काठमाडौं, ९ असार : प्रा डा गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक माफिया र नेताको व्यापारिक स्वार्थका लागि परिवर्तन गरेर संसद्बाट पारित गरिए आफूहरूले सत्ताका प्रमुख हस्तीहरूविरुद्घ नै आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
सरकारले माइतीघर मण्डला क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। तर, शनिबार चिकित्सा शिक्षाका अभियन्ता डा गोविन्द केसी उनका समर्थकले माइतीघरमा प्रदर्शन गरेका छन्।
शनिबार मध्याह्न १२ बजे डा केसी उनका सहयोगीसँगै माइतीघरमा पुगेका हुन्। डा केसी र समर्थकले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर यथारुपमा पारित गर्नुपर्ने, चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले दोषी देखाएका ४३ जनालार्इ कारबाही गर्नुपर्ने, माइतीघरको निषेधित क्षेत्र घोषणा फिर्ता लिनुपर्ने लगायतका ६ बुँदे माग राखेर मण्डलामा प्रदर्शन गरेका हुन्।
यी हुन् डा केसीले राखेका ६ बुँदे माग
१ चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर यथारुपमा पारित गरियोस् । तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुचारु गरियोस् ।
२ माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् ।
३ चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् ।
४ विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् ।
५ कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था गरियोस् ।
६ चिकित्सकहरुमाथि हुने धम्की र आक्रमण रोक्न यथोचित कानुनको निर्माण र कार्यान्वयन गरियोस् ।