जनकपुरधाम विश्वसम्पदाको सूचीमा सूचीकृत हाेला त ?

रिपोर्ट नेपाल | 2019 Jul 23 | 07:54 am 2887

काठमाडौं, साउन ७:  रामायणकालीन धार्मिक तथा सांस्कृतिक महत्व बोकेको जनकपुरधाम विश्वसम्पदाको सूचीमा सूचीकृत हुने विषयले चर्चा पाएको छ । चर्चासँगै सूचीमा पर्ला या नपार्ला भन्ने विषय राष्ट्रिय महत्वको मुद्दा बनेको छ । विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका अन्य सम्पदाहरू सूचीबाटै हट्ने सम्मको चर्चा चलिरहेको सन्दर्भमा जनकपुरलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रयासले भने निरन्तरता पाएको छ ।

यसका लागि विश्वसम्पदा स्थलको सम्भाव्य सूचीमा रहेका जनकपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न क्षेत्र निर्धारण, दायित्व र एकीकृत व्यवस्थापन संरचनाको स्पष्टताको खाँचो महसुस गरिएको छ । यस क्षेत्रमा अद्वितीय सांस्कृतिक परम्परा जीवन्त रूपमा विद्यमान रहेकाले सांस्कृतिक विश्वसम्पदामा सूचीकृत गराउन प्रक्रियागत रूपमा क्षेत्रको कानुनी जिम्मेवारी र सरोकारवालाको दायित्वबारे स्पष्टताको खाँचो देखिएको हो ।

राज्यले नेपालका १५ वटा सम्पदालाई सम्भाव्य सूचीमा समावेश गरी युनेस्कोमा पठाइसकेकामध्ये जनकपुर पनि एक हो । राज्यले आगामी वर्षमा विश्व सम्पदा सूचीमा मनोनयन गर्न चाहेका सर्वश्रेष्ठ विश्वव्यापी महत्व भएका सांस्कृतिक सम्पदाको नाम सम्भाव्य सूचीमा समावेश गर्ने अवधारणाअनुरुप जनकपुर क्षेत्रको रामजानकी मन्दिरलाई सम्भाव्य सूचीमा समावेश गरेको हो ।

पुरातत्व विभागका अनुसार हालसम्म विश्वका १ सय ६३ देशका एक हजार ३१ स्थल विश्वसम्पदा सूचीमा सूचीकृत छन् । तीमध्ये नेपालका चारवटा रहेका छन् । युनेस्कोले सन १९७९ मा दुई सांस्कृतिक (काठमाडौं उपत्यकाका सात र लुम्बिनी) र दुई प्राकृतिक सम्पदा (सन् १९७९ मा सगरमाथा राष्ट्रिय निकुञ्ज र सन १९८४ मा चितवन राष्ट्रिय निकुञ्ज)लाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको छ ।

पुरातत्व विभागले संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय र विभागले जनकपुरलाई विश्वसम्पदामा सूचीकृत गराउनका लागि दुई वर्षदेखि आन्तरिक तयारी गरिरहेकोे जनाइएको छ । विभागका अनुसार सूचीमा समावेश हुने नहुने तथा कति समय लाग्ने भन्ने यकिन भने भई सकेको छैन । विभागका विश्वसम्पदा शाखाका प्रमुख सुरेशशरण श्रेष्ठका अनुसार पुरातत्व विभागले जनकपुरलाई विश्व सम्पदामा सूचीकृत गराउन झन्डै दुई वर्षदेखि प्रयास गरिरहेको छ ।

यसका लागि विश्वव्यापी महत्व तथा विश्वसम्पदाको दायरा पूरा गर्नुपर्ने हुन्छ । विश्व सम्पदा सूचीमा सूचीकृत हुन दुई देखि पाँच वर्षसम्म लाग्नसक्ने श्रेष्ठको भनाइ छ ।

विश्वसम्पदामा सूचीकृत हुने सम्भावना उच्च रहे पनि जनकपुरधाममा लामो समयदेखि पोखरी तथा मठ मन्दिर र बगैंचाहरू नासिँदा यसमा चुनौती थपिएको छ । संरक्षणको जिम्मा पाएका महन्थ, मठाधीश तथा पुजारीबाट नै संरक्षण हुन नसक्दा तथा जथाभावी मन्दिरका नाममा रहेका सम्पत्ति अवैध रूपमा बिक्री हुँदा यसले चुनौती बढेको छ ।

यसका लागि विभिन्न प्रतिबद्धतासमेत पूरा गर्नुपर्ने हुन्छ । व्यवस्थापकीय योजना तथा कार्यपद्धतिबारे स्पष्ट पार्नुपर्दछ । स्थानीय सरकार तथा समुदायले विश्वसम्पदाको आधारभूत मान्यतालाई पालन गर्ने प्रतिबद्धता गर्नुपर्ने हुन्छ । यो मापदण्ड पूरा गर्नका लागि जनकपुरधाम उपमहानगरपालिकासँग समन्वयमा काम भइरहेको र यसका सम्पदाहरूका सम्बन्धमा लगत तयार भइरहेको पुरातत्वले जानकारी दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले नेपालस्थित युनेस्कोका प्रतिनिधिले स्थलगत अध्ययन गरेको र विभागसँग समन्वय भइरहेको बताएको छ । नगरपलिकाका प्रमुख लालकिशोर यादव यसअघि खासै चर्चा नरहेपनि अब भने तीव्र रूपमा प्रक्रिया अगााडि बढेको बताँउछन् । राजधानी दैनिकमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.