उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल झोक्किएपछि…

| 2020 Mar 17 | 06:30 pm 2281

कास्की, चैत ४: उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले गण्डकी प्रदेश सरकार काम गर्ने सवालमा गम्भीर नभएको भन्दै आलोचना गरेका छन् । उनले प्रदेश सरकारकै वेवास्ताका कारण पोखराको रत्न मन्दिर र हिमागृह सार्वजनिक रुपमा खुला गर्न ढिला भइरहेको टिप्पणी गरे ।

कोरोनाका कारण पर्यटन उद्योग ध्वस्त भएको भन्दै सरकारसँग राहातको प्याकेज माग गर्न गएको व्यवसायी र जनप्रतिनिधिको टोलीसँग पोखरेलले यस्तो प्रतिक्रिया दिएका हुन् । पोखराका व्यवसायीले ज्ञापन पत्र बुझाइसकेपछि हिँड्ने बेलामा प्रदेशसभा सांसद राजीव पहारीले रत्न मन्दिर र हिमागृह छिटो खुला गर्न आग्रह गरेपछि नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री पोखरेल झोक्किएका थिए ।

मन्त्री पोखरेलले प्रदेश सरकारलाई रत्न मन्दिर र हिमागृह सञ्चालनसम्बन्धी प्रस्ताव पेस गर्न पटक पटक भने पनि कामै नगरेको बताए । त्यो नेपाल ट्रस्टको नाममा रहेको सम्पत्ति हो, यत्तिकै दिन मिल्दैन, उनले भने, सञ्चालनसम्बन्धी एउटा प्रस्ताव बनाउनुस्, सम्झौता गरिहालौं भनेको थिएँ । अहिलेसम्म १ प्रस्ताव पेस गर्न सकेका छैनन् । अनि ठूला कुरा गर्ने ?

मन्त्री पोखरेलले रत्न मन्दिरकै लागि भनेर आफू ३ दिन पोखरा बसेकोसमेत स्मरण गरे । काम गरौं भन्ने हो भने म त्यही भएको बेलामा २ दिनभित्रै प्रस्ताव बनाएर ल्याउन सकिन्थ्यो, उनले भने, आफू काम नगर्ने अनि संघीय सरकारलाई दोष दिने, यो ठिक नियत होइन । प्रस्ताव ल्याउनासाथ सम्झौता गर्न तयार छौं ।

मन्त्री पोखरेलले केन्द्रलाई भन्दा प्रदेश सरकारलाई दबाब दिन सांसद पहारीलाई सुझाव दिए । रत्न मन्दिरभित्र जाँदै फोटो खिच्दै गर्नुभन्दा प्रदेश सरकारलाई दबाब दिनुस् । छिटो प्रपोजल तयार पार्न लगाउनुस्, उनले भने । सांसद पहारीले भने आफू दिन रात यसैका लागि खटिएको तर रिजल्ट नआएको गुनासो गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.