काठमाडौं, २८ जेठ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच मंगलबार सिङ्गापुरमा शिखर वार्ता हुँदैछ । वार्ताका लागि दुई देशका बाहलवाला प्रमुख सिङ्गापुर पुगिसकेका छन् । यो वार्तामा धेरै विषयमा सहमति हुने विश्वास लिइएको छ ।
तर, यो वार्ताको अर्को एउटा पाटो छ, त्यो हो खर्च । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार वार्ताको खर्च मात्रै एक करोड ५० लाख अमेरिकी डलर रहेको छ । त्यो भनेको नेपाली मुद्रामा करिब एक अर्ब ५२ करोड बराबर हो । विश्व शान्तिका बीच हुन लागेको यो पहिलो वार्तामा के कति खर्च हुन्छ भन्ने भन्दा पनि परिणाम के निस्कन्छ भन्ने विषय नै महत्वपूर्ण रहेको छ, अन्तर्राष्ट्रिय सञ्चार माध्यम एफपीले जनाएको छ ।
शिखर वार्ताको खर्च कसले र कसरी व्यहोर्ने भन्ने विषय प्रष्ट नहुँदै सिङ्गापुरले वार्ता व्यवस्थापनका लागि लाग्ने सबै खर्च व्योहोर्न आफू तयार रहेको जनाएको छ । खर्चको ५० प्रतिशत हिस्सा सुरक्षाका लागि छुट्याएको छ । विशेष गरी गोर्खा सैनिकले पहिलो घेरामा रहेर वार्ता स्थलको सुरक्षा गर्नेछन् ।
अन्तर्राष्ट्रिय शान्तिको लागि भएको पहलको दृष्टिले यो खर्च स्वाभाविक भएको र यसले सिङ्गापुरको समेत हित गर्ने त्यहाँका प्रधानमन्त्री लुङ्गको भनाइ छ । सिङ्गापुर र उत्तर कोरियाबीचको कुटनीतिक सम्बन्ध समेत लामै रहेको थियो । तर उत्तरले आणविक कार्यक्रम अगाडि बढाएको भन्दै उसले सो सम्बन्धबाट हात झिक्ने निर्णय गर्यो ।