगरि माघे सक्रान्ती र शिबरात्रीमा तीर्थाटन पर्यटकहरुको भिड हुने गर्दछ । भृगुतुंग नामक गुफा स्याङजा जिल्लामा पर्दछ । रिडीमा जाने तीर्थाटनका पर्यटक गुल्मी जिल्लाको थोर्गा तर्फको भागमा रहेको गलफूलगुफा पनि पुग्दछन । गलफूलगुफा रिडी बजारबाट पाचँसय मिटर माथि रहेको छ । रुरु क्षेत्रमा साना ठूला गरेर १ सय भन्दा बढि मन्दिर र केहि गुफा पनि छन । जहाँ दैनिक पूजा आजा गरिन्छ । माघे संक्रान्तिको पाँच दिनसम्म संचालन हुने रिडी मेलामा विशेषगरी स्थानीय ग्रामीण क्षेत्रबाट उत्पादन गरिएको गुण किन्न पाइन्छ । रिडीको पहीचान बन्दै थोर्गेली चाकु (गुण) को लागि पनि प्रसिद्ध रहेको छ । रिडीको थोर्गामा बन्ने यो चाकु देश तथा बिदेशका बिभिन्न स्थानहरुमा निर्यात हुने गरेको छ ।
मणिमुकुन्द सेनले रुरुमा ऋषिकेशको मन्दिर निर्माण गरेपछि पूजाआजाको लागि अक्षता आवश्यक भयो । अर्गलीमा त्यस समयमा सबै पाखो जमिन रहेछ । मणिमुकुन्द सेन कै निर्देशनमा धान उत्पादन गर्न र ऋषिकेशको मन्दिरमा अक्षता बनाउनका लागि जोर्ते खोलाको कुलुङबाट अर्गलीसम्म ३ किलोमिटर दुरीको कुलो निर्माण भएको छ । निर्माण भएको कुलोमा करिव १ किलोमिटर लम्वाईमा कुलोमा सुरुङ रहेको छ । जुन कुलोलाई राजकुलो र जेठी कुलोको नामबाट प्रचलित छ । बिभिन्न ठाउँमा सुरुङको भाग छुट्टाएर चट्टानको बीचबाट लगिएको कुलो हेर्न आजभोली ऐतिहासिक खोजअनुसन्धान गर्न पर्यटकहरु पुग्ने गर्दछन् । स्थानीय कालीगढले उत्पादन गरेका छिनो, कोदाला र गल जस्ता औजारबाट खनिएको अर्गलीको सुरुङ कुलो आज भन्दा ४६७ बर्ष अगाडी खनिएको हो । अर्गलीको जेठी कुलो ऐतिहासिक हो । अहिले ऐतिहासिक कुलो अध्ययन अवलोकन गर्नका लागि धेरै पर्यटकहरु पुग्ने गर्दछन् । कुलोको सुरुङमा कतिपय पर्यटक फोटो खिच्ने र सुरुङ भित्र पसेर रमाउने गर्दछन् ।

वास्तवमा यो सूरुङ कुलो नेपालकै गौरव हो । पाँच सय वर्ष अघि यस्ता प्रविधिका संरचना नेपालमा बाहेक अन्यत्र निर्माण भएका छैनन् । त्यसैले यसको इतिहास खोज अनुसन्धान गर्नु पर्दछ । कुलो निर्माण गर्न मणिमुकुन्द सेनको निर्देशन भए पनि यो कुलो निर्माण गर्न कति समय लाग्यो ? यो निर्माण गर्न कस्ता किसिमका औजारहरु प्रयोग भएको थियो । निर्माण गर्दा मानविय क्षति भयो भएन ? कुलाको डिजाइन अर्थात नक्सा त्यो समयमा कस्ले बनायो ? यस्ता कुराहरु अनुसन्धान गर्नु जरुरी छ ।

तानसेन देखि ९ किलोमिटर पश्चिम भैरवस्थान पर्दछ । रमणिय पहाडको टुप्पोमा रहेको भैरवस्थानमा विशेष गरी मंगलबार र शनिबारका दिन तीर्थाटनका पर्यटकको भिड हुने गर्दछ । भैरव मन्दिरको मुख्य बिशेषता मन्दिरमा चढाउने रोट हो । तीर्थाटनका पर्यटकहरुले एक माना वा एक पाथी चामलको पिठोबाट बनेको रोट चढाउने गर्दछन । यसरी बनाएको रोट बटुक भैरब तथा देवीलाई चढाउने प्रचलन रहेको छ । भैरवको पूजा गर्न जाने तीर्थाटनका पर्यटकहरुले आफ्नो इच्छा अनुसारका पनि रोट बनाउन लगाउछन् ।

मुकुन्द सेन प्रथमले आफ्नो राज्य विस्तार गर्ने क्रममा काठमाडौं आक्रमण गर्दा मच्छिन्द्रनाथको पटांगिनीमा रहेको भैरवको मूर्ति ल्याई स्थापना गरेका हुन । भैरवस्थानमा प्यागोडा शैलीको मन्दिर, सेनकालीन प्रसाद ब्लाइन्ड विन्डो, राणाकालीन, मल्लकालीन स्थापत्य कलाहरु एकै ठाउँमा देख्न सकिन्छ । मन्दिरमा चारैतिर घेरिएको चोक छ । चोकमा एसियाकै ठूलो ऐतिहासिक १६ औं शताब्दीमा निर्माण गरिएको सुनौलो त्रिशूल र सेनकालीन कलाले निर्माण गरिएको गजुर छ । मन्दिरको माथिल्लो तलामा भैरवको मूर्ति स्थापना गरिएको छ । मुख्य भैरवलाई हेर्न नहुने विश्वासले मूर्तिलाई मन्दिरको भुइँतलामा राखिएको छ । भुइँतलाको अर्को कोठामा कालीको मूर्ति छ । अखण्ड धुनी चल्ने भैरवको मन्दिरमा पूजा गोरक्षनाथ सम्प्रदायका योगीबाट हुन्छ ।

कालीगण्डकीको तटमा रहेको रिडी बजार २०१८ सालमा आएको भिषण बाढीले पुरै ध्वस्त बनाएको थियो । त्यस बेला रिडीका ऐतिहासिक धार्मिक महत्वका सम्पदाहरु र ठूलो धनजनको क्षती भएको थियो । बिनासपछी बनेको घरहरु, मन्दिर, पाटी, पौवा र बगैचाहरुले रिडीलाई सौन्र्दयता दिन थालेको छ । कालिगण्डकी जलविद्युत परियोजनाले मिर्मीबाट टनेल गराएर गण्डकीको पानीबाट विद्युत उत्पादन गर्न थालेपछि रिडीमा गण्डकीको पानी कम हुने र तीर्थाटन पर्यटकहरुलाई स्नान गर्न रुद्रवेनी देखि बग्दै आउने वेनी र रिडी खोलाको पानीले मात्र स्नान गर्न पर्दछ । अहिले रुरु गाउँपालिकाले कालिगण्डकीलाई जलाशय निर्माण गर्ने योजना ल्याएको छ । अर्को तर्फ स्याङजा, गुल्मी र पाल्पा जोडने पुल समेत बन्न लागेको छ । योजना सम्पन्न भएपछि रिडीमा तीर्थाटनका पर्यटक मात्र होइन जलाशयमा रमाउने अन्य पर्यटकहरुको समेत गन्तब्य हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.