अवैध हतियारसहित एक जना पक्राउ

रिपोर्ट नेपाल | 2021 Mar 14 | 08:23 am 1805

बाँके, चैत १: जिल्ला प्रहरी कार्यालय बाँकेले राप्तीसोनारी गाउँपालिकाबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोही गाउँका ६८ वर्षीय ऋषिराम थारू रहेका छन् ।

राप्तीसोनारी-५ स्थित जबरपुरमा खोजतलासका क्रममा अत्याधुनिक हतियारसहित थारूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धामपुरका प्रमुख प्रहरी सहायक निरीक्षक फत्तेसिंह थारूले जानकारी दिए।

प्रहरी सहायक निरीक्षक थारुका  अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्दा ऋषिरामको घरबाट भरुवा बन्दुक दुई थान, छोरा ओमप्रकाश थारूको घरबाट एक थान बारबोर बन्दुक र भाइ लालबहादुर थारूको घरबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने बारुद एक किलो, सटगनमा लाग्ने खोका ५० वटा, सटगन जेगीराउन्ड एक थान, जरायोको सिङ तीन थान, बँदेलको दाँत १० थान, चित्तलको दाँत चार थान र दुम्सीको प्वाँख फेला परेको हो।

पक्राउ परेका थारू २०७४ सालको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट गाउँपालिका अध्यक्ष र बाँके १ नम्बर निर्वाचन क्षेत्र ‘क’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका थिए। फरार रहेका लालबहादुर र ओमप्रकाशको खोजी जारी रहेको प्रहरी सहायक निरीक्षक थारूले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.