काठमाडौँ, फागुन २९ : नेपालको राष्ट्रिय खेल डण्डीबियो लोप हुन लागेकोले यस खेललाई निरन्तरता दिइएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजनामा तेस्रो माध्यमिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता आज बुधबारदेखि शुरु गरिएको छ ।
त्रिपुरेश्वरस्थित रहेको राखेप मैदानमा भइरहेको उक्त डण्डीबियो प्रतियोगितामा काठमाडौंँ, ललितपुर, भक्तपुर, काभ्रे र धादिङका गरी जम्मा २० टोलीको सहभागिता रहेको राखेपअन्तर्गत खेलकूद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जानकारी दिए ।
उक्त प्रतियोगिता नेपाल डण्डीबियो संघको समन्वयमा शुरु गरिएको हो । प्रतियोगिताको विजेताले २० हजार, उपविजेताले १५ हजार र तेस्रो हुनेले १० हजार नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएका छन् ।