नवलपुर, माघ ११: गएराति पूर्वीनवलपरासीको गैंडाकोटमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल शीतलनगरका ३५ वर्षीय भुवन केसी रहेको प्रहरीले जानकारी दिएको छ ।
बा ६७ प ७८८२ नम्बरको मोटरसाइकलमा सवार केसीलाई गैंडाकोट–८, मौलाकालिका होटेल अगाडि ना १ क ८३३० नम्बरको टिपरले ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते भएका केसीलाई जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गैंडाकोट–५ का २६ वर्षीय शशि कपुर केसी घाइते भएका छन् । उनको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको बताइएको छ ।
ठक्कर दिने टिपर र त्यसका चालकलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।